+
+

झलनाथलाई माधवको प्रश्न : घनश्यामलाई अगाडि सार्नु भएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २०:४०

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आगामी महाधिवेशनबाट चयन हुने नेतृत्वबारे संवाद गरेका छन् ।

आइतबार साँझ बबरमहलस्थित एक होटलमा नेपालले खनालसँग नेतृत्व चयन केन्द्रित संवाद गरेका हुन् । स्रोतका अनुसार अध्यक्ष नेपालले अहिलेकै नेतृत्वलाई निरन्तरता दिएर जान प्रस्ताव गरेका थिए ।

‘बसौं, छलफल गरौं । समय बाँकी छ, अहिलेकै नेतृत्वलाई निरन्तरता दिएर जाँदा राम्रो हुन्छ,’ नेपालको प्रस्ताव थियो । यस्तो प्रस्ताव गर्दा उपाध्यक्षहरू राजेन्द्र पाण्डे र प्रमेश हमाल पनि सँगै थिए ।

सँगै, महासचिव घनश्याम भूसालले अध्यक्षमा दाबी गरेको प्रसंगलाई लिएर माधव नेपालले खनालसँग प्रश्नसमेत गरेका थिए । ‘घनश्यामलाई तपाईंले अगाडि सार्न खोजेको हो ? उहाँ (घनश्याम) एक्लै त पक्कै हौसिनु भएको होइन होला,’ खनाललाई माधवको प्रश्न थियो ।

तर अहिलेको नेतृत्वलाई निरन्तरता दिएर जाने प्रस्ताव अस्वीकार गरेका खनालले घनश्याम भूसाललाई आफूले अगाडि नसारेको बताएका थिए । ‘म आफैं अगाडि बढेको छु, किन मैले अरूलाई अगाडि सार्नु ?’, झलनाथले उल्टै प्रश्न गरेका थिए ।

खनालको जवाफपछि अध्यक्ष नेपालले आफूहरू दुवै जना विस्थापित गर्नेगरी पुस्तान्तरणको कुरा चलिरहेकोप्रति सचेत हुनुपर्ने बताएका थिए । ‘लामो समयपछि उहाँहरूबीच (माधव नेपाल र झलनाथ खनाल) कुराकानी भयो । थप कुराकानी अर्को बसाइँमा गर्नेगरी छुट्नु भएको छ,’ स्रोतले भन्यो ।

यो भेटवार्तापछि सोमबार बिहानै पूर्वप्रधानमन्त्री खनालले आफू निकट नेताहरूसँग छलफल गरेका छन् । आगामी १६–२० असारमा काठमाडाैंमा हुने दशौं राष्ट्रिय महाधिवेशन केन्द्रित छलफल गर्न आफ्नै निवास डल्लूमा निकटस्थ नेताहरूलाई बोलाएका थिए ।

यो भेलामा उपाध्यक्षहरू घनेन्द्र बस्नेत र जयन्ती राई, उपमहासचिव प्रकाश ज्वाला र डा. विजय पौडेल, सचिव जीवनराम श्रेष्ठलगायत सहभागी थिए । भेलाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेबारे छलफल गरेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?