+
+

दोलखाको भीमेश्वरले किन ल्यायो सन्तान वृद्धि कार्यक्रम ?

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार दोलखाको जनसंख्या १० वर्षमा ०.७४ प्रतिशतले घटेको देखिन्छ ।

विकास रोकामगर विकास रोकामगर
२०८१ असार १० गते १५:०६
नगरपालिका उपप्रमुख कमला बस्नेत

१० असार, काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–४ मा ६० सालसम्म ४ वटा सामुदायिक विद्यालय थिए । एउटै विद्यालयमा ३०० देखि ४०० विद्यार्थी हुन्थे । अहिले विद्यार्थी अभावका कारण ३ वटा स्कुल गाभिएका छन् ।

भएको एउटामात्रै माध्यामिक तहको विद्यालयमा पनि जम्मा १६० जना विद्यार्थी छन् । ‘नयाँ भर्ना हुने विद्यार्थी निकै कम छैन । पहिले विद्यार्थीहरू अटाइ-नअटाई हुने विद्यालय सुनसान छन्,’ भीमेश्वर गाउँपालिका–४ का वडाध्यक्ष तारानाथ चौलागाईं भन्छन् ।

आफ्नो ठाउँमा बर्सेनि जन्मदर घट्दै गएको चौलागाईंसँग अर्को पनि अनुभव छ । उनको वडाले सुत्केरी आमाहरूलाई घरघरमै पुगेर पोषणयुक्त खाना बाँड्ने कार्यक्रम चलाइरहेको छ । ‘अघिल्लो वर्षभरि मेरो वडामा जम्मा १८ जनामात्रै सुत्केरीलाई पोषण बाँडे । बाँकी वडाको पनि त्यस्तै अवस्था छ,’ नगरपालिका प्रवक्तासमेत रहेका चौलागाईं भन्छन्, ‘यो हिसाबले गइरह्यो भने त भोलि हामीसँग भूगोलमात्रै हुन्छ, जनशक्ति नै नहोलान् भन्ने भयो ।’

जन्मदर घट्दै गएको भन्दै दोलखाको भीमेश्वर नगरपालिकाले सन्तान वृद्धि कार्यक्रम ल्याएको छ ।

नगरपालिका उपप्रमुख कमला बस्नेतले आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को यो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै सन्तान वृद्धि प्रोत्साहन कार्यक्रमबारे जानकारी दिएकी हुन् ।

यो कार्यक्रम अनुसार ३ सन्तान जन्माए तेस्रो सन्तानले १० हजार रुपैयाँ पाउनेछन् । नगरपालिका सन्तान वृद्धिदरलाई सहयोग पुग्ने गरी ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान–उज्यालो भविष्य’ कार्यक्रम ल्याएको हो ।

‘हामी गाउँबस्तीमा गएका छौं । तर आम नागरिकलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सकेका छैनौं । यसले गर्दा पनि हाम्रो गाउँबस्ती पातलिंदै गएका छन् सुन्दर बस्ती रित्तिँदै गएका छन्,’ उपप्रमुख बस्नेतले भनिन्, ‘जन्मदर घट्दै गयो ।’

जन्मदर घट्दै जाँदा विद्यालयमा भर्नादर पनि त्यही अनुपातमा घट्दै गएको उपप्रमुख बस्नेतको भनाइ छ । ‘अनेकौं कारणले नागरिकहरू गाउँबस्तीमा भेटिन छाडेका छन् । विकास मानव जातिका लागि गर्ने हो । तर मानवजाति नै नभए कसका लागि गर्ने ?’ उनले भनिन्, ‘यो गम्भीर विषय हो ।’

उपप्रमुख बस्नेतले भीमेश्वरमा जनसंख्या बढाउन र बस्ती जोगाउन अपरिहार्य भएकाले उक्त कार्यक्रम ल्याएको प्रष्ट्याइन् । ‘सबै सोच र आविष्कार मानव जातिबाटै हुने हो । त्यसैले पनि अब जनसंख्या बढाउनुको विकल्प छैन,’ उनले भनिन्, ‘अब हामीले खाली जमिनलाई पुनः मानव बस्तीमा रूपान्तरण गर्न जरुरी छ ।’

यो कार्यक्रमले सन्तान जन्माउन प्रोत्साहन मिल्ने भीमेश्वर नगरपालिकाको विश्वास छ ।

पालिका प्रवक्ता चौलागाईंले जन्मदर घट्दै गएर बस्ती नै रित्तिने अवस्था आएपछि यो कार्यक्रम ल्याइएको बताए । ‘अधिकांश ग्रामीण भेग खाली भइसक्यो । यता बस्ने भनेको अतिविपन्न वर्गमात्रै हो भन्ने भइसक्यो, भोलि आवश्यक पर्ने जनशक्ति खै त ?,’ नगरपालिकाका प्रवक्ता चौलागाईंले भने, ‘अहिलेलाई यति भए पनि केही प्रोत्साहन होला कि भनेर सुरु गरेका हौं ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार दोलखासहित ३४ जिल्लामा जनसंख्या ऋणात्मक अर्थात् घट्दो अवस्थामा छन् । जनगणनाले औसत परिवारको आकारमा पनि सबैभन्दा सानो दोलखा र गोरखा जिल्लामा देखाएको छ ।

दोलखामा प्रतिपरिवार औसत ३.४९ मात्रै संख्या देखिन्छ । अर्थात् परिवारको आकार सानो हुँदै जाँदा त्यसले समग्र जिल्लाकै जनसांख्यिकी वितरणमा पनि असर पारेको देखिन्छ ।

२०६८ को जनगणनाअनुसार दोलखाको जनुंख्या १ लाख ८६ हजार ५५७ जना थियो । तर १० वर्षपछि उक्त संख्या १ लाख ७२ हजार ७६७ जनामा सीमित भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार दोलखाको जनसंख्या १० वर्षमा ०.७४ प्रतिशतले घटेको देखिन्छ ।

सहरोन्मुख बसाइँसराइ, ढिलो बिहेवारी र थोरै सन्तानको इच्छाले पनि जन्मदर घट्दै गएको प्रवक्ता चौलागाईं दाबी गर्छन् । ‘वैदेशिक रोजगारमा जाने र बसाइँसराइ गर्ने एकदमै धेरै छ । अहिले त बिहे गर्ने उमेर पनि ३०/३२ पुगिसक्यो,’ उनी भन्छन्, ‘एउटा सन्तान भए पुग्छ भन्दै परिवारको आकार नै सानो हुँदै भयो ।’

भीमेश्वरको धनात्मक जन्मदर

जनसंख्या वृद्धि कार्यक्रम चलाइरहेको भीमेश्वर नगरपालिकाको जनसंख्या भने जिल्लाभरिमा धनात्मक छ ।

९ वटा स्थानीय तह भएको दोलखामा सबै पालिकाको जनसंख्या घट्दोक्रममा रहँदा भीमेश्वरको मात्रै धनात्मक रहेको २०७८ को जनगणनाले देखाएको छ ।

जनगणनाअनुसार २०६८ सालमा भीमेश्वर नगरपालिकामा ३२ हजार ४८६ जनसंख्या थियो । २०७८ मा बढेर ३४ हजार ७१२ जना पुगेको छ । यो पालिकाको जनसंख्या वृद्धिदर ०.६४ प्रतिशत छ ।

समयमै कार्यक्रम नचलाए भीमेश्वरको जनसंख्या पनि विस्तारै ऋणात्मक हुने स्थितिमा पुगेकाले अभियानकै रूपमा अघि सारेको प्रवक्ता चौलागाईंले बताए ।

‘दोलखामा सबै ठाउँमा ऋणात्मक जन्मदर छ । हाम्रोमा ठ्याक्कै त्यस्तो देखिएको छैन । हामीले पनि बेलैमा सोचेनौं भने भोलि पुग्ने ठाउँ त्यही हो,’ उनले भने, ‘खास सरकारले राष्ट्रियस्तरमै चलाउने कार्यक्रम हामीले सुरुआतमात्रै गरेका हौं ।’

गाउँको बसाइँसराइलाई रोकेर बस्ती जोगाउन उत्पादनमूलक कार्यक्रम पनि चलाइरहेको चौलागाईंले जिकिर गरे । युवाहरूलाई आवश्यकताअनुसार तालिम दिने र उक्त तालिमपश्चात सीप लागू गर्न अनुदान, उपकरण वितरण गर्नेलगायत काम गर्दैै आएको उनले सुनाए ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?