+

एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

२०८१ असार  ९ गते १७:१४ २०८१ असार ९ गते १७:१४
एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

९ असार, धनगढी । एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड, २०८० को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

असार १२ गते धनगढीको एसटीएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधामध्ये वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य पवबद्र्धनमा आयोजना हुने अवार्डको वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी परेका छन् ।

यस्तै वर्ष युवा खेलाडीको मनोनयनमा भारोत्तोलनका हेमन्त पाल, फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द परेका छन् ।

विष्णुदत्त भट्ट १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक जिताउने प्रशिक्षक हुन् । पहिलो सहभागितामै पदक जितेर इतिहास रच्ने प्रशिक्षक बनेका उनी एसियाली खेलकुदमा कबड्डीबाट पदक दिलाउने पहिलो सुदूरपश्चिमका प्रशिक्षक हुन् ।

भारोत्तोलन प्रशिक्षक जीवन गौतम एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई ३८ वर्षपछि ३ वटा कास्य पदक जिताउने प्रशिक्षक हुन । आईडब्लूएफ वल्र्ड कपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीका प्रशिक्षक गौतमले कतार ऐसियन च्याम्पियनसिप र एसियन गेम्समा नेपालको तर्फबाट भारोत्तोलन प्रशिक्षक भएर भूमिका निर्वाह गरेका छन् ।

एथलेटिक्सका प्रशिक्षक रामचन्द्र जोशी अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई दोस्रो स्थानमा ल्याउन सबैभन्दा बढी पदक दिलाउने प्रशिक्षक हुन् ।

अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा २१ स्वर्ण २१ रजत र ३० कास्य पदक गरी सुदूरपश्चिमले ७२ पदक जित्दा एथलेटिक्सबाट ६ स्वर्ण ६ रजत र ५ कास्य गरी १७ पदक सुदूरपश्चिमले जितेको थियो ।

१४औं राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमलाई पहिलो बनाउन सबैभन्दा बढी पदक दिलाउने प्रशिक्षक जोशीको नेतृत्वमा १४औं राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण १२ रजत र १८ कास्य गरी सुदूरपश्चिमले ४९ पदक जित्दा एथलेटिक्सबाट ७ स्वर्ण ९ रजत र ७ कास्य गरी २३ पदक हात पारेको थियो ।

वर्ष यवा खेलाडीको मनोनयनमा परेका भारोत्तोलन खेलाडी हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै ७३ किलो तौल समूहमा तीन कास्य पदक हात पारेका छन् । एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई उनले ३८ वर्षपछि पदक जिताएका हुन् ।

फुटबलका कुशल देउवाले नेपाल सुपर लिगको दोस्रो संस्करणको च्याम्पीयन ललीतपुर सिटी एफसीलाई फाईनलमा पुराउँदा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका थिए । साफ यू–१९ च्याम्पियनसिपमा नेपालको सेमिफाईनलसम्मको यात्रामा प्रभाव राखेका उनले १७ बर्षको उमेरमा देशभरका विभिन्न घरेलु प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भएका छन् ।

क्रिकेटका आकाश चन्द दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएर म्यान अफ द म्याच बनेका थिए । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग खेलमा तीन विकेट लिएका उनले नेपाललाई सुपर सिक्समा पुगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसअघि सुदूरपश्चिम आइकन पुरुष र महिला विधा सार्वजनिक गरिएको थियो । सुदूरपश्चिम आइकन पुरुषतर्फको विधामा एथलेटिक्सका आशिष महर, शारीरिक सुगठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट मनोनयमा परेका छन् ।

महिलातर्फ क्रिकेटकी मनीषा बोहोरा एथलेटिक्सकी देवकीकुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् ।

अवार्डमा दिइने आठ विधामध्ये ४ विधाको मनोनयन सार्वजनिक गरिंदै आएकोमा अब थप दुई विधाको मनोनयन सार्वजनिक गरिने छ । दुई विधा लाइफ टाइम एचिभमेन्ट र स्पेशल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिने छ ।

पाँचौ संस्करणको अवार्डमार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय