+
+

जनकपुरमा एक वर्षमा ४ प्रशासकीय अधिकृत फेरिए, काम अस्तव्यस्त

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असार १० गते १९:४२

१० असार, जनकपुरधाम । ‘शिक्षकको तलब र दिवा खाजाको पैसा कहिले आउँछ फिरोज सर, तपाईंलाई खोज्दै कति हिँड्ने ?’

आइतबार दिउँसो २ बजेतिर जनकपुरधाम उपमहानगरपालिका कार्यालयको लेखा शाखामा लेखा अधिकृत फिरोज आलमसँग तीन विद्यालयका प्रधानाध्यापक आक्रोश पोख्दै थिए ।

लेखा अधिकृत आलम भने ‘म प्रयास गर्छु’ भन्दै आश्वासन दिइरहेका थिए । त्यसपछि कम्प्युटर अपरेटर गणेश शर्मालाई ती विद्यालयका फाइल खोज्न अह्राउँदै आलम कार्यकक्षबाट बाहिरिए ।

‘लेखा अधिकृतलाई खोज्दै हामी एक महिनादेखि दैनिकजसो कार्यालय आउने गरेका छौं । मुश्किलले आज भेटिनुभयो’, असर्फी साह आधारभूत विद्यालयका प्रधानाध्यापक राम स्नेही यादवले भने ‘असार मसान्त आउन लाग्यो, शिक्षकको तलब, सशर्त अनुदान, पाठ्यपुस्तकको रकम हाम्रो खातामा गएको छैन ।’

यादवसँगै गोगल नमुना माविका प्रधानाध्यापक महावीर दास र याज्ञवलक्य संस्कृत माविका प्रधानाध्यापक सञ्जय कुमार झा पनि आइतबार उपमहानगरपालिका कार्यालय आएका थिए ।

आइतबार नै उपमहानगरपालिकाको लेखा शाखा बाहिर एउटा सूचना टाँसियो, महालेखा परीक्षकको कार्यालयबाट असार २० गतेभित्रै भुक्तानी गर्नुपर्ने पत्र प्राप्त भएकाले भुक्तानीका लागि आवश्यक कागजात असार १५ गतेभित्र कार्यालयमा पेश गर्नुपर्ने, नभए कार्यालय जिम्मेवार नहुने ।

तर उपमहानगरपालिकाले यसअघिदेखि नै विद्यालयलाई दिनुपर्ने रकम दिएको छैन । वैशाखदेखि शिक्षकहरुको तलब, विद्यार्थीको दिवा खाजावापतको तीन महिनाको रकम र चैतमा भएको कक्षा– ८ को नगरस्तरीय बोर्ड परीक्षामा खटिएका केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, उत्तरपुस्तिका परीक्षक लगायतको भत्ता उपमहानगरपालिकाले दिन बाँकी छ ।

त्यति मात्र होइन चालु आर्थिक वर्षमा सेनिटरी प्याड पनि दिएको छैन । चारवटा विद्यालयमा बन्नुपर्ने सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) अहिलेसम्म बन्न सकेको छैन ।

चार महिनाअघि नै विद्यालयलाई दिनुपर्ने सशर्त अनुदानको रकम समेत नपाएको गोगल नमुना माविका प्रधानाध्यापक महावीर दासले गुनासो गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्र ५२ वटा सामुदायिक विद्यालय छ । जसमा ४ सय भन्दा बढी शिक्षक शिक्षिका कार्यरत छन् । ।

चालु आर्थिक वर्ष सकिन अब २० दिन बाँकी छ । तर असार २० पछि भुक्तानी नगर्नु भनेर महालेखा परीक्षकको कार्यालयको पत्र पठाएकाले अब १० दिनभित्र मात्र उपमहानगरपालिकाले भुक्तानी दिन पाउँछ ।

उपमहानगरपालिकाको नियमित काम अन्तर्गतको रकम र भइसकेका कामको रकम भुक्तानी नहुँदा चालु आर्थिक वर्षको पुँजीगततर्फको खर्च करिब ११ प्रतिशत मात्र छ ।

लेखा अधिकृत आलमका अनुसार चालु आर्थिक वर्षमा पुँजीगत तर्फ १ अर्ब ६८ करोड ७ लाख २६ हजार २९० रुपैयाँ बजेट रहेकामा ११ करोड २६ लाख ४३ हजार ५९५ खर्च भएको छ ।

चालुतर्फ १ अर्ब २१ करोड ३६ लाख ४३ हजार बजेट रहेकामा ६६ करोड ५५ लाख ३९ हजार ७०१ खर्च भएको छ, जुन करिब ५५ प्रतिशत हो ।

चालु आर्थिक वर्षको सुरुदेखि नै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नियमित बस्ने गरेका छैनन् । जसले कार्यालय सञ्चालन नै अस्तव्यस्त बनेको छ । काम सम्पन्न भएका योजनाहरुको भुक्तानी हुन सकेको छैन । मेयर मनोज साहले पनि प्रशासकीय अधिकृत र लेखा अधिकृतले साथ नदिँदा बजेट खर्च न्युन मात्र भएको बताए ।

उनीहरु किन जनकपुरधाममा बस्न चाहेनन् भन्ने आफूले पनि बुझ्न नसकेको साहको भनाइ छ ।

चालु आर्थिक वर्षमा मात्रै जनकपुरधाम उपमहानगरमा चारजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यही अवधिमा तीनजना लेखा अधिकृत फेरिएका छन् ।

२०८० को साउन र भदौमा रत्नेश शशि प्रशासकीय अधिकृत थिए । त्यसपछि आएका उपसचिव सुमनकुमार कार्की ६ महिना बसे । तर उनी झण्डै दुई महिना तालिममै बाहिर रहे । उनीपछि आएका उपसचिव टेकराज पन्थी लामो समय बस्नै सकेनन् । गुणस्तरहीन काम भएको केही योजनामा भुक्तानीका लागि मेयरबाट दबाब आएएपछि उनले २० जेठमा काठमाडौं गए ।

‘गुणस्तरहीन काम भएको योजनाको भुक्तानी, अनधिकृत कामहरुको लागि दबाब आउँदा मैले थेग्न सकिन । म कार्यालय छाडेर मन्त्रालयमा प्रमाणसहित हाजिर भएँ’, पन्थीले भने । तर, मेयर साहले भने कानुन विपरीतका कामका लागि दबाब नदिएको दाबी गरे ।

पन्थीपछि गत जेठ २३ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा सत्यनारायण साह हाजिर भए । उनी जिल्ला समन्वय समिति महोत्तरीबाट जेठ २१ गते सरुवा भएका थिए । तर उनी ३/४ दिन भन्दा कार्यालय हाजिर भएनन् । आइतबार पनि उनी कार्यालय आएका छैनन् । उनको मोबाइल स्वीच अफ छ । मेयर साहका अनुसार उनी बिरामी भएकाले उपचारका लागि काठमाडौं गएका छन् ।

मेयरको व्यवहारका कारण प्रशासकीय अधिकृतहरु बस्न नसकेको कर्मचारीहरु बताउँछन् । केही महिनाअघि उनले आफू अनुकुल योजना चलाउन र काम गराउन कार्यालयमा कर्मचारीहरुको जिम्मेवारी हेरेफेर गरेका थिए । त्यस क्रममा केही वरिष्ठ कर्मचारीलाई पाखा लगाएर कनिष्ठलाई शाखा प्रमुखहरुको जिम्मेवारी दिएका थिए ।

केही महिना अघिसम्म लेखा शाखाको जिम्मेवारी लेखापाल दिनेश चौधरीसँग थियो । पछि लेखा अधिकृत सुदीपकुमार यादव आए । तीन महिनापछि उनी सरुवा भए र डेढ महिनादेखि आलम लेखा अधिकृतको जिम्मेवारीमा छन् ।

मेयर साहले आफूले कर्मचारीको काममा हस्तक्षेप नगरेको जिकिर गरे । ‘म आफू अनुकुल कर्मचारीको जिम्मेवारी हेरफेर गरेको कुरा सत्य होइन । अन्य कतिपय ठाउँमा सरुवा भएर आएका कर्मचारीलाई हाजिरी हुन दिँदैन । तर मैले आजसम्म कसैलाई त्यस्तो गरेको छैन । जो आउँछन् हाजिरी गराएकै छु । काम गर्न दिएकै छु । कुनै दबाब र अवरोध गरेको छैन’, उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नबस्दा उपमहानगरको नगरसभा पनि अनिश्चित बनेको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?