+
+
सचिव बैठक :

लाग्ने समय तोकेरै सेवा दिने सरकारको निर्णय, कार्यान्वयनमा आशंका

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ असार १० गते १९:५५

१० असार, काठमाडौं । सरकारले नागरिकले सेवाका लागि अनुरोध गरेपछि निश्चित समयअवधि तोकेरै सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको छ । ६ असारमा बसेको सचिव बैठकले सेवा पाउने अवधि तोकेरै त्यसअनुसारको समयभित्रै सेवाग्राहीलाई सेवा दिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

अब सबै मन्त्रालयहरुले यो निर्णयअनुसार आफू मातहतका कार्यालयमा सेवाग्राहीलाई सेवा दिंदा लाग्ने अवधि निश्चित गरेर सेवा दिने व्यवस्था मिलाउनुपर्नेछ । यसका लागि सबै सरकारी कार्यालयमा टोकनमा आधारित ‘टाइम कार्ड’ प्रणाली लागु गर्नुपर्ने हुन्छ ।

तर, सचिव बैठकले कुन-कुन र कस्ता सेवाहरूमा कुन विधिबाट कहिलेसम्म यस्तो समयअवधि तोकेर सेवा दिन थाल्ने भन्ने निर्णय गरेको छैन ।  पर्याप्त कारण र आधार नभई अपवादको अवस्थामा बाहेक यस आर्थिक वर्षमा कर्मचारी सरुवा नगर्ने र मन्त्रालय/निकायमा सुधारको सुधारको काम अगाडि बढाउन इन्फर्मल र लुज नेटवर्कका रुपमा रुपमा ‘तत्काल परिवर्तन समूह’ (र्‍यापिड चेन्ज टिम) को व्यवस्था गर्ने निर्णय पनि सचिव बैठकले गरेको छ ।

अहिले पनि नागरिक वडापत्रमा सेवासम्बद्ध काम हुन लाग्ने समय निश्चित गरेर उल्लेख गर्ने प्रचलन छ । तर, कर्मचारीहरुले अनेक बाहानामा सेवाग्राहीलाई काम नगरी दुःख दिने र समय धेरै लगाएरै घुसम माग्नेसम्मको विकृति व्याप्त छ । यसका कारण सरकारी सेवा सुधार हुनुको साटो उल्टो झन्झटिलो र समस्याग्रस्त बनेको छ ।

अझ भीडभाड हुने कार्यालयमा समयमै सेवा पाउन कठिन छ । त्यसैका कारण सेवाग्राहीहरु सरकारी सेवाससँग सन्तुष्ट छैनन् । यसैलाई ध्यानमा राखेर प्रधामनन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी सेवालाई क्रमशः अनलाइन प्रणालीमा आधारित बनाएर गुणस्तर बढाउने निर्णय गरेको छ ।

‘अनलाइन प्रणालीबाट प्रदान गरिने सेवाहरूलाई तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी एउटै प्रकारका कागजात भिन्न–भिन्न निकायमा पटक पटक बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्ने,’ सचिव बैठकको निर्णयमा उल्लेख छ ।

विगतमा भएका विभिन्न व्यवस्थासहित सेवा प्रवाह सुधार्न भएको निर्णयहरु कार्यान्वयन नहुँदा सचिव बैठकको निर्णयअनुसार काम हुनेमा आशंका छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनपछि ११ पुस २०७९मा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुगम, सरल, कम खर्चिलो र झञ्झटमुक्त बनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले यसमा देखिने गरी सुधारका काम तत्काल आरम्भ गर्ने पनि निर्णय गरेपनि अझै काम भएको छैन । अहिले पनि राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालयसहित तोकिएका केन्द्रहरु, वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति सम्बन्धी सेवा लिन वैदेशिक रोजगार तथा श्रम कार्यालयहरु, विद्युतीय राहदानी बनाउन राहदानी विभाग र लाइसेन्स बनाउन प्रदेशका यातायात कार्यालयहरुमा लामो लाइन बस्नुपर्छ । तीमध्ये कतिपय कार्यालयको सेवा लिन धेरै दिन लगातार धाउनुपर्छ भने विचौलियाको समेत भर पर्नुपर्ने बाध्यता छ ।

सरकारले चाहने हो भने सबैजसो सरकारी सेवा अनलाइनबाटै दिन सक्ने र नागरिकले घर–कार्यालयमै बसेर बिना झन्झट काम लिन सक्ने सूचना प्रविधि क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । यसका लागि सरकारी कार्यालयमा न्यूनतम पूर्वाधार तयार भइसकेको उनीहरुको भनाइ छ ।

अहिले नै सरकारी कार्यालयहरुले कर, सेवा शुल्क र महसुल अनलाइन माध्यमबाट उठाउन सक्छन् । तर धेरै सरकारी कार्यालयले सेवा शुल्क र महसुल लिन नागरिकलाई कार्यालयबाहिर लाइनमा उभ्याइरहेका छन् ।

विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यालयमा सर्वसाधारण लामा लाइन लाग्छन् । राहदानी विभागले अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपनि फोटो खिचाउन तथा विद्युतीय औंठाछाप (बायोमेट्रिक) दिन लाइन बस्नैपर्ने बाध्यता छ । सवारी चालक लाइसेन्स बनाउन, नवीकरण गर्न र सवारी साधन दर्ता गर्न लाइन नबसी सुखै छैन ।

सूचना प्रविधिविज्ञ मनोहर भट्टराई एउटा सरकारी कार्यालयले खिचेको फोटो, लिएको बायोमिट्रिक र संकलन गरेको विवरण अर्को कार्यालयको प्रणालीसँग जोड्नसके सेवाग्राहीले कार्यालयपिच्छे लाइन बस्नुनपर्ने बताउँछन् ।

‘लाइन हटाएर प्रभावकारी अनलाइन प्रणाली प्रयोगमा ल्याउन सबैभन्दा ठूलो कुरा राजनीतिक–प्रशासनिक प्रतिवद्धता चाहिन्छ’, उनी भन्छन्, ‘यसलाई कार्यरुप दिन संस्थागत क्षमता वृद्धि र दक्ष जनशक्ति आवश्यक पर्छ । तर प्रशासनिक र राजनीनिक तहमा इच्छाशक्ति देखिएको छैन ।’ सेवा लिन रातिदेखि लाइन बस्नुपर्ने बाध्यता राष्ट्रिय एकीकृत प्रारुपमा आधारित सिस्टम डिजाइन नगर्दाको परिणाम भएको भट्टराईको भनाइ छ ।

कतिपय कार्यालयको अनलाइन प्रणालीमा फारम भर्न कोटा तोकिएको हुन्छ । त्यसमाथि बेला–बेला ‘सर्भर डाउन’ हुने समस्याका कारण पनि सेवाग्राही लाइनमा बस्न बाध्य छन् । सरकारले यस्तो समस्या समाधानमा पनि बलियो कदम चालेको छैन ।

जनशक्ति थपघट गर्न आनाकानी

गत ६ असारको सचिव बैठकले सेवाको प्रकृति र संवेदनशीलताको आधारमा सेवाको वर्गीकरण गरी सेवा प्रवाहको लागत कम गर्न र गुणस्तर वृद्धि गर्न निजी क्षेत्रसँग समेत सहकार्य गर्न सकिने सम्भावनाको खोजी गर्ने निर्णय पनि गरेको छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहसँग सम्बन्धित निकायमा आवश्यक जनशक्तिको उपलब्धता सुनिश्चित गर्ने नर्णय भएको छ ।

६ असारको सचिव बैठकको निर्णय

१० पुस २०८०मै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एक महिनाभित्रै जनघनत्वका आधारमा जिल्ला प्रशासन कार्यालयहरुमा थप जनशक्तिको व्यवस्था गर्ने घोषणा नगरेका होइनन् । जनशक्ति थपेर राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइने प्रधानमन्त्रीको घोषणा कागजमै सीमित भएको थियो ।

गृह मन्त्रालयले काम नगर्दा सेवा प्रवाह ढिला भएर सेवाग्राही लामो लाइन बस्न समेत बाध्य छन् । अरु मन्त्रालयहरुले पनि जनशक्ति तथा व्यवस्थापन सर्भेमार्फत कार्यालयहरुमा दरबन्दी थपघट गर्ने योजना अलपत्र छाडेका छन् ।

कतिपय कार्यालयहरुमा सेवग्राहीको चापअनुसार कर्मचारीको दरबन्दी कम छ । तराई मधेश तथा भित्रि मधेशका जिल्लामा कर्मचारीको कार्यबोझ उच्च छ । यहीबेला सरकार कर्मचारी सरुवा र व्यवस्थापनमा विधि छाडेर मनपरी गरिरहेको छ । सिंदरबारबाटै अनावश्यक दरबन्दी काट्न थालिएको काम कर्मचारीको स्वार्थमा अल्झिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्यमार्फत मंसिर २०८०ससम्म सबै मन्त्रालय र निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम सर्भे) सक्ने घोषणा गरेको थियो । तर, आर्थिक वर्ष सकिन लाग्दासमेत लाग्दसम्म अधिकांश मन्त्रालय र निकायहरु सर्भेको प्रक्रियामै अलमलिएका छन् ।

सकेसम्म काठमाडौंमा नै बस्न चाहाने कर्मचारीको केन्द्रिकृत मानसिकताका कारण राजधानीमा रहेका निकायहरुको दरबन्दी कटौती अन्योलमा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषाद् कार्यालयका अधिकाहरीरू स्वीकार्छन्  । कर्मचारीहरुकै नेतृत्वमा बनेका सर्वेक्षण समितिहरुले राम्रोसँग काम नै गरेका छैनन् ।

चालु आर्थिक वर्षको बजेटले सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउने घोषणा गरेको थियो । ‘सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्पन्न गर्नुपर्नेछ,’ बजेट वक्तव्यमा भनिएको थियो ।

अनावश्यक दरबन्दी घटाएर सार्वजनिक खर्च कटौती गर्ने र सार्वजनिक प्रशासनलाई चुस्त बनाउन भएको घोषणाअनुरुप समयमै दरबन्दी पुनरावलोकन सक्न अधिकांश मन्त्रालय र निकायहरू सफल भएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले कर्मचारी प्रशासन र सरकारी संयन्त्रहरू चुस्त बनाउन भन्दै प्रधानमन्त्री कार्यालयबाटै थालेको दरबन्दी काट्ने अभियान अहिले बीचमै अलपत्र परेको छ ।

अधिकांश मन्त्रालय र सरकारी निकायका अधिकांश महाशाखा, विभाग र कार्यालयहरुले हालकै जनशक्ति समेत पर्याप्त नभएको भन्दै थप जनशक्ति मागेपछि सर्भे गर्न गठित समितिहरु नै सकसमा छन् । प्राविधिक दरबन्दीहरुको माग बढेकाले प्रशासनिक दरबन्दी केही कटौती गरे पनि समग्रमा ठूलो संख्यामा दरबन्दी कटौती गर्न नसकिने निष्कर्षमा मन्त्रालयहरु पुगेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनका उपसचिव रुपनारायण खतिवडाका अनुसार विभिन्न मन्त्रालयका ओएन्डएम सर्भे प्रतिवेदनअनुसार दरबन्दी पुनरावलोकनको प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ । कतिपय मन्त्रालयमा समितिमा रहेर काम गरिरहहेका कर्मचारीहरुको सरुवा भएकाले समस्या भएको उनले बताए ।

‘बजेटसम्बद्ध कामको चापका कारण अर्थले समयमै राय दिन नसकेको होला,’ उनले भने,‘अर्थबाट सहमति पाएपछि केही मन्त्रालयको दरबन्दी पुनरावलोकनको प्रक्रिया अघि बढ्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?