+
+

भ्रातृ संस्थाका अध्यक्षलाई गगनको निर्देशन : अधिवेशन गर्न नसके घरतिर लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १६:१४

११ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाका अध्यक्षहरूले महाधिवेशन गराउन नसक्ने भए घरतिर लाग्न निर्देशन दिएका छन् ।

पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर यो अवधिभित्र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो अधिवेशन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले प्राप्त जिम्मेवारी पूरा नगर्ने भ्रातृ संस्थाका अध्यक्ष घर जानुपर्ने बताए ।

‘लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अधिवेशन गरिसकेपछि उहाँहरू (अधिवेशन नगर्ने भ्रातृ संस्था)ले केही भन्न पाउनुहुँदैन,’ थापाले भने,‘खुरुखुरु अधिवेशन गर्ने अधिवेशन गर्न नसके घरतिर लाग्ने । योभन्दा अरु उपाय केही पनि हुन्न ।’

भ्रातृ संस्थाहरूले अधिवेशन गर्ने छाँटकाँट भने आफूले नदेखेको उनले सुनाए । भ्रातृ संस्थाले अधिवेशन गराउन पाएको जिम्मेवारी पूरा नगरेर सभापति र महामन्त्रीलाई दोष लगाउने गरेको थापाले बताए । ‘सबैले दोष कसलाई लगाउनुभएको छ भने मौका पाउनुभयो कि पार्टीको सभापति खत्तम, महामन्त्री खत्तम अधिवेशन नै गर्न सकेन भन्नुभएको छ,’ थापाले भने ।

कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये महासमिति बैठकअघि मुस्लिम संघले अधिवेशन गरेको थियो । अधिवेशन गरेर नयाँ नेतृत्व चुन्नेमा दोस्रो लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनेको छ ।

२०६४ सालमा स्थापना भएको आदिवासी जनजाति संघले पहिलोपटक अधिवेशन गर्न लागेको छ । कांग्रेसले पार्टी निकट आदिवासी जनजातिहरूसँग सम्बन्धित सबै संस्थालाई संयोजन गरेर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?