+
+

राजदूत बन्न सुशील प्याकुरेलले गरे अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते २०:३१

९ असार, काठमाडौं । मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको छ ।

तर उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत नदिएको उनले बताएका छन् । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुृअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उनको वक्तव्यमा भनिएको छ ।

राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श आवश्यक रहेको उनले बताएका छन् ।

उनले दक्षिण कोरियाका लागि राजदूत पदमा गरेको सिफारिस फिर्ता लिन अनुरोध गर्दै प्रधानमन्त्री कार्यालयमा पत्र नै दर्ता गराएका छन् ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि राजीनामा दिएका थिए ।

प्याकुरेलले यसअघि पनि राजदूत बन्न अस्वीकार गरेका थिए । उनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले डेनमार्कका लागि राजदूत बन्न प्रस्ताव गरेका थिए ।

तर राजदूत बन्नु आफ्नो विज्ञता क्षेत्र बाहिरको कुरा भएको भन्दै राजदूत प्रस्ताव अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?