+
+

हेटौंडा सिमेन्ट उत्पादन पुनः सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १७:४६
फाइल तस्वीर

९ असार, काठमाडौं । फागुनदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ ।

सिमेन्ट उत्पादन गर्ने मेसिन, औजार लगायत सामग्री मर्मत गर्न भन्दै उद्योगको उत्पादन फागनुदेखि बन्द गरिएको थियो । उद्योगका लागि आवश्यक पर्ने कोइला लगायतका अन्य कच्चा पदार्थको समेत अभाव थियो ।

‘करिब ४ महिनादेखि ठप्प भएको उद्योगले शनिबारदेखि उत्पादन थालेको छ । तर, पनि पूर्ण क्षमतामा चल्न सकेको छैन,’ हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले भने ।

‘दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्नेमा २५० मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गरी शनबिारदेखि क्लिंकर उत्पादन सुरु भएको छ,’ उनले भने ।

उद्योगका मेसिनहरू जीर्ण अवस्थामा रहेको र जनशक्तिको पनि अभाव रहेको उनले बताए । उद्योगलाई पूर्ण क्षमतामा चलाउन नसकिए पनि आंशिक रूपमा भए पनि सञ्चालन गरिएको उनको भनाइ छ ।

संघ र प्रदेश सरकारसँगको समन्वयमा उद्योगमा देखिएका समस्या हल गर्ने प्रयत्न भइरहेको उनले बताए । उनी एक साता अगाडि मात्रै उद्योग अध्यक्षमा नियुक्त भएका हुन् ।

‘कोइला छैन भनेर चुप लागेर उद्योग बन्द गरिरहेको स्थिति थियो, अब सप्लायर्सले पनि कोइला पठाउन थालेको छ,’ भण्डारीले भने ।

उनका अनुसार ६५० कर्मचारी आवश्यक पर्नेमा हाल १८० जना कर्मचारी मात्रै छन्, जसमा करिब एक सय जना करारमा कर्मचारी राख्न परेको छ ।

उद्योगसँग अहिले पनि करिब ४० हजार बोरा सिमेन्ट मौज्दात रहेको छ भने दैनिक औसत ५ हजार बोरा सिमेन्ट बिक्री भइरहेको छ ।

८५ दिनदेखिको आन्दोलन स्थगित

अध्यक्ष भण्डारीका अनुसार उद्योगमा अवकास प्राप्त कर्मचारीको आन्दोलन पनि स्थगित भएको छ ।

२०७९ साउनदेखि अनिवार्य र स्वेच्छिक अवकास प्राप्त ३० जना कर्मचारीको रकम भुक्तानी गर्न नसक्दा कर्मचारीहरू आन्दोलित थिए ।

शुक्रबार भएको वार्ता सकारात्मक बने पछि कर्मचारीको आन्दोलन रोकिएको उनले बताए ।

अवकासपछि प्राप्त हुनुपर्ने रकम माग गर्दै उनीहरूले उद्योगको प्रशासनिक भवनमा धर्ना बसेर कार्यालय प्रवेशमा रोक लगाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?