+
+
विचार :

सिनेमा पर्यटन : पर्यटक भित्र्याउने एक सशक्त माध्यम

सांस्कृतिक धरोहरको उपत्यकालाई अझ आकर्षक बनाइ सिनेमा पर्यटन अवधारणामा कार्य गरी नेपाललाई दक्षिणपूर्वी एसियाको स्विट्जरल्यान्ड बनाउन सकिने देखिन्छ ।

हिक्मतसिंह ऐर हिक्मतसिंह ऐर
२०८१ असार ९ गते १८:२२

‘बागमती तिम्रो गौरव, तिम्रो वैभव, कान्तिपुरी ।

हिजो पनि, आज पनि, भोलि पनि,

जिन्दगीको यात्रा यहाँ सधैंभरि ।’

‘सपनाको खोजीमा पुग्छन् सबै यहाँ,

कोही पढ्नमा, कोही काम र डुल्नमा,

कोही व्यापार र अवसर खोज्नमा ।’

– कञ्चनपुरदेखि कञ्चनजङ्घा

कवितामय फन्को देशको ।

हालै यस पंक्तिकारको लेखनमा प्रकाशित कवितामय संग्रहमा सात प्रदेशकै कवितामध्ये बागमतीको कविताका केही पंक्ति स्मरण गर्दा बागमती सभ्यताको केन्द्रबिन्दु हिजोको कान्तिपुरीको वैभव र आजको काठमाडौंको पर्यटकीय आर्कषणबारे केही चर्चा यस लेखमा गरिएको छ ।

सन् २०२४ मा काठमाडौं सहरलाई युनेस्कोको ‘क्रिएटिभ फिल्म सिटी’ (फिल्मको रचनात्मक सहर) को मान्यता दिँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई युनेस्कोले प्रतिष्ठित अन्तर्राष्ट्रिय कान्स फिल्म फेस्टिभलमा आमन्त्रित गरी सहभागी हुने अवसर दिइएको थियो । युनेस्कोले मान्यता दिएको फ्रान्सको कान्स सहर पनि फिल्मको रचनात्मक सहरमा अग्रणी हो ।

परापूर्वकालदेखि काठमाडौंमा बनेका मठमन्दिर, चैत्य, दरबार र स्थानीय कलात्मक घर, बहाल, हितिले काठमाडौं उपत्यकालाई जीवन्त संग्रहालयको सहर बनाएको छ । यहाँ जीवन्त रूपमा मनाउँदै आइरहेका जात्रा, चाडपर्व, रहनसहन लगायतले प्रत्येक आगन्तुकलाई एक चुम्बकीय अनुभूति दिँदै आएको पाइन्छ ।

विगतमा भोट तिब्बतसँगको व्यापारमा पनि काठमाडौं उपत्यका नै मुख्य आकर्षणको केन्द्र थियो । विधिवत रूपमा सन् १९११ डिसेम्बर १८–२८ मा राजा जर्ज पाँचौं सहितको ब्रिटिस शाही परिवार टोली शाही शिकार खेलका लागि नेपाल भ्रमण गर्न आएपछि चर्चामा आएको यो हिमाली राज्य नेपाल, १९५३ मा सगरमाथाको पहिलो सफल आरोहणपछि नै विश्वमाझ पर्वतीय आर्कषक गन्तव्यका रूपमा चिनिँदै आएको पाइन्छ ।

काठमाडौंको प्राकृतिक एवम् सांस्कृतिक विविधताका कारण १९६०/७० देखि नै हिप्पी युगमा काठमाडौं युरोप र अमेरिकी युवामाझ अत्यन्त रोचक गन्तव्यका रूपमा परिचित थियो । त्योबेला अनेकौं अन्तर्राष्ट्रिय डकुमेन्ट्री नेपालमाथि बनेका छन् । जसमा काठमाडौं वरपरका सुन्दर प्रकृतिक सौन्दर्य देखाइएको छ । १९७१ भारतका प्रसिद्घ सिनेकर्मी देवानन्दको ‘हरेराम हरेकृष्णा’ नामक सिनेमा छायांकन भएपछि मात्र छिमेकी भारतको बलिउड सिनेमा उद्योगको काठमाडौंप्रतिको आकर्षण एकाएक हुन गएको देखिन्छ । उक्त सिनेमामा काठमाडौंको जीवन्त संस्कृति, सरल स्थानीयवासिन्दा र अनुपम प्रकृति एवम् ऐतिहासिक धरोहरहरूको छायांकन गरी नेपाललाई अतिआर्कषक रूपमा प्रस्तुत गरेको पाइन्छ ।

‘सिनेमा पर्यटन’ पनि विश्वव्यापी रूपमा एक स्थापित व्यवसायको माध्यम बनिसकेको छ ।

कालान्तरमा भारतीय चलचित्र उद्योगले नाम चलेका सिनेमाहरू ‘महान’, ‘युद्ध’, ‘घरवाली बाहरवाली’ लगायतमा त्यहाँका सुपरस्टार अमिताभ बच्चन, अनिल कपुर, ज्याकी श्रफ, गोविन्दा जस्ता बहुचर्चित कलाकारद्वारा अभिनित पनि छायांकन काठमाडौंमा भएको थियो । बहुचर्चित सिनेमा ‘खुदागवाह’ भारतीय सुपरस्टार अमिताभ बच्चन, श्रीदेवी, डेनीजस्ता कलाकारद्वारा अभिनित चलचित्र जोमसोम मुस्ताङमा छायांकन भएपछि मुस्ताङ निकै चर्चामा रहको थियो । त्यसपछि भारतीय पर्यटक त्यहाँ पुग्ने क्रम बढेको थियो ।

यसै क्रममा २०१५ मा भारतीय सुपरस्टार अक्षयकुमार, अनुपम खेर, डेनी लगायतको अभिनय रहेको ‘बेबी’ सिनेमा र २०२२ मा अमिताभ बच्चन, अनुपम खेर, डेनी अभिनित ‘उँचाइ’ ले काठमाडौं सहरलाई पुनः बलिउड सिनेमा उद्योगमा एक आकर्षक छायांकन गन्तव्यस्थलका रूपमा उभ्याएको पाइन्छ ।

‘सिनेमा पर्यटन’ पनि विश्वव्यापी रूपमा एक स्थापित व्यवसायको माध्यम बनिसकेको छ । आज हलिउडका सिनेमा निर्माताले अमेरिकाको लसएन्जलस, लास भेगास, न्युयोर्क, हवाईजस्ता सुन्दर सहरमा होस् वा  युरोपको स्विट्जरल्यान्ड, नेदरल्यान्ड, पेरिस, रोम, भेनस, लन्डन सहरमा होस्, वा अस्ट्रेलियाका सिड्नी, मेलबर्न तथा न्युजिल्यान्ड जस्ता सहरमा आफ्नो सिनेमा छायांकन गर्दा त्यहाँको पर्यटन क्षेत्रलाई ठूलो सहयोग पुगेको पाइन्छ ।

छिमेकी भारतको बलिउड सिनेमा उद्योगले पनि विश्वमा दोस्रो सर्वाधिक संख्यामा सिनेमा बनाउने गर्छ । छायांकनका लागि महिनौं गन्तव्यमा सुटिङ हुने भएकाले यस्ता गतिविधिले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात सेवा, प्राविधिक उपकरण लगायत सेवा लिँदा स्थानीय पर्यटन व्यवसायीलाई ठूलो आर्थिक लाभको व्यापार पनि हुने गर्छ ।

विश्वका विभिन्न गन्तव्यहरू आफ्नो देशमा सिनेमा पर्यटन विकास गर्न लागिपरेका छन् । यसमा भारतीय सिनेमा उद्योगका लागि आज पनि सिनेमा छायांकन गर्न स्विट्जरल्यान्डका विभिन्न स्थान नै प्रथम रोजाइमा पर्ने गरेको छ । त्यसका पछाडि त्यहाँको सरकारको विशेष योगदान रहेको पाइन्छ ।

उदाहरणका लागि हेर्न हो भने स्विट्‍जरल्यान्ड सरकारले दिवंगत भारतीय प्रसिद्ध निर्देशक यस चोपडालाई आफ्ना बहुचर्चित सिनेमाहरूको छायांकन स्विट्जरल्यान्डमा गरी भारतीय पर्यटकलाई स्विट्जरल्यान्डप्रति आकर्षित गराइदिए बापत ‘स्विस गुडविल एम्बासडर’ नै बनाएर सम्मान गरेको थियो । हाल, मरणोपरान्त उनको स्विट्जरल्यान्डमा प्रतिमा बनाइ, भारतीय पर्यटक त्यहाँ पुग्दा फोटो खिचाउने आर्कषक गन्तव्य  बनेको छ ।

नेपालको वातानुकूलित मौसमले त पर्यटक र सिनेमाकर्मीलाई चिसो मौसमको प्रत्याभूति दिँदै मोहनी नै लगाउने गरेको पाइन्छ ।

सिनेमा पर्यटन प्रवर्द्धनका लागि स्विस सरकारले सिनेमा छायांकन गर्ने सम्पूर्ण उपकरण, चाहिने जनशक्ति लगायत व्यवस्थापन स्थानीय स्तरमा नै उपलब्ध गराइ, निर्माताहरूको आर्थिक बोझ घटाइ अनेकौ छुट सुविधा सहितको सहयोग र छायांकन गर्न पाउने खुला नीति तथा सिनेमा उद्योगलाई सहयोग गर्ने कार्यक्रम बनाएको पाइन्छ । यस्तै छायांकन गर्न पाउने खुला नीति तथा सिनेमा उद्योगलाई सहयोग गर्ने सुविधाका कार्यक्रमहरू माल्दिभ्स सरकार र दुबई सहरले पनि गरेर भारतीय सिनेमा निमार्तालाई आर्कषित गरेको पाइन्छ ।

हुन त नेपाल सरकारले पनि आगामी  आर्थिक वर्ष २०८१/८२ का लागि  पेस गरेको वार्षिक नीति तथा कार्यक्रममा समेत हलिउड र बलिउड फिल्मलाई नेपालमा छायांकन गर्न आकर्षित गरिने विषय समेटिएको छ । तर, बजेट कार्यक्रममा नयाँ कुनै ठोस कार्यक्रम राखेको देखिँदैन । यसैबीच, कान्स फिल्म फेस्टिभलमा सहभागी भई मेयर बालेनले पनि काठमाडौं महानगरलाई युनेस्को फिल्म सहर घोषित गरेकोमा अब फिल्म तथा संस्कृतिमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् ।

विगत वर्षहरूमा अन्तर्राष्ट्रिय फिल्म निर्माता टोलीले पनि नेपालबारे अनेकौ फिल्म, डकुमेन्ट्री बनाउन नेपालका अनेकौ गन्तव्यमा छायांकन गरी नेपाललाई विश्वमाझ चिनाएको इतिहास हामीसँग छ । त्यस्ता केही सिनेमा, डकुमेन्ट्री जसले विशेष ख्याति कमाएका थिए, ती यसप्रकार छन् :

१. लिटिल बुद्ध

सन् १९९३ मा ‘लिटिल बुद्ध’ नामक डकुमेन्ट्री तथा फिल्ममा भगवान गौतम बुद्धको जीवनी दर्शाउँदा नेपालको संस्कृति रहनसहन आदि देखाइएको छ । विशेषगरी भक्तपुर वरपर छायांकन भएको नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको चलचित्र हो ।

२. एभरेस्ट

सन् १९९८ मा सगरमाथाबारे आईम्याक्स थिएटरले बनाएको डकुमेन्ट्रीले विश्वभरि सगरमाथा (एभरेस्ट) द्वारा नेपाललाई एक साहसिक गन्तव्यका रूपमा चिनाएको थियो, जसले नेपालआई सगरमाथा आरोहण गर्ने वा आधार शिविरसम्म पुग्ने पर्यटक संख्या बढेको थियो ।

३. क्याराभान

सन् १९९९ को ‘क्याराभान’ नेपालको सुन्दर डोल्पा जिल्लास्थित फोक्सुन्डो ताल वरपरको पदमार्ग र डोल्पाली जनजीवनबारे बनाइएको चलचित्र हो । हलिउड निर्माता एरिक भ्यालीले बनाएको क्याराभान उत्कृष्ट चलचित्र हो । यसले नेपाललाई विश्वमाझ चिनाउन ठूलो मद्दत गरेको छ, हलिउडको जर्मन एकेडेमी अवार्डमा प्रथम नेपाली फिल्मको नोमिनेसन भएको चलचित्र हो, जसले नेपाली पदयात्रा पर्यटनलाई डोल्पा जिल्लातिर विस्तार गर्न ठूलो मद्दत गर्दै याकहरूको क्याराभानको कथावस्तुमा सुन्दर फोक्सुन्डो ताल र त्यहाँको प्राकृतिक सम्पदा झल्काएको छ ।

४. द वाइल्डेस्ट ड्रिम

सन् २०१० को ‘द वाइल्डेस्ट ड्रिम’ प्रसिद्ध पर्वतारोही जर्म मेलोरीमाथि बनेको सिनेमा हो । मेलोरीको सन् १९२४ मा प्रथम सगरमाथा आरोहण गर्दा सफलतापूर्वक सम्पन्न नभई आरोहण क्रममा मृत्य भएको थियो भन्ने विषयवस्तुमा बनेको थियो । उनको सगरमाथा आरोहण क्रममा बनेको डकुमेन्ट्रीले नेपालको सुन्दर प्राकृतिक सम्पदाहरू चिनाउने राम्रो प्रयत्न गरेको पाइन्छ ।

५. को–शेर्पा

सन् २०१५ मा ‘को–शेर्पा’ नामक डकुमेन्ट्रीले पनि नेपालको सौन्दर्यपूर्ण सम्पदा र पर्वतारोहण क्षेत्रको सर्वोच्च शिखरमा फुर्वातासी शेर्पासहित अन्य सगरमाथा आरोही शेर्पा समुदायको खुम्बु क्षेत्रको अनुभवबारे अत्यन्त रोचक डकुमेन्ट्री बनाइ नेपाललाई विश्वमाझ चिनाउन मद्दत गरेको पाइन्छ ।

यस्ता अनेकौं अन्तर्राष्ट्रिय डकुमेन्ट्री र फिल्मले नेपालका आकर्षक गन्तव्यहरूको प्रस्तुति अन्तर्राष्ट्रिय जगतका पर्यटकमाझ गरेको पाइन्छ ।

नेपालको प्रमुख आकर्षणको केन्द्रबिन्दु सगरमाथापछि काठमाडौं ब्रान्डले आकर्षित गर्ने गरी प्रस्तुत भएको पाइन्छ । काठमाडौंको चुम्बकीय आकर्षण यहाँ रहेका तीन दरबार स्क्वायर परिसर, पशुपतिनाथ मन्दिर, स्वयम्भू र बौद्धनाथ स्तुपा तथा यहाँ रहेका अनेकौं मठमन्दिरसँगै उपत्यका वरपरका प्राकृतिक डाँडा, ६ ऋतुसँगै बेजोड मौसम र उपत्यकाभित्रको जीवन्त नेवारी संस्कृतिले नै बागमती सम्पदाका प्रमुख धरोहर हुन् ।

मल्ल, राणा र शाहकालीन दरबारले दिएको पृष्ठभूमिको वैभवतासँगै १ सय २५ जातजातिका विभिन्न सांस्कृतिक जात्रापर्वले बाह्रैमास उत्सव र हर्षोल्लासपूर्ण माहोलले नै प्रत्येक बहाल, चोक रंगमञ्चको प्रत्याभूति दिँदै, यहाँका स्थानीयवासिन्दाको मौलिक वेषभूषा, खानपिन आदि विभिन्न कुराले यहाँका गन्तव्य सदैव सिनेमा छायांकन गर्न तयार रहेको जस्तो देखिन्छ ।

सिनेमाका माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सक्ने ठूलो सम्भावना छ ।

यहाँको वातानुकूलित मौसमले त पर्यटक र सिनेमाकर्मीलाई चिसो मौसमको प्रत्याभूति दिँदै मोहनी नै लगाउने गरेको पाइन्छ । अलिकति गर्मी हुनासाथ उपत्यकामा पानी परिहाल्छ र बाहै्रमास बेजोड मौसमको विशेषता नै यसको प्रमुख मौलिकता हो ।

यस सांस्कृतिक धरोहरको उपत्यकालाई अझ आकर्षक बनाइ सिनेमा पर्यटन अवधारणामा कार्य गरी नेपाललाई दक्षिणपूर्वी एसियाको स्विट्जरल्यान्ड  बनाउन सकिने देखिन्छ ।

नीतिगत रूपमा गर्नुपर्ने कार्य

१. नेपाललाई सिनेमा पर्यटनको गन्तव्य बनाउँदा, हाम्रा तीनै तहका सरकारले ठूला बजेटमा बन्ने सिनेमाहरूको नेपालमा छायांककन गर्न लाग्ने कर, चाहिने प्राविधिक उपकरण एवम् अन्य सामग्रीमा भन्सार, परमिट शुल्क लगायतमा छुट दिँदै स्थानीय स्तरबाटै सहयोग गरी उनीहरूको टोलीको नेपाल आउनेजाने हवाई टिकट र यहाँका स्थानीय स्तरमा चाहिने समन्वय व्यवस्थापन, राम्रा होटलमा खाने र बस्ने व्यवस्था आदिमा ३० देखि ५० प्रतिशत साझेदारी सहयोग गर्ने हो भने ठूला भारतीय एवम् अन्तर्राष्ट्रिय फिल्म छायांकन काठमाडौं, पोखरा, खुम्बु क्षेत्र लगायत अनेकौं गन्तव्यमा तत्काल सिनेमा छायांकन हुन सक्छ । र, त्यस्ता सिनेमाका माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सक्ने ठूलो सम्भावना छ ।

२. नेपाल सरकारले सिनेमा पर्यटन विकास गर्न अन्तर्राष्ट्रिय स्तरमा सिनेमाहरू नेपालमा छायांकन गर्ने नीतिगत सुविधा र कार्यक्रम घोषणा सहित विभिन्न अन्तर्राष्ट्रिय फिल्मी मञ्चका कार्यक्रमहरूमा नेपालका गन्तव्यहरूको आकर्षक प्रस्ताव दिनुपर्छ ।

३. विदेशी सिनेमाको नेपालमा छायांकन गर्न खटाइने सम्पर्क अधिकृतको सट्टा स्थानीय नगर तथा गाँउपालिका जहाँ सुटिङ हुन्छ, त्यहाँको वडा कार्यालयले सहयोग गर्ने विभिन्न बहानामा सुटिङ रोक्ने होइन, सहयोग गर्ने, कानुनी झन्झट छ भने नियम परिवर्तन गर्नुपर्छ ।

४. ड्रोन आदि आधुनिक उपकरणको परमिट दिने कार्यको सरलीकरण गर्न  कार्यविधि बनाउनुपर्छ ।

५. नेपाली सिनेमा निर्माताहरूलाई पनि आफ्नो सिनेमा, डकुमेन्ट्री आदिलाई अन्तर्राष्ट्रिय मञ्चहरूको प्रतियोगितामा भाग लिन जान आर्थिक सहयोग गर्नुपर्छ । त्यसले हाम्रा गन्तव्य आदिको व्यापक प्रचार प्रसारसँगै उनीहरूको मनोवल वढेर सिनेमा क्षेत्रको विकास हुने र देशमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ ।

६. हाल सूचना प्रविधि (आईटी) कम्पनीहरूले पनि नेपालमा हलिउड सिनेमा एडिटिङ, ग्राफिक डिजाइनिङ, एनिमेसन आदिका केही भागको काम गर्ने गरेको पाइन्छ । यसमा पनि सरकारले सहयोग गरी नेपाललाई ‘आईटी हब’ का रूपमा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई विदेशी लगानीका लागि आकर्षण गर्न सुविधायुक्त व्यवस्था गर्नुपर्छ ।

पूर्वाधार हकमा वस्तुगत सुधार

१. हाम्रा सुन्दर गन्तव्यसम्म पुग्न राम्रो सडक एवम् पहुँच कमीले यति सुन्दर स्थानको छायांकन गर्न अत्यन्त महँगो हुन जान्छ ।

२. सिनेमा निर्माण क्रममा चाहिने प्राविधिक सामग्री कमीले पनि निर्माताहरूले सम्पूर्ण सामग्री भारतबाट नै यहाँ ल्याउनुपर्छ । यो पनि ठूलो समस्यामा पर्छ, यसका लागि निजी क्षेत्रले लगानी गर्नुपर्छ ।

३. भारतसँगको स्थलमार्गका सम्पूर्ण नाकामा स्थानीय सेवा प्रदायक, भन्सार र सुरक्षा कर्मचारीको भूमिकाले भारतीय सिनेमाको नेपालमा छायांकन हुने कार्यक्रमको सफलता र राम्रो अनुभूतिमा ठूलो योगदान रहन्छ ।

चुनौती

नेपालभित्र सिनेमा छायांकन विकास नहुनुमा केही चुनौती पनि छन् । जसमा बलिउडका सिनेमा निर्माता कम्पनीहरूको नेपालप्रतिको दृष्टिकोण र कमजोर कानुनी व्यवस्था पर्छ । सिनेमा छायांकन गर्दा होटल, रेस्टुरेन्ट तथा स्थानीय प्राविधिकको समयमा भुक्तानी नगर्ने, उधारो राख्ने र मुम्बई वा नयाँदिल्लीबाट पछि भुक्तानी गरौंला भनी पैसा डुबाउने प्रवृत्ति देखिन्छ । त्यसमा नेपाली कानुनले केही गर्न नसक्ने परिस्थितिले विगतमा हाम्रा होटलका धेरै पैसा डुबेको उदाहरण पनि पाइन्छ ।

नयाँ सोच र नयाँ प्रविधि विकाससँगै हाम्रो संस्कृति, खानपिन एवम् गन्तव्यहरूको मौलिकता विश्वमाझ राख्न, जनमानस समक्ष पुर्‍याउन सिनेमाको माध्यम प्रभावकारी भई विदेशी पर्यटक भित्र्याउन एक सशक्त माध्यम हुन सक्ने देखिन्छ ।

मेरो व्यक्तिगत अनुभवमा पनि ‘बेबी’ सिनेमा बनाउँदा एउटा ठूलो होटलको बिल र स्थानीय फिल्म क्रुको व्यवस्थापन कम्पनीको सम्झौता अनुसार भारतीय सिनेमा निर्माताले पैसा नतिरी पछि पठाइदिने भन्दै फिर्ता जान लाग्दा उक्त फिल्मका सहायक हिरो सुशान्त सिंह मेरो स्कुलको साथी भएकाले उनीमार्फत उक्त सिनेमा निर्माता टिमलाई दबाब दिई भुक्तानी गराएर मात्र जान दियौं । यस्तो सबै निर्माताहरूबारे नहोला, तर पनि अग्रिम भुक्तानीमा जोड दिँदै आउने परिस्थितिको पूर्वानुमान गरेरमात्र स्थानीय खर्चको जिम्मेवारी दिलाएर व्यापार गर्नुपर्ने देखिन्छ ।

भारतीय सिनेमा छायांकन गन्तव्य बनी कार्य गरिरहेका देश मलेसिया, थाइल्यान्ड, दुबई, मौरिसस, अस्ट्रेलिया, न्यजिल्यान्ड, सिंगापुर लगायतले यसबारे नीतिगत व्यवस्था र त्यहाँको होटल व्यवस्थापन प्रबन्धबारे पनि अध्ययन गर्नुपर्ने देखिन्छ । आज विश्वभरि भारतीय सिनेमाले भारतीय संस्कृति, खानपिन, आफ्ना गन्तव्यलाई विश्वमाझ सिनेमाबाट चिनाइरहेको पाइन्छ ।

पछिल्ला दिनमा कोरियाली सिनेमा उद्योगले पनि के–पप, सिरियल, सिनेमा र संगीतले विश्वमाझ आफ्नो संस्कृति पहिचान बनाइ कोरियाली गन्तव्यमा विदेशी पर्यटक आकर्षित गरेको पाइन्छ । प्रकृतिले हामीलाई दिएको ‘ब्याकड्रप’ को रंगमञ्च साथैे यस देशमा १ सय २५ जातिका आफ्नै मौलिक कला, संस्कृति भएका समुदायलाई विश्व रंगमञ्चसँग जोडेर यसको पर्यटकीय गतिविधिका माध्यमबाट आर्थिक तथा सामाजिक लाभ लिन पछि हट्नुहुँदैन ।

प्रत्येक क्षेत्रमा रूपान्तरण हुने नयाँ आयाम खोज्नुपर्छ । नयाँ सोच र नयाँ प्रविधि विकाससँगै हाम्रो संस्कृति, खानपिन एवम् गन्तव्यहरूको मौलिकता विश्वमाझ राख्न, जनमानस समक्ष पुर्‍याउन सिनेमाको माध्यम प्रभावकारी भई विदेशी पर्यटक भित्र्याउन एक सशक्त माध्यम हुन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?