+
+

विराटनगरको घोषणा : ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

हरि अधिकारी हरि अधिकारी
२०८१ असार १० गते १५:३२

१० असार, विराटनगर । विरानटगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाले वडाहरूलाई २ करोडभन्दा माथिका योजना छनोट गरी बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा जनसंख्या र क्षेत्रफलका आधारमा वडालाई न्यूनतम २ करोडदेखि अधिकतम २ करोड ६४ लाख बजेट उपलब्ध गराउने भएको छ ।

१९ वटा वडा रहेको महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको हो ।

महानगरपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिने नीति लिएको छ । यसअघि ८० वर्षका ज्येष्ठ नागरिकलाई मात्रै घरदैलोमा स्वास्थ्य जाँच गरिरहेको थियो । महानगरपालिकाले मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियान पनि सञ्चालन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि हरेक शुक्रबार पुस्तकरहित दिनको रूपमा मनाउन ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

शैक्षिक विकासतर्फ महानगरपालिकाले ‘प्रदेश राजधानी साझा सहर, गुणस्तरीय शिक्षाको हब विराटनगर’ अभियान सुरु गरेको छ । यसका लागि भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाले ‘स्कुल भित्र सबै नानी, धारो खोल्दा शुद्ध पानी’ को नारासहित सामुदायिक विद्यालयमा फिल्टर प्लान्टसहित शुद्ध पिउने पानीको व्यवस्थापन गर्ने नीति लिएको छ ।

विराटनगरले ‘मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रम’अन्तर्गत महानगर बहुप्राविधिक शिक्षालयमा २५ जना लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा डिप्लोमा तहको प्राविधिक धार पढाउने भएको छ । उपमेयर किशोरी आत्मरक्षा कार्यक्रमलाई सञ्चालन गर्ने नीति लिएको महानगरले विद्यालयलाई खेलाडी उत्पादन गर्ने कारखानाको रूपमा विकास गर्ने नीति बनाएको छ ।

विराटनगर महानगरपालिकाले वडा नम्बर ४, ५, ६, ११, १२ र १३ नम्बर वडामा पर्ने सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरको पश्चिम पट्टीको बाटोलाई वाकिङ स्ट्रीटका रूपमा विकास गर्ने घोषणा गरेको छ ।

विराटनगरको दक्षिणी वडाहरूमा वर्षाको पानी निकासका लागि आईसीपी रोड हुँदै रेल्वे ट्रयाकबाट सिंघियाखोलासम्मको डीपीआर बनाउने भएको छ ।

विराट दरबार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना बजेटमा समेटिएको छ । बजेटमा नगरबस सञ्चालन, स्मार्ट सिटी निर्माण, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण र फोहोरमैला व्यवस्थापनको काम अघि बढाउने जनाइएको छ ।

सडकमा ट्राफिक लाइट जडान गर्ने, प्रादेशिक बसपार्क, रिङरोड निर्माण, बाइपास सडक निर्माणका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने महानगरको बजेटमा उल्लेख छ ।

सडक सुरक्षाका लागि महानगरले रिङरोड कोशी राजमार्ग र वाइपास सडक बाहेक अन्य सडकमा ठूला सवारी साधानबाट हुने ढुवानी रोक्ने बताएको छ भने भौतिक संरचनाको मर्मत सम्भारका लागि मोबाइल इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालन गर्ने योजना ल्याएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?