+
+

मकवानपुरमा जंगली च्याउ खाँदा एक सातामा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ११:१२

११ असार, हेटौंडा । जंगली च्याउ खाँदा मकवानपुरमा एक हप्तामा ३ जनाको मृत्यु भएको छ ।

विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी भएका थिए । जसमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

३ असारमा कैलाश गाउँपालिका-९ नामटारका विनोद लामालगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा बिरामी परेका उनको छोरा ४ वर्षीय दिपेश लामाको मृत्यु भएको छ । हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन लगिएका लामालाई परिवारले आफू खुशी घर लगेकोमा ८ असार साँझ बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

कैलाश-९ नामटारकी २५ वर्षीया निरुमाया रुम्बाको पनि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

निरूमायालाई उपचारका लागि ३ असारमा चितवन मेडिकल कलेज लगेकोमा ९ असारमा उपचार गराउन नसक्ने भन्दै मकवानपुरस्थित हेटौंडा अस्पतालमै ल्याएको थियो । उनको सोबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

राक्सिराङ गाउँपालिका-७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको ९ असारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भएको थियो । मृतक प्रजाको परिवारका अन्य चार जनाको अस्पतालमा उपचार जारी छ ।

उनकी श्रीमती ४५ वर्षीय जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, अर्की छोरी ८ वर्षीया सविना प्रजा र छोरा १० वर्षीय सुशल प्रजाको स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ ।

१० असारमा राक्सिराङ गाउँपालिका-८ लाचेका ४ जना जंगली च्याउ खाँदा बिरामी परेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी भण्डारीले बताए ।

७ असारमा जंगली च्याउ खाँदा मकवानपुरगढी गाउँपालिका-६ सानुसल्ले र ५ नम्बर वडाको कालिवन बस्ने ८ जना बिरामी भएका थिए । उनीहरू हेटौंडा अस्पतालमा उपचारपश्चात् घर फर्किइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?