+
+

कांग्रेस सांसदको प्रस्तावमा एमाले सांसदको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १७:१३

१० असार, काठमाडौं। मन्त्रालयको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रस्तावमा प्रमुख सत्ताघटक नेकपा एमालेका सांसदले समेत समर्थन जनाएका छन् ।

सोमबार प्रतिनिधि सभामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम थियो । तर, परराष्ट्रमन्त्री श्रेष्ठ इरान भ्रमणमा रहेका छन् ।

सभामुख देवराज घिमिरेले बिहान परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँ सम्हालेको जानकारी गराएका थिए ।

तर, मन्त्रालयत बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनका लागि परराष्ट्रमन्त्री श्रेष्ठको तर्फबाट उर्जामन्त्री शक्ति बस्नेतलाई जवाफ दिन समय दिइयो ।

त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले परराष्ट्र मन्त्रालयको सम्बन्धमा स्वयम परराष्ट्रमन्त्री जानकार हुने र परराष्ट्रमन्त्री नहुँदा कार्यभार सम्हालेका प्रधानमन्त्री नै जवाफ दिन आउनुपर्ने बताए ।

कार्यभार एउटाले सम्हाल्ने र जवाफ अर्कोले दिने विषय पनि आफैँमा नमिल्ने उनको तर्क थियो ।

त्यसपछि नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस सांसद खतिवडाको भनाइमा समर्थन जनाउँदै परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नहरुमाथि जवाफ दिने कार्यक्रम स्थगित गर्न आग्रह गरे ।

प्रतिपक्षी सांसदले भने अनुसार अर्को बैठकमा कार्यसूची सार्न आग्रह गरे ।

नेपाली कांग्रेसका अर्का सांसद प्रदीप पौडेलले पनि परराष्ट्रमन्त्रीले जवाफ दिने कायक्रम स्थगित गर्न आग्रह गरे ।

त्यसपछि सभामुख घिमिरेले परराष्ट्रमन्त्रीले जवाफ दिने विषयलाई कार्यसूचीबाट हटाइदिए ।

त्यसपछि रहेको कार्यसूची अगाडि बढाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?