+

वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा

२०८१ असार  १० गते १०:४५ २०८१ असार १० गते १०:४५
वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा

१० असार, अमेरिका । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लुइस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

दक्षिण अफ्रिका सुपर-८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन : खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।

वेष्टइण्डिजका रोश्टन चेशले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । रोश्टन चेशले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडे । ओपनर साई होप शून्य र निकोलस पुरन १ रनमा गुमाउदा वेष्टइण्डिज ५–२ को अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटलाई काइल मेयर्स र रोश्टन चेशले ६५ बलमा ८१ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । मेयर्स ३४ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा क्याच आउट भए । मेयर्स क्याच आउट हुँदा वेष्टइण्डिज १२ ओभरमा ८६–३ को अवस्थामा थियो । आन्द्रे रसेल ९ बलमा २ छक्कासहित १५, अल्जारी जोशेफले ११, रोभम्यान पावेल १ र शेर्फान रदरफोर्ड शून्यमा क्याच आउट भएका थिए ।

स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । केशव महाराज, एडेन माक्ररम र मार्को यानसनले १–१ विकेट लिए । ग्रुप–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ । ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।

दक्षिण अफ्रिका टी–२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो । अन्य संस्करणमा भने सेमिफाइनलमा पुग्न सकेको थिएन ।

आईसीसी टी२० विश्वकप २०२४ दक्षिण अफ्रिका वेष्टइण्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय