+

पोखरामा राष्ट्रिय पुरुष हक्की सुरु, आर्मीको दोहोरो जित

२०८१ असार  १० गते २०:४६ २०८१ असार १० गते २०:४६
पोखरामा राष्ट्रिय पुरुष हक्की सुरु, आर्मीको दोहोरो जित

१० असार, पोखरा । विभागीय टोली त्रिभुवन आर्मीले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपको पहिलो दिनको खेलमा दोहोरो जित हात पारेको छ ।

नेपाल हक्की संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा सोमबारदेखि पोखरामा सुरु भएको प्रतियोगितामा पहिलो दिन ६ खेल भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

पहिलो दिन आर्मीले दोहोरो जित निकाल्दा घरेलु टोली गण्डकीले एकमा जित एकमा हार निकाल्यो । विभागीय टोली आर्मीले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दा बागमती प्रदेश विरुद्ध ८–० को फराकिलो जित निकाल्यो ।

कर्णाली विरुद्धको खेलमा आर्मीका दिपेन्द्र ऐरले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं, १२ औं र १३ औं मिनेटमा गोल गरे । यस्तै १४ औं मिनेटमा प्रदिप राजवंशी र २५ औं मिनेटमा अमर बहादुर गुरुङले गरे । खेलमा दीपेन्द्र प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै दीपेन्द्र राजवंशीले बागमती विरुद्धको खेलमा ४ गोल गर्दै प्लेयर अफ दि म्याच घोषित भए । अमरबहादुर गुरुङले २ गोल गर्दा राजेन्द्र कार्की र दीपेन्द्र ऐरले १–१ गोल गरे ।

त्यसअघि उद्घाटन खेलमा गण्डकी विभागीय टोली नेपाल पुलिस क्लबसंग ३–१ ले पराजित भएको थियो । पुलिसका सुरेशप्रसाद जोशीले १४ औं र १८ औं तथा रोमन रानाले ३० औं मिनेटमा गोल गरेका थिए । गण्डकीका लागि एक मात्र गोल खेलको २३ औं मिनेटमा पवन परियारले गरे । रोमन प्लेयर अफ दि म्याच बने ।

अर्को खेलमा घरेलु टोली गण्डकीले कोशी प्रदेशलाई ६–० ले पराजित गर्‍यो । गण्डकीको जितमा अशिम बाहेकले ह्याट्रिक गरे । उनले सातौं, १५ औं र २० औं मिनेटमा गोल गरे भने प्लेअर अफ दि प्लेयर समेत रहेका प्रेम विकले एक गोल गर्दा कुशल नेपालीले २ गोल गरे ।

प्रतियोगिता अन्तर्गत नै मंगलबार भएको खेलमा मधेश प्रदेश विजयी भएको छ । मधेशले बागमतीलाई ३–० ले पराजित गर्‍यो । अजय शाहले खेलको २ मिनेटमा नै मधेशका लागि खाता खोले भने सविर शेख र रुपेश राईले १–१ गोल गरे ।

यसैगरी लुम्बिनीलाई कोशीले २–० गोलले हरायो । लुम्बिनीका लागि मणिकुमार विश्वकर्मा र उत्तम चिमरियाले १–१ गोल गरे ।

प्रतियोगिताको उद्घाटनको अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले आफू सधैं खेलाडीहरुको सारथी बन्ने बताएका छन् ।

असार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टोलीसहित विभिन्न ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउने हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्माले जानकारी दिए ।

खेलकुद हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय