+
+

वातावरण दिवस मनाउनेहरूको विरोधाभास

ब्यानर अगाडि उभिएर फोटो नखिचेसम्म र त्यो फोटो सामाजिक सञ्जालमा नराखेसम्म कुनै पनि कार्यक्रम सफल भए जस्तै नलाग्ने मानसिकता पनि धेरै मौलाइरहेको देखिन्छ।

आदित्य आचार्य आदित्य आचार्य
२०८१ असार ११ गते ९:५५

गत जून ५ तारिख अर्थात् जेठ २३ गते, यस वर्षको विश्व वातावरण दिवस धुमधामका साथ विश्वभरि मनाइयो। सन् १९७२ जून ५ तारिखका दिन संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम (युएनइपी) स्थापना भएको ठीक एक वर्षपछि विश्वव्यापी रूपमा वातावरण दिवस मनाउन सुरु गरिएको हो। यस वर्षको नारा थियो– हाम्रो जमिन हाम्रो भविष्य

सामाजिक सञ्जालहरूमा प्रेषित फोटो तथा भिडियोहरू हेर्दा थाहा हुन्छ कि नेपालमा पनि सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेर वातावरण दिवस मनाए। कतै सचेतना र्‍याली त कतै सरसफाइ र्‍याली आयोजना गरिएको थियो। कतै विद्यार्थी बीच वातावरण र त्यस दिवसको नारासँग सम्बन्धित रचनात्मक प्रतिस्पर्धाहरू आयोजना गरिएका थिए।

धेरै मात्रामा वृक्षरोपणका कार्यक्रमहरू आयोजना गरिएका थिए। धेरै थरीका कार्यक्रमहरू आयोजना गरिए पनि सामाजिक सञ्जालमा प्रेषित अधिकांश फोटो तथा भिडियोहरूमा एउटा साझा कुरा देखिन्थ्यो– विश्व वातावरण दिवसको अवसरमा आयोजित फलानो कार्यक्रम भनेर आयोजना गर्ने समूह, संस्थाको नाम, मिति, नारा आदि जानकारी सहितको, प्लास्टिकबाट बनेको ‘फ्लेक्स ब्यानर’।

थप रोचक कुरा चाहिं वातावरण संरक्षणकै क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाहरूले पनि त्यस्तै प्लास्टिकबाट बनेका फ्लेक्स ब्यानरहरू प्रयोग गरेका थिए। तिथिमिति, कार्यक्रमको विवरणहरू छापिएका ती फ्लेक्स ब्यानरहरू केही घण्टाका तिनै कार्यक्रमहरूमा प्रयोग भएपछि अरू केही काममा पनि प्रयोग हुँदैनन्, गरिंदैनन्।

एकदम छोटो समयको प्रयोगपछि ती सबै फ्लेक्सहरू ढिलोचाँडो फोहोर विसर्जन हुने ल्यान्डफिल साइटहरूमा पुग्छन् जसले जमिन, माटोमा प्रदूषणको मात्रा बढाउँछन्। अध्ययनहरूका अनुसार विश्वव्यापी रूपमा त वार्षिक दुई करोड टन प्लास्टिक फोहोरको रूपमा फालिन्छ जसले जमिन, जल, स्वास्थ्य, जैविक विविधता लगायत धेरै क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको हुन्छ।

इसिमोड नामक संस्थाले प्रकाशन गरेको एक तथ्यांक अनुसार नेपालमा सन् २०१८ मै दैनिक रूपमा औसत २.७ टन प्लास्टिकजन्य फोहोर उत्पादन भइरहेको देखिन्छ। एक वर्ष अगाडि, सन् २०२३ को वातावरण दिवसमा त अझ प्लास्टिक प्रदूषण निर्मूल पारौं भनेर प्लास्टिकबाटै बनेका फ्लेक्सहरूमा लेखिएको पनि देखिएको थियो। त्यो पनि वातावरण संरक्षणकै क्षेत्रमा काम गर्ने निकाय, संस्थाहरूबाट।

यो मुद्दा सार्वजनिक रूपमा उठाइनु किन आवश्यक छ भने, वातावरणमैत्री विकल्पको प्रवर्धनका लागि प्लास्टिक झोलाहरूको प्रयोग घटाउन प्रोत्साहन गर्ने, सचेतना फैलाउने संस्थाहरू आफैं चाहिं किन त्यही एकपटक मात्र प्रयोग गरेर फालिने फ्लेक्सको प्रयोग गरिरहेका छन् ? के उनीहरूलाई फ्लेक्स पनि प्लास्टिक नै हो भन्ने थाहा नभएको हो अथवा सर्वसाधारणले प्रयोग गर्ने झोला मात्र प्लास्टिकको हुनु नहुने तर आफूले प्रयोग गर्ने फ्लेक्स चाहिं जेबाट बनेको भए पनि राम्रो हुने हो ? अरूलाई वातावरणमैत्री जीवनपद्धति अपनाउन अर्ति दिनेहरू आफू चाहिं पहिला वातावरणमैत्री हुनुपर्दैन ?

यो वातावरण दिवस मनाउँदाको कुरा मात्र पनि होइन। जुनसुकै कार्यक्रम आयोजना गरे पनि एउटा फ्लेक्स ब्यानर छापिहाल्ने चलन जताततै मौलाउँदै गएको देखिन्छ। अनि त्यो ब्यानर सहितको फोटो खिचेर सामाजिक सञ्जालमा हालेपछि उक्त ब्यानर छाप्नुको औचित्य समाप्त हुन्छ।

फ्लेक्सका पनि अवगुणहरू मात्र त पक्कै छैनन् तर हामीले एकपटकको प्रयोगको लागि मात्र जसरी उपभोग गरिरहेका छौं त्यो चाहिं गलत छ। ब्यानर अगाडि उभिएर फोटो नखिचेसम्म र त्यो फोटो सामाजिक सञ्जालमा नराखेसम्म कुनै पनि कार्यक्रम सफल भए जस्तै नलाग्ने मानसिकता पनि धेरै मौलाइरहेको देखिन्छ।

जब प्लास्टिकको सट्टा कपडाको झोला बनाएर प्रयोग गर्न सकिन्छ भने त्यस्ता कार्यक्रमहरूको लागि ब्यानर पनि त कपडाकै बनाउन सकिन्छ जसरी पनि बनाउनै पर्ने बाध्यता छ भने। अरू काममा पुन: प्रयोग भएन भने पनि कम्तीमा कपडा त चाँडै कुहिन्छ र प्लास्टिकले जस्तो प्रदूषण फैलाउँदैन।

त्यस्तै गरी, सुविधासम्पन्न सभा हलहरूभित्र गरिने गोष्ठी सेमिनार जस्ता कार्यक्रमहरूमा त अझ प्रोजेक्टरकै प्रयोग पनि पर्याप्त हुन्छ। सचेतना र्‍यालीहरूमा पनि ब्यानर नै ब्यानर बोकेर हिंड्नुभन्दा त्यस्ता सचेतनामूलक सन्देशहरूलाई सामाजिक सञ्जालमै पनि फैलाउँदा हुन्छ।

केही सीमित व्यक्ति, संस्थाहरूले यी विकल्पहरूको पनि प्रयोग गरिरहेका देखिन्छन् जुन प्रशंसायोग्य छ। तर यो ज्यादै सीमित मात्रामा भएकोले अधिकांशले उनीहरूबाट सिक्नु र आफ्नो बानी परिवर्तन गर्नु आवश्यक छ। वातावरण संरक्षणको लागि भनेर काम गर्ने संघ–संस्थाहरूले चाहिं अझै बढी।

(काठमाडौं विश्वविद्यालयमा कार्यरत लेखकले युनिभर्सिटी अफ इस्टर्न फिनल्याण्ड र प्यारिस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वन र वातावरण विज्ञान विषयमा संयुक्त स्नातकोत्तर गरेका छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?