+
+

‘न्युरोड नो भेइकल जोन’ विरोधमा बालेन विरुद्ध बहुमत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १७:४१
फाइल तस्वीर

१० असार, काठमाडौं । न्युरोडलाई ‘नो भेइकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाको प्रस्तावको विरोधमा मेयर बालेन साहविरुद्ध बहुमत देखिएको छ ।

महानगर मेयर बालेनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ३८ नम्बर बुँदामा ‘सूचीकृत सम्पदा क्षेत्र लगायत नयाँ सडक (न्युरोड), हाँडीगाउँ जस्ता प्राचीन, पुरातात्विक र विशेष महत्त्वका क्षेत्रहरूलाई नो भेइकल जोनका रूपमा विकास गरिने छ’ भन्ने छ ।

तर, न्युरोडलाई नो भेइकल जोन बनाउने प्रस्तावमा भने प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।

नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नवीन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले साझा संशोधन प्रस्ताव राख्दै न्युरोड सडकलाई नो भेइकल जोन बनाउने प्रस्ताव हटाउनुपर्ने माग गरे ।

वडाध्यक्ष पराजुलीले न्युरोड क्षेत्रमा नो भेइकल जोन बनाउने प्रस्ताव विरुद्ध बहुमत रहेको दाबी गरे ।

उनले दाबी गरे जस्तै नीति तथा कार्यक्रममा बोल्ने अधिकांश नगरसभा सदस्यले न्युरोडको नो भेइकल जोन विरोधमा सहमति जनाए ।

न्युरोडलाई नो भेइकल जोन बनाउने प्रस्तावको विरोधमा तीन राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि एक मत हुँदा बालेनले प्रस्ताव गरेको नीति तथा कार्यक्रम बहुमतले संशोधन हुने देखिएको छ ।

के हो न्युरोड विवाद ?

नीति तथा कार्यक्रममा मेयर बालेनले ल्याएको नो भेइकल जोनको विषय कार्यपालिकामा छलफल नभई आएको कार्यपालिका सदस्य अनिता कार्की ढोलीले बताइन् ।

तर, न्युरोडको नो भेइकल जोनको विषय महानगरपालिकाले तयारी गरिरहेको फुटपाथ विस्तारसँग जोडिएको छ । चालु आवको बजेटबाट यो न्युरोडको फुटपाथ बढाउन बजेट छुट्याएको थियो ।

महानगरका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २१ असोज २०८० मा स्वीकृत भएर ८ मंसिरमा बोलपत्र आह्वान भएको थियो । यसका लागि सात निर्माण कम्पनीले भाग लिएका थिए ।

करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११ प्रतिशत) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्यांकन समितिले ६ वैशाख २०८१ मा छनोट गरेको थियो ।

छनोट भएको निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले ३ जेठ मा कार्यादेश दिएको थियो । सोहि अनुसार काम गर्दा २२ नम्बर वडाध्यक्ष चिनकाजी महर्जन सहित टोलीले विरोध गरेपछि मेयर बालेन आक्रोशित भएका थिए ।

पार्किङ ठेक्कासँग जोडिएको भन्दै बालेनले चिनकाजी सम्बद्ध दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोडेका थिए । न्युरोडमा नो भेइकल जोनको विरोधमा कांग्रेस, एमाले र समाजवादीका वडाध्यक्षले साझा संशोधन प्रस्ताव गरेपछि बालेनले दलविरुद्ध टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?