+

रोहितको सानदार ब्याटिङमा भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

२०८१ असार  १० गते २२:११ २०८१ असार १० गते २२:११
रोहितको सानदार ब्याटिङमा भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

९ असार, अमेरिका – कप्तान रोहित शर्माको सानदार ब्याटिङमा भारतले आईसीसी टी–२० विश्वकप २०२४ सुपर-८ मा अष्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ ।
सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।

मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट चुकेका थिए । त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए ।

ओपनर विराट कोहली शून्यमै आउट भएपनि दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए । पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।

सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न अष्ट्रेलियाले भारतलाई हराउनै पर्ने हुन्छ ।

आईसीसी टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय