+
+

संसद्‍मा उठ्यो प्रश्न : अहिलेसम्म कति बालबालिकालाई धर्मसन्तान बनाएर विदेश पठाइयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १६:०२

१० असार, काठमाडौं । नेपाली बालबालिकालाई धर्मपुत्र, धर्मपुत्री बनाएर विदेशी नागरिकलाई हस्तान्तरण गरिएको विषयमा प्रतिनिधिसभामा पनि प्रश्न उठेको छ ।

नेकपा एमालेकी सांसद् सम्झना थपलियाले बजेटबारे मन्त्रालयगत छलफलका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई धर्मसन्तानका रुपमा विदेश पठाइएका बालबालिकाको अवस्थाबारे सोधेकी हुन् ।

‘पहिले पहिले धर्मपुत्र र धर्मपुत्री बनाएर कति जना बालबालिका कुन देशका कुन व्यक्तिलाई दिइयो र उनीहरुको अवस्था के छ ? अहिले त्यसको विवरण सार्वजनिक गर्न मन्त्रालयले के गरिरहेको छ ?’, उनले सोमबार प्रतिनिधिसभा बैठकमा सोधेकी छन् ।

अनलाइनखबरले धर्मसन्तानका नाममा राज्यकै संलग्नतामा भएको मानव तस्करीबारे २५ जेठ र ७ असारमा खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो । दोस्रो रिपोर्टमा यो कार्यमा प्रहरीको संलग्नताबारे पनि खुलाइएको थियो ।

थपलियाले पत्रपत्रिकामा आएको समाचार अनुसार, नेपाली बालबालिकालाई धर्मपुत्र, धर्मपुत्री बनाएर पुनः लैजाने व्यवस्था फेरि खुला गर्न लागिएको भन्दै सोधेकी छन्, ‘हाम्रा बालबालिकालाई असाहय बालबालिका धर्मपुत्र, धर्मपुत्रीका नाममा डलरमा बिक्री गर्ने छुट दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अघि सरेको हो ?’

तर, महिला, बालबालिका मन्त्री चौधरीले अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी सबै प्रक्रिया अहिले रोकिएको भन्दै मन्त्रालयले कुनै ऐन, कानुन परिमार्जन गर्ने वा अगाडि बढाउने काम नगरेको सुनाइन् ।

विगतमा नेपाल बाल मन्दिरमा भएको अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय आयोग समेत बनेको स्मरण गराउँदै उनले भनिन्, ‘विगतको सरकारमा मन्त्रालय स्तरबाट ठूलो छानबिन समिति बनेको थियो, त्यसले ठूलो बोक्नै नसक्ने ५/१० केजीको रिपोर्ट दिएको छ । यद्यपि, त्यसबेलाका मन्त्रीहरुले त्यसलाई डिस्क्लोज गर्नुभएको छैन ।’

त्यो रिपोर्ट अध्ययनकै क्रममा भएकाले आवश्यकता अनुसार काम गरिने उनले बताएकी छन् ।

नेपाल बाल संगठनका कार्यकारी निर्देशक बालकृष्ण डंगोल २९ साउन २०७६ मा अवैध रुपमा नेपाली शिशु विदेशीलाई हस्तान्तरण गरेको आरोपमा पक्राउ परेपछि सरकारले छानबिनका लागि पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन आयोग बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?