+
+

प्रशासनले टुंग्याएन मिटरब्याजको उजुरी, घरबाट निकालिए गजेन्द्रको परिवार

हरि अधिकारी हरि अधिकारी
२०८१ असार ११ गते १७:००

११ असार, विराटनगर । आइतबार विहान विराटनगर महानगरपालिका-१० का ६४ वर्षीय गजेन्द्रप्रसाद साहको घरमा नेपाल प्रहरी र नगर प्रहरीको टोली पुग्यो ।

घर खाली गर्ने सूचना जारी हुँदा पनि किन अटेर गरेको भन्दै नगर प्रहरीले घरभित्रको सामान जबर्जस्ती बाहिर निकाल्यो, साहका परिवारका सदस्यले हारगुहार गर्दा पनि प्रहरीले सामान घरबाहिर निकालिरह्यो ।

साँझपख भने मेयर नागेश कोइरालाले थप २१ दिनसम्म छाड्दिनू भन्ने निर्देशन दिएपछि नगर प्रहरी फिर्ता भयो । त्यसपछि प्रहरीले बाहिर निकालेको सामान गजेन्द्रले घरभित्र लगे ।

गजेन्द्रको परिवार आफ्नै घरबाट निकालिनुको कारण हो मिटरब्याज । कानुनी रुपमा हेर्दा त यो घरबाट उनको स्वामित्व गुमिसक्यो । यो घर अहिले उनले ऋण लिएका साहु सञ्जयकुमार करवाको नाममा छ ।

करवाले गजेन्द्र साहले घरको भाडामा नतिरेको भन्दै जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकामा उजुरी गरेपछि प्रहरी र नगर प्रहरी घर खाली गराउन आएको थियो ।

मिटरब्याजको फन्दा

१४ वर्षअघि गजेन्द्रकी पत्नी अनसुयादेवी तेलीले विराटनगर–१० स्थित १ कठ्ठा साढे १८ धुरमा बनेको एक तले घर अनिताकुमारी साहलाई धितो राखेर ८ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

अनिताले रकम फिर्ता मागेपछि गजेन्द्रले सञ्जयकुमार करवासँग २५ लाख रुपैयाँ ऋण लिएर अनिताको फिर्ता गरे । त्यसपछि अनिताको नाममा राखेको आफ्नो जग्गा १२ असोज २०६७ मा करवाको नाममा नामसारी गरिदिएको गजेन्द्रको भनाइ छ ।

करवाले ऋण दिँदा घरजग्गा आफ्नो नाममा नामसारी गरिदिनुपर्ने र घरभाडामा बसेको कागज पनि गर्नुपर्ने शर्त राखेका थिए । जसरी पनि ऋण लिनुपर्ने भएपछि नामसारी र घरभाडाको कागज गरेको गजेन्द्र बताउँछन् ।

गजेन्द्रले २५ लाखको ब्याज र सावा गरी २०७७ वैशाखसम्म १ करोड १२ लाख रुपैयाँ बुझाइसकेको हिसाब सञ्जयले नै लेखेर दिएका छन् ।

तर उनले घर फिर्ता गरेनन्, घर फिर्ता गर्न ३ करोड रुपैयाँ मागेको गजेन्द्रले बताए । गजेन्द्रले पैसा तिर्न नसक्ने बताएपछि १७ असार २०७७ मा आफ्नो घर खाली गर्न भन्दै सञ्जयले पत्र पठाए ।

पत्र पठाउँदा उनले घरको बहाल तिर्न पनि भनेका थिए । आफ्नै घरको भाडा तिरेर खाली गर्नु भनेपछि गजेन्द्र तनावमा परे । त्यसपछि उनले महानगरपालिकामा उजुरी गरे । सञ्जयले पनि घर खाली गराउन भन्दै उजुरी दिए । यो मुद्दा गजेन्द्रले हारे, सञ्जयले जिते ।

त्यसपछि करवाले निरन्तर घर खाली गर्न ताकेता गरे । गजेन्द्रले ५ जेठ २०७९ मा जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजीबाट पीडित भएको भन्दै उजुरी दिए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहका अनुसार गजेन्द्रले दिएको उजुरी छानविनकै क्रममा छ । तर आइतबार करवा घरखाली गर्न भन्दै नगरप्रहरी र नेपाल प्रहरी लिएर पुगे । गजेन्द्रकी श्रीमती अनुसुयादेवी तेलीले रोइकराई गर्दा नगर प्रहरी र नेपाल प्रहरीको टोलीले लछारपछार घरको सामान बाहिर निकालेर हिँड्यो ।

आइतबार सामान निकालेपछि हारगुहार गर्दा स्थानीय प्रशासनले घर खाली गर्न २१ दिनको थप समय दिएको छ । तर कतिबेला घरबाट लखेटिने हो टुंगो छैन । सहायक प्रमुख जिल्ला अधिकारी साह आइतबार घर खाली गर्न नगर प्रहरी पुगेको जानकारी पाएपछि मिटरब्याजको उजुरी छानबिनकै क्रममा रहेको पत्र आफूले दिएको बताए ।

गजेन्द्रलाई ऋण दिएका सञ्जय भने आफूले उक्त घरजग्गा अनिताकुमारी साहबाट २०६७ असोज १२ गते २६ लाख ११ हजार रुपैयाँमा किनेको दाबी गर्छन् ।

त्यसपछि उक्त घर गजेन्द्रलाई भाडमा दिएको उनको दाबी छ । आफूले दिएको कर्जाको साँवा ब्याज फिर्ता नगरेपछि जिल्ला अदालतमा दायर गरेको लेनदेनको मुद्दा पनि आफूले जितेको उनको भनाइ छ ।

गजेन्द्र भने ऋण तिर्दा सबै पैसा सकिएकाले साहु सञ्जयले मागेको थप रकम दिन नसक्ने बताउँछन् । ‘ऋण तिर्दा भएको सम्पत्ति सबै सकियो, अझै साँवा र ब्याज गरेर तीन करोड बाँकी छ भन्दैछन्’, उनले भने ।

महानगरपालिकाले २१ दिनभित्रमा घर खाली गर्नू भनेको भन्दै गजेन्द्रले भने, ‘वृद्ध अवस्थामा छोराछोरी लिएर कहाँ जाम ?’

मोरङमा दुई सय उजुरी

गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २२० भन्दा बढी मिटरब्याज पीडितले निवेदन दर्ता गराएका थिए ।

प्रशासनमा दर्ता भएका २२० मध्ये ५७ वटा निवेदन उपर दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमति नभएपछि अदालत पुगेको छ, १६३ निवेदन विचारधीन रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?