+

महिला खेलाडीलाई पुरस्कारमा विभेद

२०८१ असार  ११ गते १८:४९ २०८१ असार ११ गते १८:४९
महिला खेलाडीलाई पुरस्कारमा विभेद

११ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा हुन लागेको वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिताको पुरस्कारमा लैंगिक विभेद गरिएको खेलाडीले गुनासो गरेका छन् ।

प्रतियोगितामा पुरुष डबल्सतर्फ पहिलो हुनेलाई ५० हजार र महिला डबल्समा पहिलो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

काठमाडौं महानगरपालिका–६ को वडा कार्यालयको आर्थिक सहयोगमा असार १३, १४ र १५ गते हुने प्रतियोगितामा पुरुष डबल्स, महिला डबल्स र भेट्रान डबल्सको प्रतियोगिता हुनेछ ।

१३ औं सागमा कास्य विजेता खेलाडी सीता राईका अनुसार महिला र पुरुषको प्रतियोगिता दर्ता शुल्क समान भए पनि पुरस्कार रकममा विभेद गरिएको छ ।

‘यो लामो समयदेखि हामीले उठाएको मुद्धा हो तर सुनुवाइ हुँदैन । कि त प्रतियोगिता गर्नु हुँदैन गर्ने भए समान पुरस्कार दिन सक्नुपर्छ’, उनले भनिन् ।

आयोजक स्पोर्टस स्पेसल क्लबका अध्यक्ष अनिल देवकोटाले भने बजेट अभावका कारण पुरस्कार रकम असमान भएको बताए । ‘पुरस्कार रकममा असमानता हुनु हाम्रो गल्ती हो । यसलाई हामी दोस्रो संस्करणबाट सच्याउने प्रयास गर्नेछौं’, उनले भने ।

उनका अनुसार सुरुमा पुरुषहरुको मात्र प्रतियोगिता गर्ने छलफल भएको थियो । तर समावेशी बनाउन महिला डबल्स इभेन्ट पनि थप गरिएको देवकोटाले बताए ।

खेलाडी सीता भने यो पुरस्कार रकमले खेलाडीलाई प्रतियोगिता खेल्न आउने यातायात खर्च पनि नपुग्ने बताउँछिन् । ‘उनीहरुलाई आउने जाने खर्चसमेत पुग्दैन । टाढाबाट आउने खेलाडीमाथि यो अन्याय हो’, उनले अनलाइनखबरसँग भनिन् ।

यस्ता प्रतियोगितामा वरियतामा १० भन्दा बाहिर रहेका खेलाडी खेल्न पाउँछन् । नेपाल ब्याडमिन्टन संघको डबल्सको ११ औं वरियतामा रहेकी सीता राई र सम्झना शर्माको जोडी रहेको छ । तर पुरस्कार रकमका कारण यो प्रतियोगिता नखेल्ने उनको भनाइ छ ।

महिला खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय