+
+

बालेनविरुद्ध उभियो नगरसभा

उपमेयरको समन्वयकारी भूमिका

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असार १० गते २०:१८

१० असार, काठमाडौं । उसो त स्थानीय तहको नगरसभा र संघ/प्रदेशका संसदीय प्रक्रिया उस्तै हुदैनन्, तर काठमाडौं महानगरपालिकाको नगरसभामा सोमबार जुन दृश्यहरु देखिए, तिनले संसदकै पक्ष–प्रतिपक्षको झल्को दिन पुगे ।

स्वतन्त्र उम्मेदवारी दिएर ठूलो मतान्तरमा कांग्रेस, एमालेका उम्मेदवारलाई हराउँदै मेयर जितेका बालेनले सम्भवतः पहिलोपल्ट शक्तिशाली प्रतिपक्षको सामना गर्नुपर्‍यो ।

यसअघि पनि बालेनको शब्द र शैलीमाथि वडाध्यक्षहरुबाट छिटफुट आलोचना नभएका होइनन्, तर नीति तथा कार्यक्रममाथिको छलफलका बेला वडाध्यक्षहरुलाई बालेनले पार्टीगत रुपमै गरेको टिप्पणीप्रति काठमाडौैं महानगरपालिकाका नगर सभा सदस्यहरुले आक्रोश व्यक्त गरे । त्यो आक्रोश दलगत रुपमै व्यक्त भयो ।

राष्ट्रिय सभागृहमा भएको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयर बालेनको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् । बालेनले दुई साताअघि फेसबुकमा वडाध्यक्षहरुलाई कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका थिए ।

नगरको नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाएको बैठकमा तीन दलका नेताहरुले संयुक्त रुपमा संशोधन प्रस्ताव पेश गर्न खोजेका थिए । यसका लागि एक घण्टा समय माग्दा अस्वीकार गरेका मेयर बालेनले बैठक स्थगित गरे ।

लगत्तै उनले ती नेताले १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको भन्दै फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरको कुनै पनि नीति योजनाबारे छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ ।’

मेयर बालेनको त्यही स्टाटसमा सोमबार तीन दलका जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नविन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले दुई वर्षसम्म मिलेर काम गर्दा पनि आफूहरुलाई आरोपित गरेको गुनासो गरे ।

उनीहरुले आफूहरुले साझा रुपमा संशोधन प्रस्ताव तयार पारेको भन्दै सोमबारको नगरसभा बैठकमा पेश गरेका छन् ।

उनीहरुले मेयर बालेनको कार्यशैली र प्रतिक्रियालाई लिएर असन्तुष्टि पोखे । एमालेबाट निर्वाचित काठमाडौं–३२ का वडाध्यक्ष पराजुलीले आफूहरु दलको घोषणापत्र र चुनाव चिह्न लिएर जनतामाझ गएको र अहिले दल र जनताले चुनावमा गरेको वाचा पूरा गर भनेर भनिरहेको बताए ।

त्यसअनुसार साझा धारणा बनाउन एक घण्टा बैठक सारौं भन्दा मेयरले बैठक स्थगित नै गरेर स्टाटस लेखेको भन्दै उनले भने, ‘अन्तिम गाँसमा ढुंगो लागेको जस्तो । नमिठो जस्तो । जुन खालको स्टाटस आयो, त्यसमा दुःख लाग्यो ।’

यसअघि पनि आफूहरु तीन जनाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘के हामी निरंकुश नै हौं ? त्यसो हो भने २ वर्षसम्म गरेको कामलाई निरंकुश तानाशाही भनिदिनुपर्‍यो ।’

उनले नेताहरुको नाम लिंदै स्टाटस हाल्दा आफ्नो मर्यादालाई ख्याल गर्न समेत मेयर बालेनलाई आग्रह गरे ।

सम्बोधनका अन्तिममा वडाध्यक्ष नवराज पराजुलीले नारायणगोपालको भावुक गीत सम्झिए, ‘तिम्रो जस्तो मुटु मेरो पनि, नबोलाउ मलाई निष्ठुरी भनी ।’

एकीकृत समाजवादीबाट निर्वाचित डंगोलले मेयर बालेनको स्टाटसतर्फ इंगित गर्दै त्यसले आफूलाई निन्द्रा नलागेको बताए । उनले भने, ‘लेनदेन गरेको कुरा आयो, हामीले कहाँ लेनदेन गर्‍यौं तपाईं भनिदिनुस् मेयरसा’ब ?’

नीति कार्यक्रममा ४ दलको एक मत

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नवीन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले साझा संशोधन प्रस्ताव राखे जसमा अधिकांश नगरसभा सदस्यहरुले सहमति जनाए ।

काठमाडौं महानगरमा नेकपा माओवादी केन्द्रकी एकमात्र प्रतिनिधि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले मेयर बालेन शाहलाई प्रश्न गरिन्, ‘तपाईंले सिंहदरबार जलाउँछु भन्दै गर्दा महानगरपालिकाले दिएको जुन दरबार छ, त्यो दरबार जलाए भने त्यसको अवस्था के हुन सक्छ ?’

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले महानगरको दरबारमा रजगज गर्दै गर्दा महानगरवासीले तिरेको राजस्वबाट बनेको दरबार भएको स्मरण गर्न आग्रह गरिन् ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसको खण्डन गर्दै उनले कार्यपालिकामा छलफल नै नगरी नीति तथा कार्यक्रम प्रस्तुत हुनुले अरूको अधिकार हनन भएको बताइन् ।

कार्यपालिकामा पर्याप्त छलफल नगरी बलजफ्ती नगरसभामा नीति तथा कार्यक्रम ल्याएको भन्दै तीन जना वडाध्यक्षले ल्याएको साझा संशोधन प्रस्तावमा उनले सहमति जनाइन् ।

नो भेइकल जोनमा पनि बालेन एक्लै

न्यूरोडलाई ‘नो भेइकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाको प्रस्तावको विरोधमा मेयर बालेन साहविरुद्ध बहुमत देखियो ।

महानगर मेयर बालेनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ३८ नम्बर बुँदामा ‘सूचीकृत सम्पदा क्षेत्र लगायत नयाँ सडक (न्युरोड), हाँडीगाउँ जस्ता प्राचीन, पुरातात्विक र विशेष महत्त्वका क्षेत्रहरूलाई नो भेइकल जोनका रूपमा विकास गरिने छ’ भन्ने छ ।

तर, न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्तावमा भने प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।

न्यूरोड क्षेत्रमा नो भेइकल जोन बनाउने प्रस्तावविरुद्ध बहुमत रहेको वडाध्यक्षहरुले दाबी गरे ।

नीति तथा कार्यक्रममा बोल्ने अधिकांश नगरसभा सदस्यले न्युरोडको नो भेइकल जोन विरोधमा सहमति जनाए ।

उपमेयरको समन्वयकारी भूमिका 

नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरुले बोलिसक्दा नगरसभामा मेयर बालेन एकातर्फ र नगरसभा सदस्यहरु अर्कोतर्फ देखिएका थिए । तर उपमेयर सुनिता ड‌ंगोलले समन्वयकारी भूमिका खेलिन् ।

नेकपा एमालेबाट निर्वाचित भएकी उनले नगरसभामा सबैले आआफ्नो कुरा राखेपछि अब मिलेर अघि बढ्नुपर्ने बताइन् । नगरसभामा ध्रुवीकरणजस्तो देखिएको भन्दै उनले यसले सही ठाउँमा नपुर्‍याउने बताइन् ।

त्यसपछि उनले सबैले पदको मर्यादालाई ख्याल राखेर अभिव्यक्ति दिनुपर्ने बताइन् । ‘पदमा बसिसकेपछि पदको मर्यादालाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपाईं, म र हामी सबैले बनाउनुपर्छ । हामीले आफैंले नै उदाहरण बनाउन नसक्ने हो, मनमा जे–जे आयो बोल्ने हो भने कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रूपमा ल्याउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ’, उनले भनिन् ।

उपमेयर डंगोलले अगाडि भनिन्, ‘त्यसैले हामीले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्छ । सिंहदरबार जलाउनु ठीक हैन भने, काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठीक होइन । यस्ता अभिव्यक्तिहरू कदापि राख्नु हुँदैन ।’

नीति तथा कार्यक्रम पास नगरी बजेट

उपप्रमुख सुनिता डंगोल बोलिसकेपछि मेयर बालेनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरे तर नगर सभा सदस्यहरुले ३ वडाध्यक्षले राखेको साझा संशोधन प्रस्ताव पछि मात्रै पास गर्ने बताए ।

जवाफमा बालेनले यथासम्भव संशोधन प्रस्ताव समेट्ने जनाएपनि लिखित प्रस्तावलाई मौखिक जसरी यथासम्भव भनेर नहुने भन्दै विरोध भयो । मेयर बालेन, उपप्रमुख सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत छलफल गरे पछि बालेनले नीति कार्यक्रम पास नभई बजेट ल्याउने बताए ।

उक्त कुराको विरोध पछि प्रवक्ता नविन मानन्धरले नीति कार्यक्रममा पछि छलफल गरेर बजेट र कार्यक्रम एकैचोटी पास गर्न सक्ने सुनाएपछि सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?