+
+

विकिलिक्सका संस्थापक जुलियन असान्ज जमानतमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ८:५६

११ असार, काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट १९०१ दिनपछि रिहा भएका छन् ।

अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेपछि पक्राउ परेका उनी पछिल्लो समय बेलायतको जेलमा थिए ।

विकिलिक्सले मंगलबार बिहान जुलियन असान्ज जेलमुक्त भएको र आफ्नो देश प्रस्थान गरेको जनाएको छ । विकिलिक्सका अनुसार बेलायतको लण्डनस्थित अदालतबाट उनी जमानतमा रिहा भएका हुन् ।

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असान्ज सोमबार राति रिहा भएका हुन् । उनले गल्ती स्वीकार्ने र अमेरिकाको जेलमा बस्न नपर्ने सहमति अमेरिकी न्याय विभागसँग उनले गरेको समाचारमा उल्लेख छ ।

अष्ट्रेलियाई मूलका असान्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्ताबेजहरु सार्वजनिक गरेर विश्वभर सनसनी मचाएका थिए ।

खासगरी इराक र अफगानिस्तान युद्धको बारेमा अमेरिकी सैन्य रहस्य उनले उजागर गरेका थिए । यसलाई अमेरिकी सेनाको इतिहासमै सबैभन्दा ठूलो सुरक्षा चुकाइ भनिएको थियो ।

राष्ट्रिय सुरक्षा दस्ताबेज प्रकाशित गरेपछि जासुसी गरेको लगायतका १८ मामिलामा उनलाई अमेरिकी संघीय ग्राण्ड जुरीले दोषी ठहर गरेको गरेको थियो ।

असुरक्षा महसुस भएपछि उनी सात वर्षसम्म लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए । उनलाई सन् २०१९ मा लण्डनको उच्च सुरक्षायुक्त बेलमार्शको हिरासतमा राखिएको थियो ।

त्यहाँ उनले यौन उत्पीडनको आरोपसमेत खेप्नु परेको थियो । यद्यपि उक्त आरोप पुष्टि नभएपछि त्यसलाई खारेज गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?