+
+

शहरी विकास मन्त्रालयको बजेट सन्तुलित : मन्त्री बुढा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १९:३०

९ असार, काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढाले आफूले नेतृत्व गरेको मन्त्रालयको बजेट सन्तुलित रहेको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री बुढाले यस्तो दाबी गरेका हुन् ।

उनले आयोजनाहरूको आवश्यकता र सन्तुलित तवरले मन्त्रालयको बजेट विनियोजनको प्रयास गरिएको जिकिर गरे ।

संघीय संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट केही बढी देखिएको बुढाले बताए । उनले भने, ‘प्रादेशिक रूपमा सहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भनाइमा सत्यता छैन ।’

मन्त्री बुढाले आफूले सबै जिल्लामा पुग्नेगरी बजेटको विनियोजन गरेको दाबी पनि गरे । उनले भने, ‘कुनै जिल्लामा ठूला आयोजना होलान्, त्यसले केही तलमाथि भयो होला, नत्र सबै जिल्लालाई समान व्यवहार गरिएको छ ।’

सांसदहरूले मन्त्री बुढाले आफ्नो जिल्ला डोल्पामा ज्यादा बजेट लगेको भनेर आलोचना गरेका थिए । जवाफमा मन्त्री बुढाले समग्रतामा हेर्दा यस्तो देखिनु स्वाभाविक भएको बताए । उनले भने, ‘सतहमा सुन्दा यो ठीकै पनि हो । तर नेपालको कूल भूभागको ५.२ प्रतिशत क्षेत्रफल रहेको डोल्पामा ४३ हजार जनसंख्या छ । मन्त्रालयको कूल बजेटको १.८३ प्रतिशत बजेटमात्रै डोल्पामा विनियोजन भएको छ ।’

डोल्पामा आधारभूत आवश्यकतादेखि विकासका काममा पछाडि छ । यसकारण यो बजेटलाई असन्तुलित भन्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?