+
+

डायस्पोराबाट देश नियाल्दा : कसको मन दुख्दैन र ?

तीन दशकदेखि तिनै नेता छन्, तिनले यो देश निर्माणमा कति योगदान गरे ? र अब पनि उनीहरूले के योगदान गर्लान् ? हरेक नेपालीले अनुमान लगाउन सक्छन् । तर सत्तादेखि शासनसम्म उनीहरूकै रजगज छ ।

डा. जितु उपाध्याय डा. जितु उपाध्याय
२०८१ असार १० गते १२:३४

सन् २०१९ देखि म क्यानडामा अध्यापन र अनुसन्धानकर्ताको रूपमा कार्यरत छु । विभिन्न देशबाट उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थीहरूसँग अन्तरक्रिया र यहींका वैज्ञानिकहरूसँगको दैनिक साक्षात्कारका क्रममा विविध विषयमा छलफल हुन्छन् । सुरु–सुरुमा उनीहरूको चासो हुने गथ्र्याे हाम्रो देश नेपालका बारेमा । बुद्ध र सगरमाथाको देश नेपाल भन्ने बाहेक अर्काे गौरव गर्ने विषय नै मैले केही पाउँदिनँ । बुद्ध होस् वा सगरमाथा, यी दुवै चिज नेपालमा हुनुमा नेपालीको कुनै योगदान र सामथ्र्यले सम्भव भएको होइन, यी त संयोगले नेपाली भूगोलभित्र अटाएका न हुन् ।

एशियाको गरिब मुलुक, विश्वमान चित्रमा खराब अर्थतन्त्र र पहिचानको खोजीमा रहेको देशका रूपमा बुझ्छन् उनीहरूले । नेपालीका रूपमा हामीले आफूलाई व्यक्तिगत रूपमा जति गौरव महसुस गर्छाैं तर विश्वका विभिन्न कुनाकाप्चा पुग्दा नेपालका बारेमा बेखबर भएका धेरै व्यक्ति भेटेको छु ।

चाहे सन् २००७ मा नेपाल सरकार शिक्षा मन्त्रालयको खुल्ला प्रतिस्पर्धामा छनोट भई रसियाको मस्कोमा अध्ययन गएको त्यो समय होस् वा सन् २०१६ मा कोरिया सरकारको छात्रवृत्तिमा कोरियाबाट फूड साइन्स एण्ड टेक्नोलोजीमा विद्यावारिधि गर्दाताको समय । जापान, चीन, ताइवान, अमेरिका, फ्रान्स, क्यामरुन लगायत देश पुग्दा हामी नेपाली र हाम्रो नेपालको वास्तविक हैसियत र अस्तित्व प्रष्ट हुन्छ ।

विश्वका धेरै देशहरूभन्दा पुरानो विरासत बोकेको मुलुक हो नेपाल । आज अस्तित्वमा रहेका दर्जनौं मुलुकभन्दा सयौं वर्षअघि नेपाल देश अस्तित्वमा थियो र आफ्नै छुट्टै पहिचान र गौरव थियो । तर यो आधुनिक युगमा किन हाम्रो देश विश्व मानचित्रमा यति कमजोर बन्यो ? सयौं पुरानो सभ्यता र इतिहास बोकेको नेपाल किन धेरैका लागि अपरिचित छ ? यो कुराले मलाई सधैं प्रश्न गरिरहन्छ, आफैंलाई ।

हरियो पासपोर्ट बोकेर त्रिभुवन विमानस्थलबाट बाहिरिने हरेक नेपाली नागरिकले भोगेको कथा सायदै फरक होला । नेपाली पासपोर्टको हैसियत र हविगतले हामी नेपालीको वास्तविक अस्तित्व के हो, काठमाडौंको आकाश छोडेर अर्काे देशको सिमाना पुगेसँगै प्रष्ट हुन्छ । आखिर किन यस्तो अवस्था भयो, कसका कारण यस्तो अवस्था आयो ? अहम् प्रश्न यही नै हो ।

विश्व मानचित्रमा कहाँ छ नेपाल ?

नेपाल मात्रै होइन, संसारका धेरै मुलुकलाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाएको छु । लामो अतीतको कुरा गर्नै पर्दैन, पछिल्ला तीन दशककै तुलना गर्ने हो भने यो बीचमा नेपालकै हाराहारी वा नेपालभन्दा कमजोर आर्थिक अवस्था भएका मुलुक आज कहाँदेखि कहाँ पुगे अनि नेपाल कहाँ छ ? किन नेपालको अर्थतन्त्र खस्कँदो छ र किन अरू मुलुक समृद्धिको तीव्र रफ्तारमा कुदिरहेका छन् ?

पछिल्ला तीन दशकमा दक्षिण कोरियाले गरेको तीव्र विकास विश्वकै लागि रोलमोडल बनेको छ । हाम्रै आँखा अगाडि अरबका देशहरूले गरेको विकासका हामी नेपाली साक्षी हौं । ती देशको विकासमा नेपालीहरूको रगत–पसिना बगेको छ । दक्षिण एशियाली मुलुक बंगलादेश र भुटानले गरेको आर्थिक प्रगतिबाट नेपालले कहिले सिक्ने ? एक वर्षअघि मात्रै झण्डै विध्वंसको बिन्दुमा पुगेको श्रीलंकाले गरेको पुनरागमन किन हामीले नदेखे झैं गरिरहेका छौं ? ठूलो राजनीतिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२३ मा मात्रै ३० लाख पर्यटक भित्र्याएको छ । जबकि हामी दश लाख पर्यटक आउँदा दीपावली मनाइरहेका छौं । हाम्रा दुई छिमेकी चीन र भारत त विश्व अर्थतन्त्रमा प्रतिस्पर्धाको दौडमा छन् ।

हालै दक्षिण अफ्रिकाको क्यामरुन भन्ने देशमा जाने अवसर मिलेको थियो । क्यामरुन प्राकृतिक स्रोत–साधनले अत्यन्तै धनी मुलुक रहेछ । एउटै व्यक्ति ४३ वर्षदेखि राष्ट्रपति छन्, पावल बियाँ । सन् १९८२ देखि निरन्तर रूपमा राष्ट्रपति रहेका उनी जनताबाट निर्वाचित हुँदै आएका हुन् । जननिर्वाचित सरकार र एउटै व्यक्ति चार दशकदेखि निरन्तर सत्तामा हुँदा पनि क्यामरुन विकासमा अपेक्षित अगाडि बढ्न सकेको छैन ।

कुनै बेला विश्वकै गरिब मुलुक भनेर चिनिने इथियोपियाको विकास संसारकै लागि लोभलाग्दो छ । हामी नेपालीले पनि गरिब मुलुक भनेर उदाहरणका रूपमा लिइने नाम हो इथोपिया तर जब म इथोपियाको राजधानी अदिस अबाबाको एयरपोर्टमा पुगें, संसारले अनुभूति गर्ने गरी विकासको झल्को दिन्छ, त्यहाँको विमानस्थलले । अनि सम्झिएँ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको दुर्दशा । अनि कुन नेपालीको मन दुख्दैन होला र ?

तथ्याङ्क नै केलाउने हो भने सन् १९९० मा नेपालीको प्रतिव्यक्ति आय करिब १८५ डलर थियो भने बंगलादेशको लगभग २९५ डलर । सन् २०२३ मा नेपालीको आय १,३९९ डलर पुग्दा बंगलादेशको २,५२८ डलर पुगेको छ । कम्बोडियाको प्रतिव्यक्ति आय सन् १९९० मा २४७ डलर थियो । अहिले २,४६० डलर पुगेको छ ।

सन् १९९० मा चीनको प्रतिव्यक्ति आय ३४७ रहेकोमा अहिले १२ हजार ५०० डलरमाथि पुगेको छ । सन् २०२३ मा दक्षिण कोरियाको प्रतिव्यक्ति आय ६,६१० डलर रहेकोमा अहिले ३६ हजार डलरभन्दा माथि छ । झण्डै तीस वर्षअघि नेपालभन्दा निकै दयनीय अवस्थामा रहेको भियतनामको अहिलेको प्रतिव्यक्ति आय ४,२८४ डलर रहेको छ । यो तथ्याङ्क पढ्दै गर्दा कुन नेपालीको मन दुख्दैन होला ?

के नेपाल बन्दैन ?

पछिल्लो सात दशकमा नेपालले झण्डै उत्ति नै फरक–फरक शासन व्यवस्था भोगिसकेको छ । देश नबन्नुमा कहिले कुन व्यवस्थालाई दोष दिइयो, कहिले कुन व्यवस्थालाई । राणाशासनदेखि गणतन्त्रसम्म आइपुग्दा शासन व्यवस्था र शासकहरू फेरिए तर जनता र देशको अवस्था ज्यूँकात्यूँ ! बरु झन्–झन् जर्जर बन्दै गएको छ मुलुक । वर्षेनि रित्तिंदो छ मुलुक । कुनै समय रोजगारीका लागि सडकमार्गबाट भारत जाने नेपालीहरू केही दशकअघिसम्म खाडी मुलुकमा सीमित थिए । अहिले त संसारका हरेक कुनाकुनामा नेपाली नपुगेको देश नै कुन होला र ?

रोजगारी र अध्ययनका लागि विदेशिने नेपालीहरूको संख्या जति छ, पछिल्लो समय देशभित्रै राम्रो गरिरहेकाहरू पनि देश छोडेर परदेश भासिइरहेको दृश्यले देशको भविष्य कति सुनिश्चित वा अनिश्चित छ, अनुमान लगाउन कठिन छैन । कुनै शासक वा प्रशासकका छोराछोरीहरू विदेश नभएको सायदै होलान् ।

देश बनाउँछु भन्नेहरूले नै आफ्ना सन्तानहरूलाई विदेशमा पठाएर त्यहाँको नागरिक बनेकोमा खुसियाली मनाएका तस्बिरहरू दिनहुँ जसो सामाजिक सञ्जालमा देखिएकै हुन्छन् । अनि यो देश बन्छ कसरी ? बनाइदिन्छ कसले ? यस्तो सोच्दा एक नेपालीका नाताले मन दुख्दैन होला र ?

देश कुन बाटोमा अगाडि बढिरहेको छ भन्ने कुराको उदाहरण खोज्न टाढा जानै पर्दैन । यही एक वर्षको बीचमा प्रधानमन्त्रीले सदनबाट चार पटक विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना हुनुले पनि स्पष्ट हुँदैन र हाम्रो देशको अवस्था । उता छिमेकी भारतमा तेस्रो पटक लगातार सत्ताको बागडोर सम्हाल्दैछन् नरेन्द्र मोदी ।

तीन दशकदेखि तिनै नेता छन्, तिनले यो देश निर्माणमा कति योगदान गरे ? र अब पनि उनीहरूले के योगदान गर्लान् ? हरेक नेपालीले अनुमान लगाउन सक्छन् । तर सत्तादेखि शासनसम्म उनीहरूकै रजगज छ, तर देश रित्तिंदै गएको छ । अर्थतन्त्र खस्किंदै गएको छ । आलोपालो सत्ता चलाएकै छन्, जनताको नाममा राजनीति गरेकै छन् । तर न देश बन्छ, न जनताको जीवनस्तर सुध्रेको छ ।

पछिल्लो तीन वर्षमा देशको गरिबी तीन प्रतिशतले नै बढेर २० प्रतिशत पुगेको छ । भ्रष्टाचार, अनियमितता, कुशासनले जरा गाडेको छ । जनतामा निराशा चरम छ । नेताहरूकै कुरा मान्ने हो भने पनि नेपाली जनतामा यो तहसम्मको निराशा विगतमा सायदै थियो । देशभित्रै भविष्य छ भनेर ढुक्क कोही नेपाली छैनन् ।

दश कक्षा पढ्दै गरेको विद्यार्थीलाई १२ कक्षा सकेर विदेश जान हतारो भइसकेको हुन्छ । अनि देशको यो हायलकायल अवस्था देख्दा परदेशको जुन कुनै कुनामा बसेको नेपालीको मन दुख्दैन होला ? के नेपाल सधैं यस्तै भइराख्ला कि देश बनाउने अठोट भएको नेतृत्व मुलुकले पाउला ? यसका लागि अझै कति दशक कुर्नुपर्ने हो नेपालीहरूले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?