+
+
अनुभूति  :

बसको कुराइले देखाएको जिन्दगी

गीतु गैरे गीतु गैरे
२०८१ असार ११ गते १६:४१

महेन्द्र राजमार्गको मध्यभागको एउटा कुनामा म बसको प्रतीक्षामा थिएँ। गोधूली साँझसम्म म काम नै गर्दैथिएँ। गर्दागर्दै काम बीचमा छोडिहाल्न मिल्दैन। गर्दिनँ, हेर्दिनँ भनेर कर्तव्यबाट भाग्न पनि मिल्दैन। जेहोस् यसैउसै गरेर काम सकिसक्दा दिन अँध्यारोमा पसिहाल्यो।

अब प्रतीक्षा थियो सार्वजनिक बसको। किनकि म सार्वजनिक  बस  प्रयोग गरेर नै आवतजावत गर्थें। अलिक साँझ भइसकेको थियो। काम गर्दागर्दै बस पाइँदैन कि भन्ने भयले पिरोलेको थियो। बाटोमा आएपछि मेरा आँखाले बसलाई रुँग्दै बसे। मलाई प्रतीक्षा थियो त केवल एक सार्वजनिक बसको। त्यो पनि सक्दो छिटो, किनकि रात छिप्पिंदै थियो।

टाढैबाट बत्ती बलेको देखेपछि मेरा आँखा केही तन्किन्थे परसम्म। मेरो मुहार केही मात्रामा उज्यालिन्थ्यो। तर छिनभरमै मेरो मुहारको भावभंगीमा परिवर्तन आउँथ्यो। बस बाहेकका सबै सवारी साधन आए। तर बस आएन। हो कि भनेर टाढैबाट हात दिन्थें। तर ट्रकको आकृतिमा मात्र आँखा ठोक्किन्थ्यो।

तैपनि मेरा आँखा थाकेनन्। झिनो आशा बोकेर कुरिरहें। तर अहँ बस आएन। बत्तीले आश्वासन त दिन्थ्यो तर निराश बनाउँथ्यो। बेलाबेला म दिक्क हुन्थें, “ह्या यो पनि ट्रक रै’छ, टिप्पर रै’छ।”

फागुनको महिना थियो। सात बजे नै दिन ढल्किइहाल्थ्यो। घडीको सुई छिटोछिटो दौडिए जस्तो लाग्थ्यो। मैले हतार गरेर हुने केही थिएन। त्यसैले प्रतीक्षामा नै बसिरहें।

आधा घण्टासम्म न लामो दूरीको बस आयो न छोटो दूरीकै। एकाएक म आत्तिन थालें। घर कसरी पुग्ने? घरमा फोन गरेर भनूँ, लिन आउने कोही थिएन। वृद्धपथमा हिंडिरहेका बा–आमालाई फोन गरेर सुनाउनु उहाँहरूलाई दुःख दिनु नै थियो।

अब के गरूँ, म छट्पटिन थालें। अस्पतालमा बिरामीको चाप नभएको भए अलि छिटो निस्कन पाउथें। गाडी पनि समयमै आउँथ्यो होला। तर अरूलाई किन दोष दिनू! गर्छु भनेर बसेको त आफैं हो। जिम्मेवारीले थिच्छ, कर्तव्यबोधले गाँज्छ त म के गरू?

एकाएक मलाई मेरो अवस्थाप्रति रिस उठ्यो। सायद म मध्यमवर्गीय परिवारमा नजन्मेको भए वा कुनै खास जिम्मेवारी नभएको भए यसरी बस कुर्नु त पर्दैनथ्यो होला।

सायद म… म पनि …. कुनै ध…. ! अहो! सोच्दासोच्दै म कहाँ पुगिछु! पर पुगेको मन फर्काएर ल्याएँ वर्तमानमा।

फेरि काम गर्नु, सपना बुन्नु, अवसरलाई प्रयोग गर्नु, आत्मनिर्भर हुनु त मेरो चाहना हो। आखिर जीवनमा काम गर्नु सबैभन्दा ठूलो कुरा होइन र? काममै अभ्यस्त हुँदै जानु जीवनलाई सहज तुल्याउने काइदा पनि हो। जीवन बाँच्नु भनेकै इमानदार भएर कर्म गर्नु होइन र!

करिब पैंतालीस मिनेटको प्रतीक्षापछि मेरो मुहार केही उज्यालियो। बस आएजस्तो छ!

बस निकै भीडभाड थियो। पाइला राख्ने ठाउँ थिएन। कोही झर्ने मान्छे नै रहेछन्। त्यसैले बस रोकियो म कुरेरै बसेको चोकमा। म विश्वस्त भएँ, जसरी पनि यो बस त चढ्छु।

मान्छे ओराले पछि म चढ्नलाई केही छिटोछिटो पाइला सार्दै बसको ढोकाछेउ पुगें। बस विस्तारै गुडेजस्तो गर्न थालेपछि म पनि दौडिएँ। म दौडिंदै बसभित्र चढ्नै आँटेकी थिए, सहचालकले सोधिहाले– ‘कहाँसम्म? मैले उत्तर दिएँ– ‘यही प्रगतिनगर।’

नारायणगढ मात्रै चढ्नुहोस्, बीचकोलाई हाल्दिनँ। यति भन्दा नभन्दै बस त रफ्तारमा अघि बढ्यो। मेरो आँखै अगाडि बस निकै टाढा गइगयो। अलिक पर पुगेर छेलियो।

मलाई त हात परेको लड्डु खानै लाग्दा भुईंमा खसे जस्तो भयो। एक्कासी मेरा आँखा रसाए। र, फेरि आफैंलाई एकपटक घृणा गरें। मैले किन झूट बोल्न सकिनँ? म पश्चात्तापको भुमरीमा फनफनी घुमें। किन मैले बुद्धि पुर्‍याउन सकिनँ। मैले ढाँट्नुपर्थ्यो।

मेरो आदत झूट बोल्नु कहिल्यै भएन। यही मेरो कमजोरी भयो। समय परिस्थिति अनुरुप झूट बोल्न पनि जान्नुपर्ने रहेछ। सत्य नमर्ने गरी। मलाई अर्को दिव्य ज्ञान प्राप्त भयो।

मेरा आँखा ओभाएका थिएनन्। मलाई सहचालकसँग रिस उठ्यो। बरू पैसा मागेको भए दिने थिएँ, नारायणगढसम्मकै।

‘कस्तो बदमास मान्छे रै’छ, यसरी एक्लै केटी मान्छे यति राति बस कुरेको देख्दा पनि उसको मन पग्लिएन! कति संवेदनाहीन मान्छे। मैले मनमनै गाली गरें।

मनमा रिसको पारो चढ्दै थियो। मन अझै रोकिएन। सरापिरह्यो, ‘मानवता भन्ने कुरा बाँकी रहेनछ! उसको आकृति सम्झँदै मैले गाली गरे‌‍‍ एकछिन्। गाली के भन्नु गुनासो गरें।

मनभित्रको गाली अचानक मुखबाट पनि उम्किएछ! आफैंले सुनें त्यो। मुखबाट उम्कन थालेपछि भने म रोकिएँ।

घडीले आठ बजायो। तर अहँ गाडी आएन। मलाई कताकता डर लाग्न थाल्यो। डर के को थियो त्यो भने अमूर्त थियो। मलाई यस्तो लाग्न थाल्यो कि यो देशमा जन्मिएको नै दुःख पाउन हो। जन्मिए पनि किन बेलैमा देश छोडिनँ। आफैंलाई धिक्कार्न मन नलागेको पनि होइन।

आफ्नै देशमा पसिना बगाउँछु भन्दै किन राष्ट्रभक्त हुँदै बसें म? मनमा प्रश्न उभिइरह्यो…।

देशका सम्झिन सकिने र सम्झनुपर्ने नेताहरूलाई सम्झिएँ। गाली पनि गरें। आफैंले सुन्ने गरी।  सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नसक्नेले सिंगापुर र स्विट्जरल्यान्डको सपना बाँड्ने? झूटो आश्वासन बाँड्ने? ती आश्वासनलाई थु..थु.. पनि गरें।

विदेशमा बस्ने दिदीले त्यहाँको सुविधा सुनाएको सम्झिएँ। दिनैभरि रातैभरि सार्वजनिक बसको सुविधा। कति समयमा आउँछ भन्ने पूरै जानकारी मोबाइलमै आउँछ।

यहाँ त मलाई बस आउँछ आउँदैन पनि थाहा थिएन। नवलपुरको सदरमुकाम कावासोतीमा न ट्याक्सी चल्छ न अटोरिक्सा। जंगलपारि भएकाले अटोरिक्सा जान पनि मान्दैनन्। आग्रह, अनुनय-विनय नगरेको कहाँ हो र? तर नाइँ भनेर सबैले मुन्टो बटारे।

हरे शिव! यो कस्तो दशा! मेरो अवस्था !!

आशा पनि सकियो, आँसु पनि सकियो। अन्योलको भावमा मोबाइलको पर्दामा आँखा पुर्‍याउन के खोज्दैथिएँ, गाडी पो आइपुगेछ। कस्तो अप्रत्यासित। आशै मारेको कुरा आँखैअगाडि।

निराश मेरो आखाँबाट एकाएक खुसीको आँशु बग्यो।

बल्ल लामो सास फेरें। बसभित्र पसें।

चढ्नेबित्तिकै हेरेको त बसभित्र म मात्रै रहेछु। बाटोमा अरू मान्छे पनि भेटिएलान् भन्ने सोचेर ढुक्क हुन खोज्दैथिएँ तर कोही चढेनन्। सीजीसम्म मात्र जान लागेकोले बसले म बाहेक अरू यात्रु नै पाएन। हेर्दाहेर्दै जंगल नै आइपुग्यो।

मैले डर देखाइनँ, तर डराउँदै बसें। मुटुको धड्कन तेज–तेज भएको थियो। एकाएक मेरो मस्तिष्कले निकै नकारात्मक कुराहरू सोच्न पुग्यो।

समाचारका हेडलाइनहरू ज्वारभाटा झैं सलबलाइरहे। मस्तिष्कका तरंगहरू पनि उथलपुथल भए होला। घरी सम्झिन्थ्यो; पचहत्तर वर्षकी हजुरआमाको सार्वजनिक बसमा भएको जबरजस्ती करणी! घरी सोच्थ्यो– दश वर्षकी बालिकाको बलात्कारपछिको निर्मम हत्या!

मलाई मेरो माया लागेर आयो। ए भगवान्! यो कस्तो समय! कत्रो विरोधाभास जिन्दगीको। एकाएक मेलै पुनः एकपटक मेरो नियतिलाई धिक्कारें। सायद म छोरा भएर जन्मिएको भए, यो सब केही हुँदैनथ्यो। मैले कसैलाई गाली गर्नुपर्दैनथ्यो। सबैभन्दा ठूलो कुरा आफैंलाई धिक्कार्नु पनि त पर्दैनथ्यो। म यतै कतै बसिदिन्थें। या कसैसँग लिफ्ट मागेर पुग्थें। या अरू केही।

म घर जानु वा नजानुले पनि खास फरक अर्थ केही राख्दैनथ्यो। तर विडम्बना म छोरी थिएँ। किन? के? कसरी? कतिबेला? अहो! प्रश्नमाथि प्रश्न। म थाकिसकेकी छु। यहाँ त सपना देख्न पनि छुट छैन। आफू भएर बाँच्न पनि पटक–पटक समाजको स्वीकृति लिनुपर्छ। सास फेर्न पनि अनुमति माग्नुपर्ने यो कस्तो नियति!

अहो! के–के सोच्दा सोच्दै जंगल कटेछ। अलिकता राहत महसुस गरें। भाडा माग्न सहचालक दाइ आउनुभयो। मैले लाग्नेभन्दा केही बढी दिएँ। फिर्ता पर्दैन, राख्नु ल यति भनें। उहाँले मान्नुभएन।

धेरै किन लिनु ? जति लाग्छ त्यति लिने हो। बैनी राख्नुस्, अरूको श्रमको पाप लाग्छ भनेर मेरो हातमा थमाइदिनुभयो।

मभन्दा पहिला मेरो मन हाँसेछ। ओठको हाँसोले कृतज्ञता फर्काएँ।

यति सुनिसकेपछि मेरो डर हटिसकेको थियो।

अब त ओर्लने ठाउँ आइसकेको थियो। धन्यवाद भनेर गाडीबाट ओर्लिएँ।

लामो सास फेरें। अनि फटाफट घरतर्फ लागें।

घरको सँघार नकट्दै प्रश्न तेर्सियो बाबाबाटै। भन्नुभो– ‘किन ढिलो?’

‘बस त सजिलै पायौ नि!’ आमाले पनि सोध्नुभयो।

फेरि एकपटक मेरो आँखा रसायो। फ्रेस हुने बहानामा बाथरुम पसें।

लेखकको बारेमा
गीतु गैरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?