+
+

महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध

रासस रासस
२०८१ असार ११ गते २०:२४

११ असार, वेदकोट । बोरामा माटो भरिएको छ । बास जोडेर जालीझै बनाइएको संरचना नदीमा गाडिएको छ । केही जाली महाकाली नदी नजिकै तयारी अवस्थामा छन् । कोही तार कस्दैछन् त कोही माटो राखिएका बोरा जालीमा भरान गर्दैछन् ।

कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरमा केही दिनयता स्थानीय यसरी नै जैविक तटबन्ध निर्माणको काम गरिरहेका छन् । महाकाली र जोगबूढा नदीले घेरेर बाढी तथा कटानको जोखिममा रहेको कुतियाकबर बस्ती जोगाउन जैविक तटबन्ध निर्माणकार्य भइरहेको हो ।

दोधारा चाँदनी नगरपालिकाको रु दुई लाख ९५ हजार र अन्य केही संघसंस्था र स्थानीयको सहयोगमा जैविक तटबन्ध निर्माण भइरहेको स्थानीय ऐनबहादुर सुनारले बताए ।

‘कटानको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण भइरहेको हो । बर्सातमा महाकाली उर्लेर आउँछ, कटान गरेर खेतीयोग्य जमिन बगाएर लैजान्छ’, उनले भने । ‘जैविक तटबन्धले केही हदसम्म कटान रोक्ने विश्वाससहित यो काम गर्दैछौँ ।’ उनका अनुसार दुई साताभित्र जैविक तटबन्धनको काम सम्पन्न हुनेछ ।

कुतियाकबरबासीले महाकाली नदी र जोगबूढा नदीमा आउने बाढी र कटानले हरेक वर्ष सास्ती भोग्दै आएका छन् । यहाँ पक्की तटबन्धन नहुँदा अधिकांश नागरिकको खेतीयोग्य जमिन कटान गरेर बगर भएको छ ।

स्थानीय प्रेमबहादुर कार्कीले पक्की तटबन्धन निर्माणका लागि बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । ‘महाकालीमा पक्की तटबन्ध निर्माण गरिनुपर्छ भन्ने कुतियाकबरवासीको एउटै माग हो । यसका लागि सम्बन्धित निकायमा धेरै धायौँ तर हाम्रो माग कसैले सम्बोधन गरेनन्’, उनले भने, ‘पक्की तटबन्ध निर्माण भए थप कटान हुन्थेन । समस्याको दीर्घकालीन समाधान पनि हुन्थ्यो ।’

पक्की तटबन्ध निर्माण नगर्दा बर्सेनि अस्थायी तटबन्ध बनाएर बजेट खेर गइरहेको उनको भनाइ छ । ‘पक्की तटबन्ध छैन, थोरै भए पनि कटान रोकथाम हुन्छ कि भनेर हरेक वर्ष यसैगरी अस्थायी तटबन्ध बनाउछौँ तर बगेर खेर जान्छ । योभन्दा त एकमुष्ट पक्की तटबन्ध गरेर नागरिकको समस्या समाधान र सरकारको बजेटको सदुपयोग गरे हुन्थ्यो नि’, उनको सुझाव छ ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले स्थानीय तहको बजेटले मात्रै महाकालीमा पक्की तटबन्धन निर्माण गर्न नसकिने बताए । पक्की तटबन्धन निर्माणका लागि प्रदेश र सङ्घ सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

‘हाम्रो बजेटले मात्रै पक्की तटबन्ध निर्माण गर्न सकिँदैन । कटान रोकथामका लागि पक्की तटबन्ध नै अन्तिम विकल्प हो । यसमा प्रदेश र सङ्घ सरकारले गम्भीर बन्नुपर्छ’, उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?