+
+

सरकारले दक्ष र व्यावसायिक व्यक्तिलाई धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १९:००

१० अमसार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरूले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञासा राखेका थिए ।

जवाफमा पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतीकरणका लागि उपस्थित भएकाले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्नेबारे महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको जानकारी दिए ।

उनले दाबेदारमध्येबाट व्यावसायिक र दक्ष व्यक्तिलाई सरकारले छिट्टै बोर्ड अध्यक्ष नियुक्त गर्ने बताए ।

धितोपत्र ऐनमा स्पष्ट रुपमा पाँचमध्ये समितिले तीन जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भन्दै मन्त्री पुनले समितिले प्रस्तुतीकरणमा सहभागी भएका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनारायण श्रेष्ठमध्ये एकलाई, त्यसमा बाँकी तीनबाट एक जना थप गरेर वा सर्ट लिस्टमा परेका पाँचै जनालाई सिफारिस गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरिएको उल्लेख गरे ।

‘पूर्ववर्ती अर्थमन्त्रीकै समयमा सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थसचिव पदेन र एक जना विज्ञसहित तीन सदस्यीय समिति गठन गरेको रहेछ । समितिले अध्यक्ष छनोटका लागि आवेदनमा मागेकामा १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ५ जनालाई सर्ट लिस्ट गरिएको थियो । ५ जनामध्येबाट प्रस्तुतिका लागि बोलाउँदा दुई जना मात्र आउनुभएको थियो’, उनले भने ।

कानुनमा स्पष्ट रूपमा कम्तीमा पनि तीन जना योग्यहरूलाई सिफारिस गर्ने भनेकाले समितिले सरकारको कानुनी सल्लाहकार महान्यायधाधिवक्तालाई के गर्न सकिन्छ भनेर सोधेर पठाएको उनले जानकारी दिए ।

कानुनी राय आउने बित्तिकै समितिले सरकारलाई सिफारिस गर्ने र सरकारले त्यसबारे छिट्टै आवश्यक निर्णय लिने उनले बताए ।

धितोपत्र बोर्ड सेयर बजारको नियामक निकाय भएको र नियामक निकाय स्वतन्त्र तथा व्यावसायिक हुनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध र स्पष्ट रहेको उनको भनाइ थियो ।

बोर्ड अध्यक्ष नियुक्तिबारे सञ्चार माध्यममा विभिन्न स्वार्थ समूहको चलखेल भएको भन्दै आफू र प्रधानमन्त्रीसहित शीर्ष नेताको नाम जोडेर गरिएको प्रचारबाजी सत्य नभएको मन्त्री पुनले उल्लेख गरे ।

‘कुनै नेता विशेषले दबाब दिएका कुराहरू आएका छन् । यो सत्य होइन । व्यावसायिक रूपले दक्ष मान्छे नियुक्त हुन्छ भन्ने मेरो विश्वास छ’, उनले भने, ‘जति पनि आरोप र लाञ्छनाहरू छन् कति ठाउँमा शीर्ष नेताहरूलाई जोडेर, कति ठाउँमा मलाई र प्रधानमन्त्रीलाई जोडेर यो कुरामा सत्यता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?