+
+

नेवानि अध्यक्ष अधिकारी सहित पाँचलाई काम गर्न उड्डयन प्राधिकरणको रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते २०:२२
फाइल तस्वीर

११ असार, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालका लागि काम गर्न रोक लगाएको छ ।

उड्डय सुरक्षामा गम्भीर खेलाँची गरेको भन्दै प्राधिकरणले निगमको ‘एकाउन्टेबल म्यानेजर’ रहेका कार्यकारी अध्यक्ष अधिकारीलाई अर्को निर्णय नभएसम्मका लागि काम गर्नबाट रोक लगाएको हो ।

प्राधिकरणका अनुसार निगमले आफूसँग रहेका दुईवटा ‘वाइड बडी’ जहाजमध्ये ‘ए३३०–२००’ सिरिजको दर्ता नम्बर ‘९एन–एएलवाई’ जहाज नियमित मर्मत (सी–चेक) गर्न विनाअनुमति युरोपको इटाली लगेपछि एकाउन्टेबल म्यानेजर अधिकारीलाई कारबाही स्वरूप काम गर्न रोकिएको हो ।

‘उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि निगमका एकाउन्टेबल म्यानेजरलाई अर्को निर्णय नभइन्जेल काम गर्न रोक लगाएका छौं,’ प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले अनलाइनखबरसँग भने, ‘एकाउन्टेबल म्यानेजरसँगै अन्य चार उच्च अधिकारीहरूलाई पनि काम गर्न रोक लगाएका छौं ।’

प्राधिकरणका अनुसार वायसेवा कम्पनीहरूले जहाज मर्मत गर्न लैजाने विदेशका कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिएको हुनुपर्ने प्रावधान छ ।

तर, प्राधिकरणबाट अनुमति नै नपाएको इटालीको एटिटेक भन्ने जहाज मर्मत कम्पनीमा निगमले आफ्नो वाइड बडी जहाज मर्मत गर्न लगेको छ ।

अनुमति नलिएको कम्पनीमा अनुमतिविना जहाज लगेर उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको प्राधिकरणको ठहर छ ।

निगमले त्यही कम्पनीमा जहाज मर्मत गर्न लानु थियो भने विगतमै त्यो कम्पनीले अनुमति लिएको भए कुनै समस्या हुने थिएन भन्ने प्राधिकरणको भनाइ छ ।

निगमले इटालीमा जहाज छाडेर आएको छ भने त्यहाँ निगमका कोही पनि प्रतिनिधि छैनन् । त्यसबाट पनि प्राधिकरण चिढिएको हो ।

यहाँबाट वाइड बडी जहाज उडाएर लाने क्याप्टेनहरू महेश्वरमान डंडोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई पनि अर्को निर्णय नभएसम्म काम गर्नबाट रोकिएको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?