+
+

निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको ऋण ६० खर्ब

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १९:३४

१० असार, काठमाडौं । निजी क्षेत्रले वित्तीय क्षेत्रबाट लिएको कुल कर्जा करिब ६० खर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थाको एकीकृत वासलातका आधारमा तयार पारेको वित्तीय क्षेत्र सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५९ खर्ब ६६ अर्ब पुगेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ उपादन (जीडीपी) ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान गरेको छ । वित्तीय क्षेत्रको कुल दाबी जीडीपीभन्दा धेरै हो । गत असार मसान्तमा ५७ खर्ब ७८ अर्ब रहेकोमा पुस मसान्त आउँदा यस्तो दाबी ३.२ प्रतिशतले बढेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार सुस्त देखिएकोमा गैरबैंकिङ वित्तीय संस्थाबाट समेत लगानी बढ्न नसकेको तथ्यांकले देखाएको छ ।

वित्तीय क्षेत्र सर्वेक्षणले बैंकिङ क्षेत्र मात्र नभई गैरबैंकिङ क्षेत्रमा पनि लगानी सुस्त रहेको देखाएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

केन्द्रीय बैंकले चालु आवबाट सुरु गरेको वित्तीय क्षेत्र सर्वेक्षणले त्यस्तो तथ्यांक देखाएको हो । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आव दोस्रो त्रैमासम्मको वित्तीय क्षेत्र सर्वेक्षणले वित्तीय क्षेत्रको कुल आन्तरिक दाबी ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रहेको ६ महिनामा १.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरूको कुल आन्तरिक दाबी बढ्दै जाँदा वित्तीय क्षेत्रको आन्तरिक दाबी बढ्दै गएको छ । तर, गैरबैंकिङ वित्तीय संस्थाको भने आन्तरिक दाबीसँगै निजी क्षेत्रमाथिको दाबी पनि घटेको सर्वेक्षणले देखाएको छ ।

वित्तीय क्षेत्रको दाबी कुल आन्तरिक दाबी जीडीपीको १२१.७ प्रतिशत पुगेको छ । वित्तीय क्षेत्रको नेपाल सरकार माथिको खुद दाबी घटे पनि निजी क्षेत्रमाथिको दाबीमा केही वृद्धि हुँदा आन्तरिक दाबी पनि केही बढेको हो ।

२०८० असार मसान्तमा वित्तीय क्षेत्रको नेपाल सरकार माथिको खुद दाबी १० खर्ब २५ अर्ब थियो । पुसमा आउँदा ८.३ प्रतिशतले घटेर ९ खर्ब ४० अर्बमा झरेको सर्वेक्षणले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी बढ्दा वित्तीय क्षेत्र सर्वेक्षणले वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी बढेको देखिन्छ । तर, गैरबैंकिङ वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी भने गत असारको तुलनामा पुसमा घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको अन्य वित्तीय संस्था सर्वेक्षणले उक्त तथ्यांक देखाएको छ । गत असारमा गैरबैंकिङ वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ८ खर्ब ७६ अर्ब थियो । पुसमा ४ प्रतिशतले घटेर ८ खर्ब ४० अर्बमा झरेको छ ।

अन्य वित्तीय संस्थाको आन्तरिक दाबी नै घटेको छ । २०८० असार मसान्तमा १८ खर्ब ९९ अर्ब रहेकोमा पुसमा आउँदा ०.६ प्रतिशतले घटेर १८ खर्ब ८७ अर्ब कायम भएको छ । अन्य वित्तीय संस्थाको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १३ अर्ब २ करोड रहेकोमा २०८० पुस मसान्तमा ३.२ प्रतिशतले बढेर १३ अर्ब ४३ करोड पुगेको छ । यस्तै सार्वजनिक गैरवित्तीय संस्थान माथिको दाबी ३३ अर्ब १२ करोडबाट बढेर ३३ अर्ब १४ करोड पुगेको छ ।

बढ्दै तरल दायित्व

वित्तीय क्षेत्रको तरल दायित्व ६ महिनामा ७.१ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा ५३ खर्ब ६८ अर्ब रहेको यस्तो दायित्व पुसमा आउँदा ५७ खर्ब ४९ अर्ब पुगेको छ । यस्तै वित्तीय क्षेत्रभन्दा बाहिर चलन चल्तीमा रहेको मुद्रा ५ खर्ब १३ अर्बमा ३.६ प्रतिशतले ५ खर्ब ३१ अर्ब पुगेको हो ।

पुससम्म वित्तीय क्षेत्रको माग निक्षेप ३ खर्ब ८२ अर्ब छ । गत असारमा ४ खर्ब ११ अर्ब रहेकोमा पुसमा आउँदा ७ प्रतिशत घटेको हो ।

यस्तै वित्तीय क्षेत्रको अन्य निक्षेप दायित्व भने ८.८ प्रतिशतले वृद्धि भएर ४८ खर्ब ३६ अर्ब पुगेको वित्तीय क्षेत्र सर्वेक्षणले देखाएको छ । २०८० असार मसान्तमा यस्तो निक्षेप ४४ खर्ब ४५ अर्ब ८१ करोड थियो ।

राष्ट्र बैंकले चालु आवबाट मात्रै सुरु गरेको ‘वित्तीय क्षेत्र सर्वेक्षण’ केन्द्रीय बैंक, निक्षेप संकलन गर्ने बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थाको वासलातको एकीकृत तथ्यांक हो ।

नेपालका सन्दर्भमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको वासलातका आधारमा बैंक तथा वित्तीय संस्था सर्वेक्षण तयार हुँदै आएको छ ।

सम्झौतित बचत परिचालन गर्ने वित्तीय संस्था, बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल पूर्वाधार विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लघुवित्त वित्तीय संस्थाजस्ता गैरबैंकिङ वित्तीय संस्थाको वासलातलाई एकीकृत गरेर अन्य वित्तीय संस्था सर्वेक्षण तयार हुने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?