+
+

बटेश्वरमा बडहडी खोला उत्खननमा अनियमितता भएको छानबिन समितिको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १४:२४

१० असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोला उत्खननमा अनियमितता भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको तीन सदस्यीय छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको प्रतिवेदन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार बटेश्वर गाउँपालिका कार्यालयले लगाएको ठेक्का सम्झौतामा उल्लेख भएको परिमाणको पाँच गुणा बढी गिट्टी बालुवा उत्खनन गरेको छानबिन समितिले पत्ता लगाएको छ ।

‘छानबिन समितिले बुझाएको नापजाँचसहितको प्रतिवेदनमा सम्झौता विपरीत पाँच गुणा बढी नदीजन्य पदार्थ उत्खनन भएको पाइएको छ । अब जिल्ला समन्वय समितिमा बैठक बसेर के कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा निर्णय हुन्छ’, प्रजिअ कडरियाले भने ।

यो विषयमा छलफल गर्न जिल्ला समन्वय समितिमा मंगलबार बैठक हुनेछ । बटेश्वर गाउँपालिका कार्यालयले ६ फागुनमा महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार ४४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि २७ लाख ९ हजार १०३ रुपैयाँमा बडहडी खोला ठेक्का दिएको हो ।

ठेक्का सम्झौता अनुसार ठेकेदारले १५ जेठ २०८१ सम्म गरी १४ हजार ४४५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न पाउने थियो । यो लगायत गाउँपलिका कार्यालय र पञ्चधुरामाई सप्लायर्सबीच भएको ३२ बुँदे सम्झौताको धेरै बुँदा पालना भएको छैन ।

ठेकेदारले जेसिभी स्काभेटर जस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिटसम्म गहिरो खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन गरेको छ । यसले गर्दा निरशपुर, विजयपुर र चित्रपुर बस्ती बाढी र पहिरोको जोखिममा परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

सर्वसाधारणको गुनासोपछि जेठ दोस्रो साता खोलामा पुगेका प्रमुख जिल्ला अधिकारी कडरियाले ठेकेदारको जथाभावी नदीजन्य पदार्थको उत्खनन गरेको देखेपछि कारबाही गर्न गाउँपालिका कार्यालयलाई पत्र लेखेका थिए ।

तर पालिकाका जनप्रतिनिधि र कर्मचारीले चासो नदेखाएपछि जेठ २८ गते प्रजिअ कडरियाले जिल्ला समन्वय समिति धनुषाका इन्जिनियर अजयकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

जसमा बटेश्वर गाउँपालिका र हुलाकी सडक निर्देशनालयका इन्जिनियर सदस्य छन् । सो समितिलाई खोलामा भएको उत्खननको नापजाँच गरी सातदिन भित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।

यद्यपि समितिले खोला खनेर किनारमा थुपारेको ग्राभेलको भने नापजाँच गरेको छैन । खोला किनारमा थुपारेको ग्राभेलको विषयमा छलफल गरिने कडरियाले बताए ।

प्रजिअ कडरियाले ठेक्का प्रक्रिया र उत्खननमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?