
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले घरजग्गा बहाल करमा कडाइ गर्ने भएको छ ।
सोमबार आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरमा घरजग्गा बहाल करमा कडाइ गर्ने बताइन्।
उपप्रमुख ढकालले भनिन्, ‘पालिकाको क्षेत्राधिकार भित्र रहेर कर सङ्कलनलाई अभियानकै रूपमा सञ्चालन गरिनेछ भने घरजग्गा बहाल करलाई कडाइका साथ सङ्कलन गरिने छ । साथै विभिन्न सेवा शुल्क तथा दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभूति हुने गरी कर सङ्कलन कार्यलाई निरन्तरता दिन्छौं।’
मेयर ढकालले वीरेन्द्रनगरले उपमहानगरका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेकाले उपमहानगरपालिका बनाउने एजेन्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जाने बताइन् । ‘वीरेन्द्रनगरले उपमहानगरपालिकाका लागि चाहिने आवश्यक मापदण्ड पूरा गरेको छ । अब यो एजेन्डा प्रदेश सरकार मार्फत संघीय सरकारमा गएर पारित हुनेछ,’ मेयर ढकालले नीति तथा कार्यक्रम पेस गर्दै भनिन् ।
उपमहानगरपालिकाका लागि आवश्यक मापदण्ड २ लाख जनसङ्ख्या, २५ करोड आन्तरिक राजस्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ । उपप्रमुख ढकालले भनिन्, ‘वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणा गर्ने पर्याप्त मापदण्ड तयार छ ।’
राजस्वको क्षेत्रमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्वीकृत कर दस्तुरलाई समय सापेक्ष संशोधनसहित आवश्यकता र औचित्यको आधारमा छुट एवं सहुलियत दिने नीति लिइने नगर प्रमुख ढकालको भनाइ छ ।
वीरेन्द्रनगरलाई आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैङ्गिक रूपमा महिला मैत्री, सामाजिक रूपले समावेशी/सहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित, शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा विकास गरिने नीति लिएको मेयर ढकालले बताइन् ।
बजेटमा वीरेन्द्रनगरको सहरी सौन्दर्यताकलाई प्राथमिकता दिइएको छ । पूर्वाधारतर्फ पनि सौन्दर्ययताको विषयलाई प्राथमिकता दिइएको छ । प्रदेश राजधानीको अस्तित्वलाई विशेष ध्यान दिँदै राजधानी केन्द्रित सहरी सौन्दर्यताका पूर्वाधारलाई विशेष जोड दिने भनिएको छ ।
प्रतिक्रिया 4