+
+

कोशी : ११ महिनामा २० अर्ब १७ करोड खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १७:४३

९ असार, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब १७ करोडभन्दा बढी बजेट खर्च गरेको छ । गत साउनयता जेठसम्म ११ महिनाको अवधिमा सरकारले चालु र पुँजीगततर्फ २० अर्ब १७ करोड ९ लाख रुपैयाँ खर्च गरेको हो ।

सरकारले चालुतर्फ ६ अर्ब ८७ करोड ३७ लाख र पुँजीगततर्फ १० अर्ब ६ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ । स्थानीय तह अनुदानतर्फ ३ अर्ब २२ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा गरेको खर्च गत आर्थिक वर्षको भन्दा कम हो । गत आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकारले २२ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ खर्च गरेको थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा सरकारले सबैभन्दा बढी जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । जेठमा सरकारले गरेको खर्च ११ महिनामा गरेको खर्चको २१ प्रतिशत हो ।

११ महिनामा सरकारले राजस्व र अनुदानवापत २५ अर्ब ४८ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो वार्षिक आम्दानीको ७८ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा ३ अर्ब ४० करोड १९ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ ।

जेठ महिनासम्म राजस्व बाँडफाँड र आन्तरिक आम्दानी गरी प्रदेशको सञ्चित कोषमा १२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । वैशाखमा ७ करोड ५५ लाख संघीय सशर्त अनुदान थपिएपछि प्रदेशको बजेट ३६ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?