+
+

वीरेन्द्रनगरले ल्यायो ३ अर्ब ५९ करोडको बजेट (पूर्णपाठ)

यज्ञ खत्री यज्ञ खत्री
२०८१ असार १० गते १७:५९

१० असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपमेयर निलकण्ठ खनालले १५ औं नगरसभामा सोमबार बजेट पेस गरेका हुन् । बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै ५७ करोड बढेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ३ अर्ब २ करोड ६१ लाखको बजेट ल्याएको थियो ।

बजेटमा पूँजीगततर्फ कुल बजेटको ५१.०७ प्रतिशत अर्थात १ अर्ब ८३ करोड ४५ लाख र चालुतर्फ ४८.९३ प्रतिशत अर्थात १ अर्ब ७५ करोड ७३ लाख ९९९ हजार विनियोजन गरिएको छ ।

आगामी बजेटमा नगरपालिकाले आन्तरिक आय ३६ करोड ८३ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १ अर्व ६९ करोड २८ लाख, संघीय सरकारबाट प्राप्त विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकारबाट प्राप्त समपूरक अनुदान १ करोड, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान २८ करोड १३ लाख र सामाजिक सुरक्षा कार्यक्रमका लागि ४० करोड रुपैयाँ संघीय सरकारबाट प्राप्त हुने उल्लेख गरेको छ ।

त्यस्तै संघीय राजश्व बाँडफाँडबाट १८ करोड ९८ लाख, संघीय वित्तीय सामानीकरण अनुदानबाट २४ करोड १२ लाख, कर्णाली सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट २ करोड ९९ लाख, प्रदेश राजश्वव बाँडफाँडबाट ६४ लाख, घर, जग्गा र मनोरञ्जनबाट १४ करोड ३६ लाख, दहत्तर वहत्तर शुल्कबाट २ करोड ५० लाख र चालु आर्थिक बर्षमा खर्च हुन नसकेको रकम १८ करोड ७४ लाख आय हुने बजेटले प्रक्षेपण गरेको छ ।

नगरले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारहरूको विकास, रोजगारीको सिर्जना, स्वच्छ खानेपानी तथा सरसफाई, उत्पादनमा आत्मनिर्भर नगर, गुणस्तरिय शिक्षा, विद्युतीय सुशासन, शहरी सौन्दर्य र आय आर्जनलाई प्राथमिकतामा राखेको छ ।

‘बजेटले पूर्वाधार निर्माण, सामाजिक न्याय, आधारभुत शिक्षा, स्वास्थ्य सेवामा पहुँच हुँनेगरी नगरपालिकाको सबै क्षेत्रको दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास लिएको छु’, उपप्रमुख खनाल भने ।

नगरपालिकाले कम्तीमा एउटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना हुने गरी प्रत्येक वडामा ९० लाख भन्दा बढीका पूर्वाधार विकास गर्ने नीति लिएको छ । युवाहरुको क्षमता विकास गरी उनीहरुलाई नगर समृद्धिको अभियानमा परिचालन गर्न भन्दै ‘नगर उपप्रमुख युवा विकास’ कार्यक्रम सञ्चालन गर्न लागिएको उपमेयर खनालले बताए । उक्त कार्यक्रमका लागि ४० लाख बिनियोजन गरिएको छ ।

त्यस्तै वीरेन्द्रनगरमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल १ करोड ४२ लाख ७५ हजार विनियोजन गरिएको छ ।

महिला किसान कार्यक्रम सञ्चालन गर्न १ करोड ६० लाख, उद्यम सहकारी तथा उपभोक्ता हितमा ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पतालमा ४ करोड ५ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

वीरेन्द्रनगरले कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गमा १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापनमा २ करोड ६४ लाख २० हजार विनियोजन गरिएको छ ।

सार्वजनिक सेवा तथा सुशासनमा २ करोड १७ लाख ४५ हजार र नगर स्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरेको उपप्रमुख खनालले बताए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?