
१० असार, काठमाडौं । मधेश प्रदेशका मा १० हजार बालबालिकालाई विद्यालयसँग जोड्न सञ्चालन गरिएको सहयात्रा परियोजना सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भीएसओ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, प्रेरणा र जन जागरण युवा क्लबको साझेदारीमा स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वय तथा सहकार्यमा समावेशी शिक्षा विकासका लागि सहयात्रा परियोजना सञ्चालन गरिएको थियो ।
साढे तीन वर्षे सहयात्रा परियोजना कार्यक्रम मधेश प्रदेशका ४ जिल्ला बारा, रौतहट, पर्सा र सर्लाहीमा सञ्चालन गरिएको थियो ।
परियोजनाको अन्तिम वर्षमा भीएसओ नेपालले काठमाडौंमा परियोजना कार्यान्वयनबाट प्राप्त सिकाइ अनुभव आदान प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा जोड्न र उनीहरूको ड्रप आउट रोक्ने काम चुनौतीपूर्ण रहेको बताइन् ।
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नीतिगत र बजेट व्यवस्था गरिए पनि धेरै सिमान्तकृत समुदायका बालबालिका अहिले पनि समतामूलक शिक्षाको पहुँचबाट बाहिर रहेको उनको भनाइ थियो ।
यस अवस्थामा सुधार ल्याउन अभिभावकको क्षमता विकास, सचेतना तथा विद्यालयको वातावरण र सिकाइ तरिकामा थप सुधारको आवश्यकता रहेको उनले बताइन् ।
कार्यक्रममा मधेश प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोले मधेशमा शिक्षक विद्यार्थी अनुपात धेरै भएको, उच्च गरिबीका कारण बालबालिकालाई विद्यालयमा जोड्न चुनौती भएको भन्दै समुदाय सशक्तीकरणका कार्यक्रम सञ्चानलमा जोड दिए ।
प्रतिक्रिया 4