+
+

सर्वोच्चको परमादेश : मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १७:१५

१० असार, काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

सोमबार न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले मर्यादाक्रममा अगाडि रहेका कर्मचारीको तलबमान पछाडि रहेका कर्मचारीको भन्दा बढी हुने गरी तलब निर्धारण गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार मर्यादाक्रमलाई आधार मानेर तलब निर्धारण गर्न आदेश भएको हो । यसको लिखित रुप भने आइसकेको छैन ।

२०८० पुस २६ गते निजामती सेवाको सहसचिव, उपसचिव र शाखा अधिकृत स्तरका कर्मचारीले २०७९ साउन १ गतेदेखि लागू हुने गरी सरकारले निर्धारण गरेको तलबमानमा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुले सरकारले निर्धारण गरेको मर्यादाक्रममा आफूहरु भन्दा पछाडि रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानमा विभागका अधिकारीहरुको सुरुको तलबमान आफूहरुको भन्दा बढी रहेको र यो विभेदपूर्ण रहेको भन्दै खारेजीको माग गरेका थिए ।

समान पद र हैसियतका राष्ट्रसेवक कर्मचारीहरुलाई दिइने न्यूनतम आधारभूत सुरु तलब स्केलमा नै विभेदकारी निर्णय गरी कसैलाई काखा र कसैलाई पाखाको नीति अख्तियार गरिएको भन्दै निजामती कर्मचारीहरुले सर्र्वाेच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले २०६५ वैशाख ६ गते राजपत्रमा प्रकाशित मर्यादाक्रम र सरकारले निर्धारण गरेको तलबमानको तुलना गरेका थिए ।

मर्यादाक्रममा सहसचिव अर्थात राजपत्रांकित प्रथम श्रेणीका अधिकृत १६ औं नम्बरमा र नेपाली सेनाका सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक १७ औं नम्बरमा छन् ।

तर २०७९ साउन १ देखि लागू भएको सुरु तलब स्केल सहसचिवको ५६ हजार ७८७ छ भने सहायक रथी, प्रहरी नायब महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षकको ६० हजार ९५० छ ।

त्यस्तै मर्यादाक्रमको १८ नम्बरमा उपसचिव अर्थात राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतसँगै प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक छन् । सुरु तलब स्केल उपसचिवको ४८ हजार ७३७ छ भने प्रमुख सेनानी, प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको ५२ हजार २७९ छ ।

मर्यादाक्रमको २० औं नम्बरमा रहेका शाखा अधिकृतको तलब स्केल ४३ हजार ६८९ छ भने त्यही मर्यादाक्रममा रहेका सहसेनानीको ४७ हजार २०८ छ । एक तह मुनिको मर्यादाक्रममा रहेका उपसेनानीको तलब स्केल ४५ हजार १०३ रहेको छ ।

रिटमा यो तलबमानले प्रथम दृष्टिमा नै असमानताको अवस्था सिर्जना भएको र सार्वजनिक सेवा प्रवाहमा प्रतिवद्ध भई आफूहरुको मानमर्दन भएको र मनोबल कमजोर बनाएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?