+
+

इटहरीको बजेट जबर्जस्ती ल्याइयो, धरानमा रोकियो

हरि अधिकारी हरि अधिकारी
२०८१ असार ११ गते १६:३२

११ असार, विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको बजेट रोकिएको छ । इटहरी उपमहानगरपालिकाले प्रक्रिया नपुर्‍याइ जबर्जस्ती आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेको जनप्रतिनिधिहरूले बताएका छन् ।

धरानको बजेट सार्वजनिक गर्न सोमबार सैनिक भवनमा मञ्च तयार गरिएको थियो । तर बजेटमा कुरा नमिलेपछि नगर सभा बस्न सकेन ।

धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघाले नगर प्रमुख हर्कराज राईका कारण नगर सभा रोकिएको बताए । प्रमुखले प्रक्रिया नपुर्‍याएर अघि बढ्न खोजेको उनले बताए ।

‘बजेट अब प्रमुखज्यूले कहिले ल्याउनुहुन्छ, उहाँलाई मात्रै थाहा छ,’ बेघाले भने, ‘बजेटको अंक तोकिएको छैन, ब्रेकडाउन भएको छैन, नीति तथा कार्यक्रममा छलफल भएको छैन, घोषणा गरेर मात्रै हुन्छ र ?’

उनका अनुसार प्रमुख राई गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएका कारण बजेट अड्किएको हो । ‘उहाँले जहिले बजेट ल्याउने भने पनि प्रक्रिया पूरा गरेर ल्याउनुपर्छ, हाम्रो असहमति छैन,’ उनले भने, ‘कसैको जबर्जस्ती र हठले नगर सभा चल्दैन ।’ बेघाका अनुसार नगर प्रमुख राईले लचकता नअपनाउँदा उद्घाटनको तयारी भएको नगर सभा पनि रोकिन पुगेको हो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क राईले स्रोत तथा सीमा निर्धारण समितिको बैठक राखेका छैनन् । विषयगत समितिको बैठक पनि बसेको छैन ।

इटहरी उपमहानगरपालिकाले भने बहुमत सदस्यको अनुपस्थितिमा सोमबार राति बजेट ल्याएको छ । प्रक्रिया नपुर्‍याएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थिति भए पनि नगर प्रमुख हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड ५० हजारको बजेट प्रस्तुत गरेका थिए ।

उनले नगर सभामा पेस गरेको बजेटमा चालुतर्फ १ अर्ब ४१ करोड ३७ हजार, पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख १३ हजार विनियोजन गरेका छन् ।

इटहरी वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार कार्यपालिकाबाट पास नगरी प्रमुख पौडेलले जबर्जस्ती बजेट प्रस्तुत गरेका हुन् ।

‘राजस्व अनुमान समितिले अनुमान दियो, नगर प्रमुखको संयोजकत्वमा रहेको स्रोत तथा सीमा निर्धारण समितिले निर्णय गर्न सकेन । नसकेपछि कार्यपालिकामा जाने कुरा भएन,’ उनले भने, ‘कार्यपालिकाको बैठक नै बसेन, कार्यपालिका बैठकमा नलगी मेयरले एक्कासी सभामा बजेट लैजाने प्रयास गर्नुभयो । हामी केही समय विरोध गरेर घर लाग्यौं । उहाँहरूले राति बजेट ल्याउनुभएछ ।’

सुवेदीका अनुसार प्रस्तुत बजेटको अनुमान अस्वाभाविक छ । ‘हामीले ५६ करोड आन्तरिक आम्दानीको अनुमान गरेर ३ अर्ब १० करोडको बजेट प्रस्तुत गर्नुपर्छ भनेका थियौं, तर उहाँ (नगर प्रमुख) मान्नुभएन,’ उनले भने,‘

इटहरीमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । वडाध्यक्ष सुवेदीका अनुसार पालिकाको आन्तरिक आम्दानी ५६ करोडको अनुमान राजस्व समितिले दिएको थियो । तर प्रमुख पौडेलले बजेटको अंक बढाउनका लागि ९६ करोडको अनुमान प्रस्तुत गरे ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?