+

एनओसी अवार्डमा एरिका र स्यान्टु उत्कृष्ट

२०८१ असार  ९ गते १९:५८ २०८१ असार ९ गते १९:५८
एनओसी अवार्डमा एरिका र स्यान्टु उत्कृष्ट

९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ मा कराँतेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ उत्कृष्ट चयन भएका छन् ।

आइतबार आयोजित विशेष कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट भएका थिए ।

उत्कृष्ट प्रशिक्षकमध्ये पुरुषमा कराँतेका कुशल श्रेष्ठ र महिलामा कबड्डीकी पार्वती राई घोषित भए । कुशल हाङचाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । यस्तै पार्वती त्यही हाङचाउ एसियाली खेलकुदमा महिला कबड्डीतर्फ कास्य पदक विजेता टिमकी प्रशिक्षक थिइन् ।

यस्तै पारा एथलेटिको अवार्ड भने तेक्वान्दोकी पलेशा गोवर्धनले पाइन् । उनले हाङचाउ पारा एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् भने पेरिसमा हुने पारा ओलम्पिकमा पनि छनोट भएकी थिइन् ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । यस्तै ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कबड्डी संघ, नेपाल कराँते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो ।

पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुव तुलाधर, अनलाइन मिडियामा नवीन लुइँटेल, स्पोर्टस फोटो जर्नलिस्टमा उज्वल डंगोल र स्पोर्टस भिडियो जर्नलिस्टमा प्रदीप लेखी उत्कृष्ट घोषित भए ।

प्रत्येक विजयी हुने खेलाडी, प्रशिक्षक तथा संचारकर्मीलाई अवार्डसहित ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

एरिका गुरुङ स्यान्टु श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय