+
+

फाइनान्स सूचक २८ महिनाकै उच्च, कुन कम्पनी कति बढे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १७:०८

१० असार, काठमाडौं । सेयर बजारमा फाइनान्स समूहको सूचक २८ महिनाकै उच्च विन्दुमा पुगेको छ । अधिकांश समूहका सूचकहरुमा निराशा थपिएका बेला फाइनान्स समूहको सूचक भने २० माघ २०७८ यताकै उच्चतम विन्दुमा पुगेको हो ।

सोमबार फाइनान्स समूह सूचक २५२१ अंकमा पुगेको छ । यो सूचकमा पछिल्लो ७ महिनायता उच्च वृद्धि देखिएको छ । मंसिर ५ गते फाइनान्स समूहको सूचक १५८५ अंकमा थियो । त्यसयता यो सूचक ५९ प्रतिशत बढेको छ । कारोबारी यस क्षेत्रमा सक्रिय रहेको देखिन्छ ।

७ महिनामा नेपाल फाइनान्सको मूल्य सबैभन्दा उच्च २३१ प्रतिशत बढेको छ । पोखरा फाइनान्सको १०८ प्रतिशत तथा मल्टिपर्पस फाइनान्सको मूल्य ९६ प्रतिशत बढेको छ।

पछिल्लो ७ महिनामा फाइनान्स कम्पनीहरूको मूल्यवृद्धि

कम्पनी ०८० मंसिर ५ को मूल्य ०८१ असार १० को मूल्य वृद्धिदर (प्रतिशत)
नेपाल २७७.९० ९२० २३१
गोर्खाज ४९७ ७६९.९० ५४.९
बेस्ट २८४ ४९०.९० ७२.८
गुडविल ३८३ ६१३ ६०
पोखरा ३२५.१० ६७८ १०८.५
श्रीइन्भेस्टमेन्ट ३०९.९ ४६२ ४९
सेन्ट्रल २९९ ४६७ ५६.१
जानाकी ३२८.५० ५९९ ८२.३४
समृद्धि २५५ ४६३ ८१.५
गुहेश्वरी ३१५ ४५५ ४४.४
आईसीएफसी ४३० ५५५ २९.०६
प्रोग्रेसिभ २६९.२० ४१५ ५४.१
मल्टिपर्पस २६९ ५२९ ९६.६
मञ्जुश्री ५१० ५६३ १०.३९
रिलायन्स ३०२ ४४० ४५.७

पछिल्लो समय लोक्यास सेक्टरमा कारोबारीहरु सक्रिय रहेको लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् । ‘यसअघि माइक्रोफाइनान्स कम्पनीमा कारोबारीहरु सक्रिय रहे, अब माइक्रोफाइनान्स केही हदसम्म महँगो मूल्य भइसक्यो’ उनले भने ‘त्यस्तै अर्को लोक्याप सेक्टर फाइनान्स पनि हो, फाइनान्समा कारोबारी हाबी देखिन्छन् ।’

लोक्याप सेक्टरका कम्पनीहरु नै बजार बढ्नुअघि बढ्ने गरेको उनी बताउँछन् । बैंकिङ, इन्स्योरेन्सजस्ता हाई क्याप सेक्टरका कम्पनीलाई बढाउन पनि सहज नभएको तर फाइनान्स तथा माइक्रोफाइनान्सजस्ता लोक्याप सेक्टरका कम्पनीलाई सहज रहेको उनले बताए ।

बजारमा जम्मा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् । एकातिर कम्पनीहरु लोक्याप, अर्कोतिर यो क्षेत्रका कम्पनीको संख्या पनि धेरै नरहेकाले कारोबारीलाई फाइनान्स चलाउन पनि सहज रहेको उनी बताउँछन् ।

समग्र बजार बढ्न नसकेका बेला कहिले माइक्रोफाइनान्स त कहिले फाइनान्स कम्पनीहरुको मूल्य छोटो समयमा उच्च दरले बढेर कारोबारीले नाफा लिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?