+
+

एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी, निर्माणाधीन भवन ९ वर्षदेखि अलपत्र

प्रकाश सिंह प्रकाश सिंह
२०८१ असार ११ गते १४:००

११ असार, बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका २ मा रहेको देवस्थली माध्यमिक विद्यालयको निर्माणाधीन भवन ९ वर्षदेखि अलपत्र परेको छ ।

२०७१ सालमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको भवनको लागत २ करोड रुपैयाँ तोकिएको थियो । एकातिर निर्माणाधीन भवन अलपत्र छ भने अर्कोतिर पुराना भवन जीर्ण अवस्थामा पुगेको छ ।

२०७९ को असोजमा बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले भवन थप जीर्ण बनाएको देवस्थली माविका प्रधानाध्यापक लालबहादुर शाहीले बताए ।

देवस्थली माविमा प्रारम्भिक बालविकास (ईसीडी)देखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयको एक पक्की भवन र भूकम्पले जीर्ण बनेका दुई कच्ची टिनले छाएका भवन छन् ।

पर्याप्त कक्षा कोठा नहुँदा एउटै कोठामा दुईवटासम्म कक्षाका विद्यार्थी राखेर पढाउनुपरेको शाहीले बताए । उनका अनुसार विद्यालयमा कुल २१९ विद्यार्थी छन् । ‘जीर्ण भवनको एउटै कोठामा ईसीडी र एक कक्षाका विद्यार्थी पठाउनु परेको छ,’ प्रधानाध्यापक शाहले भने, ‘कक्षा २ र ३ विद्यार्थीलाई पनि एउटै कोठामा राखेर पढाइरहेका छौं ।’

ठेकेदारको लापरबाहीका कारण भवन समयमै बन्न नसकेको खप्तड छेडेदह गाउँपालिका २ का वडाध्यक्ष भक्तबहादुर बुढाले बताए । पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले चासो दिएको छैन । उनले भने, ‘यसबारे के गर्ने कार्यपालिका बैठकमा छलफल गरेर अगाडि बढ्छौं ।’ निर्माणाधीन भवनको काम सकिएपछि कक्षा कोठाको अभाव नहुने बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?