+

सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

२०८१ असार  ११ गते १८:०३ २०८१ असार ११ गते १८:०३
सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

तपाईं कस्तो सिरानीको प्रयोग हुन्छ ? कोहीलाई सिरानी अग्लो मनपर्छ, कोहीलाई होचो, अनि अति पातलो, कसैलाई भने अत्याधिक मोटो । कोहीको त सिरानी विनै सुत्ने बानी हुन्छ ।

धेरैलाई थाहा नहुनसक्छ, सिरानीले पनि हाम्रो निद्राको गुणवत्तामा सिधा प्रभाव पार्छ । यदि सिरानी सही परेन भने गर्दन दुख्ने लगायत अन्य स्वास्थ्य समस्या ल्याउन सक्छ ।

गलत सिरानी कस्तोलाई मान्ने ?

जुन सिरानी प्रयोग गर्दा सहज महसुस हुँदैन । सो सिरानीलाई गलत  मान्न सकिन्छ । सिरानी सबैलाई एकैनासको अनुकूल हुन सक्दैन । जसकारण सिरानी तौल र शरीरिक बनावट अनुसारको प्रयोग गर्नुपर्छ ।

किनकि सुत्दा हाम्रो गर्दन र टाउकोको बीचमा अन्तर (ग्याप) हुन्छ । सो अन्तरमा अट्ने गरी सन्तुलन ल्याउने काम सिरानीको हुनुपर्छ । यस्तोमा यदि सिरानी अत्याधिक अग्लो, अति होचो पर्‍यो भने त्यसले गर्दन र टाउकोबीचको अन्तर भर्न सकिंदैन ।

त्यस्तै, कडाखालको सिरानी छ भने पनि सन्तुलन नमिलेर समस्या ल्याउँछ ।

के कस्ता समस्या आउँछ ?

गर्दन तथा घाँटी दुखाइ : सुत्दा गर्दन, टाउको र मेरुदण्डलाई पनि एकै किसिमको सन्तुलन चाहिन्छ । यस्तोमा सिरानी अति अग्लो र अति होचो हुँदा गर्दनले कुनै ‘सपोर्ट’ वा सहयोग पाउँदैन । जसमा लगातार गर्दनमा दबाब पर्छ । र, गर्दन तथा घाँटीको मांसपेशी कडा भई समस्या आउँछ । जसले गर्दन तथा घाँटी दुख्ने समस्या बढाउँछ ।

अनिद्रा : यदि कुनै स्वास्थ्य समस्या छैन । र, दिमागमा कुनै कुरा खेलिरहेको छैन ।

तर पनि निद्रा लागेको छैन वा निदाएको केही समयपछि अचानक ब्युँझिने क्रम चलिरहन्छ भने सो समस्या गलत सिरानीको प्रयोगले पनि हुनसक्छ । सिरानी आफू अनुकूल नहुँदा यस्तो समस्या देखिन्छ ।

श्वासप्रश्वासमा समस्या : होचो सिरानीको प्रयोगले श्वासनलीमा पनि अवरोध आउने हुँदा सास पास हुन सक्दैन । जसले घुर्ने, घाँटी बज्ने, श्वास फेर्न गाह्रो हुनसक्छ ।

रक्त प्रवाहमा समस्या : खराब सिरानीले विशेषगरी गर्दन र वरिपरि अंगको रक्त सञ्चारमा समस्या आउँछ । जसले गर्दा हात पूरा लाटो हुने र निदाउने समस्या देखिन्छ ।

टाउको दुख्ने : यसले गर्दनदेखि टाउकोसम्म मांसपेशी कडा गराउन सक्छ । यसरी मांसपेशी कडा हुँदा रक्तसञ्चारमा समस्या आउँछ ।

जसले एक किसिमको तनाव पैदा गराई टाउको दुखाइसँगै माइग्रेनको जोखिम समेत बढाइदिन्छ ।

अनुहारको बनावटमा समस्या : कडा वा अग्लो सिरानीले अनुहारमा समेत दबाब पर्न गई अनुहार चाहुरिने वा छालाको समस्या ल्याउन सक्छ । जसमा छिटो अनुहार चाहुरी पर्ने र रेसाहरु देखिनसक्छ ।

कस्तो सिरानी प्रयोग गर्नुपर्छ ?

व्यक्तिको उचाइ र तौलअनुसार सिरानी प्रयोग गर्नु राम्रो हुन्छ । कम उचाइको व्यक्तिले कम उचाइको सिरानी प्रयोग गर्दा राम्रो हुन्छ ।  ५ फिटसम्म उचाइको व्यक्तिले ३ इन्चभन्दा कम उचाइको सिरानी प्रयोग गर्नुपर्छ ।

५-६ फिट उचाइको व्यक्तिले ३.५ देखि ४.५ इन्चसम्मको सिरानी प्रयोग गर्दा राम्रो हुन्छ । मानिसको सुत्ने तरिका र तौलअनुसार पनि सिरानी फरक हुनुपर्छ । विना सिरानी वा धेरै अग्लो सिरानी सुत्नु दुवै खराब हो, सानो ठिक्क नरम सिरानी प्रयोग गर्नु राम्रो हुन्छ ।

सिरानी सकेसम्म कपासको प्रयोग गर्दा राम्रो हुन्छ । र, जहिले पनि सिरानीको खोल मलमलको कपडा वा सुतीको प्रयोग गर्नु उत्तम हुन्छ ।

सिरानीको खोल कति दिनमा परिवर्तन गर्ने ?

सिरानीको खोल सकेसम्म दैनिक फेर्नु राम्रो हुन्छ । किनकि सुत्दा र्‍याल चुहिने, कपालमा तेल लगाउने, अनुहारमा कुनै प्रोडक्ट लगाउँदा सबैभन्दा बढी लाग्ने सिरानीको खोलमा हो । यस्तोमा सिरानी छिट्टै फोहोर हुन्छ । जहाँ फोहोर त्यहाँ हानिकारक ब्याक्टेरियाको संक्रमण हुने जोखिम हुन्छ ।

त्यसैले सकिन्छ भने दैनिक फेर्न सकिंदैन भने हप्तामा दुई पटक अनिवार्य सिरानीको खोल फेर्नुपर्छ ।

कसरी सुत्ने ?

सही सिरानी र सहज ओछ्यानले मात्र हुँदैन । सुत्ने तरिका पनि जान्नुपर्छ । जहिले पनि सुत्दा देब्रे कोल्टे परेर सुत्नुपर्छ । यसरी सुत्दा मुटुलाई कम चाप पर्छ । पाचनप्रणालीलाई भार कम हुन्छ र पाचनक्रियाको गति बढ्छ, जसले पाचनमा राहत दिन्छ । दायाँ कोल्टे पर्दा यसको विपरीत काम हुन्छ ।

दायाँ सुत्दा कलेजो, प्यान्क्रियाज र आन्द्राको स्थितिमा बाधा पुग्छ । यसले कलेजोलाई तलतिर झुकाउन दबाब दिन्छ । जसकारण कलेजोले राम्ररी काम गर्न सक्दैन । दाहिनेतर्फ सुत्दा ढाड दुख्ने र घाँटीसम्बन्धी समस्या आउन सक्छ । घुर्ने समस्या पनि बढ्छ ।

त्यस्तै, घोप्टो परेर सुत्नु हुँदैन । यसले शरीरको भार मुटुतर्फ ल्याउँछ । कम्मरमा पनि समस्या आउन सक्छ । सुत्दा ख्याल गर्नुपर्ने अर्को कुरा भनेको एउटै पोजिसनमा लामो समयसम्म सुत्नु हुँदैन । राति ब्युँझिएमा एकछिन आसन फेरेर सुत्दा राम्रो हुन्छ ।

सिरानी स्वास्थ्य
अकु. सुदर्शन बस्‍नेत
लेखक
अकु. सुदर्शन बस्‍नेत
अकुपञ्चरिस्ट

एनएचपीसी-बी ३ दुई दशकदेखि अकुपञ्चर, अकुप्रेसर, मोक्सीबस्टनको क्षेत्रमा कार्यरत, नयाँबानेश्वरस्थित सुस्वास्थ्य अस्पतालका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय