+
+

म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरिएको भन्दै कांग्रेस सांसदले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ११:५९

११ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यवसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका हुन् ।

गत शुक्रबार सरकारले साउदी अरबको राजदूतमा खानसहित बिभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको थियो । त्यसमध्ये खानको सिफारिस स्वार्थ बाझिने गरी भएको सांसद यादवको दाबी छ ।

‘नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो । उनी (खान)गत जेठसम्म साउदी अरबमा श्रमिक पठाउने इसान ओभरसिजका सञ्चालक थिए । उनी लामो समयदेखि साउदी अरबमा (श्रमिक पठाउने) काम गर्दै आएका छन्’ यादवले भने, ‘जुन देशमा श्रमिक पठाउँदै आएको छ, जहाँ कारोबार भइरहेको छ त्यही देशको राजदूतको जिम्मेवारी दिँदा सोझै स्वार्थ बाझिने गर्छ ।’

सांसद यादवले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ मा राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी, अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको पनि स्मरण गरे ।

खानको सिफारिसपछि म्यानपावर व्यावसायी सशंकित भएको पनि उनले बताए । यादव भन्छन्, ‘म्यानपावर व्यावसायी आफैँ राजदूत भएर जाने भएपछि साउदीमा काम गर्ने म्यानपावर व्यावसायीहरु सशंकित भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?