+
+

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १८:१९

९ असार, विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

३१ जेठमा सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दामा राखेर आइतबार सुनुवाइ भएको थियो । बहस नसकिएपछि पूर्ण इजलासले आइतबार पनि हेर्दाहेर्दैमा राखेको हो । अब अर्को सुनुवाइ सोमबार नै छ ।

आइतबारको बहसमा निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए । प्रदेश प्र्रमुख परशुराम खापुङको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट चार जनाले बहस गरे ।

प्रदेश सभामुख अम्बरबहादुर विष्टको तर्फबाट दुई जनाले बहस गरेका थिए । वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र कृष्णभक्त पोखरेलले बहस गरेका थिए ।

रिटमा प्रतिवादी बनाइएका तीन जना सांसदको पक्षको बहस भोलि हुनेछ । सर्वाेच्च अदालत स्रोतका अनुसार भोलि मुद्दाको किनारा लगाउने तयारी छ ।

कोशीका प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई २६ वैशाखमा पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नयाँ सरकार गठनका विरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान बदर, प्रदेशसभाले पास गरेको संकल्प प्रस्ताव बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?