+
+

एकीकृत समाजवादीको महासचिवमा चर्को प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १८:२४

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन नजिकिएसँगै नेताहरुको दौड बढेको छ ।

गत ५ असारमा प्रतिनिधि छनोट गरिसकेको एकीकृत समाजवादीभित्र केन्द्रीय नेतृत्व हत्याउनेगरी नेताहरुको दौडधुप बढेको छ ।

अध्यक्ष माधवकुमार नेपाल आफै नेतृत्वमा दोहोरिन चाहेका छन् । तर पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भूसालले पनि अध्यक्ष पदमा दावी गरेका छन् । त्यसैले माधव नेपाल सर्वसहमत अध्यक्ष बन्नेगरी दौडधुपमा छन् ।

माधव नेपाल जस्तै चाहनामा झलनाथ खनाल र घनश्याम भूसाल पनि छन् । अर्थात् सकेसम्म आफ्नै नाममा सर्वसहमति जुटाउन माधव, झलनाथ र घनश्याम सक्रिय छन् ।

प्रदेशअनुसार चयन हुने उपाध्यक्ष र सचिव पदबारे भने धेरै छलफल भएको देखिदैन । तर अध्यक्ष पछिको कार्यकारी भूमिका रहने महासचिव पदमा बलियो प्रतिस्पर्धा देखिएको छ ।

आगामी १६–२० असारमा हुने महाधिवेशनबाट महासचिव बन्न अहिलेका चारै जना उपमहासचिव आकांक्षी छन् । २०७८ भदौमा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगनाथ खतिवडा उपमहासचिव छन् ।

चार उपमहासचिव मध्ये खतिवडा जसरी पनि महासचिव बन्नेगरी सक्रिय भएका छन् । माधव नेपालको साथ पाएरै पार्टी प्रवक्ता र प्रचार विभाग प्रमुख रहेका खतिवडाले माधव नेपालले बनाउने प्यानलमा आफू महासचिव रहेको दावी गरिरहेका छन् ।

अरुले प्रचार गरेपनि जित्ने र माधव नेपालको महासचिव आफू भएको खतिवडाको दावी छ । खतिवडाको तुलनामा पौडेल, तुलाधर र ज्वालाको दौडधुप कम देखिन्छ । यद्यपि यी तीनै जना नेताहरुको प्रभाव पार्टीभित्र राम्रो छ ।

उपमहासचिवहरुसँगै रामकुमारी झाँक्रीलाई पनि महासचिव पदको बलियो दाबेदारका रुपमा हेरिएको छ । सचिवको भूमिकामा भएपनि झाँक्रीको प्रभाव पार्टीभित्र र बाहिर बलियो छ ।

राजतन्त्र अन्त्य गर्ने २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनबाट उदाएकी झाँक्रीले एकीकृत समाजवादी बनाउने संस्थापक नेताको परिचय बनाएकी छन् ।

२०७९ को चुनावमा राष्ट्रिय दलको मान्यता समेत पाउन नसकेको एकीकृत समाजवादीलाई बलियो शक्ति बनाउन झाँक्रीलाई महासचिव बनाउनुपर्ने लबिङ पार्टीभित्रै भइरहेको छ ।

झाँक्रीसँगै अर्का सचिव राजेन्द्र राईलाई पनि महासचिवको दाबेदारका रुपमा हेरिएको छ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राई युवा पंक्तिमा रुचाइएका नेता हुन् । त्यसैले उनलाई पनि महासचिवको दाबेदारका रुपमा हेरिएको छ ।

एकीकृत समाजवादीको महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?