११ असार, काठमाडौं । पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ लगातार २ खेल जित्दै समूह ए बाट कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वस्थित कभर्ड हलमा मंगलबार भएको खेलमा कोशीले मधेश प्रदेशलाई २५–११, २५–१४ र २५–१२ को सोझो सेटले पराजित गरेको हो ।
आजको महिलातर्फको दोस्रो खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच भइरहेको छ ।
त्यस्तै पुरुषतर्फ आज दुई खेल हुनेछन् । पहिलो खेलमा सुदूरपश्चिम र मधेश प्रदेश भिड्नेछन् भने दोस्रो खेलमा कोशी प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
यसअघि कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ३–० को जित हात पारेको थियो । सात प्रदेश सम्मिलित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ २ समूहमा विभाजन गरिएको छ ।
महिलातर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, कोशी र लुम्बिनी प्रदेश रहेका छन् भने समूह बी मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
त्यस्तै पुरुषतर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । पुरुषको समूह बी मा लुम्बिनी प्रदेश, गण्डकी र कोशी प्रदेश रहेका छन् ।
असार १५ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4