+

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

२०८१ असार  ११ गते ०:०५ २०८१ असार ११ गते ०:०५
अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

९ असार, अमेरिका – भारतले आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन सक्यो । ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा आउट भए ।

भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले १-१ विकेट लिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।

मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट चुकेका थिए । त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए ।

ओपनर विराट कोहली शून्यमै आउट भएपनि दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए । पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।

सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

अव अफगानिस्तान र बंगलादेश सुपर- ८ को अन्तिम खेल भोली विहान खेल्नेछन् । उक्त खेलमा बंगलादेश झिनो अन्तरले विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा भने अष्ट्रेलिया बाहिरिनेछ । पहिलो पटक सेमिफाइनल खेल्न अफगानिस्तानलाई अन्तिम खेलमा जित पर्याप्त हुनेछ ।

आईसीसी टी२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय