+

एन्फा अध्यक्षको प्रस्ताव : म दुई कदम पछि हट्छु, तपाईंहरु एक कदम हट्नुस्

२०८१ असार  ११ गते २१:०१ २०८१ असार ११ गते २१:०१
एन्फा अध्यक्षको प्रस्ताव : म दुई कदम पछि हट्छु, तपाईंहरु एक कदम हट्नुस्

११ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले एन्फा भित्र एकता कायम गर्न नसक्नु फ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।

मंगलबार फुटबलर्स मिसन टुगेदरले राष्ट्रिय टिमका पूर्व खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले पूर्व खेलाडीहरु एकजुट भएको देख्दा आफूलाई आरिस लागेको र एन्फामा त्यो एकता हुन नसकेको बताए ।

‘राज्यले, एन्फाले गर्नुपर्ने काम तपाईंहरूले गरिरहनुभएको छ । यो संस्थाको एकता देख्दा मलाई आरिस लाग्छ र एन्फामा त्यो एकता किन हुदैन भन्ने लाग्छ’, नेम्वाङले भने, ‘तर हामी जुन व्यवस्थापकीय जिम्मेवारीमा बसेका साथीहरुमा एकता हुन नसक्नु मेरो पनि कमजोरी ठानेको छु ।’

२०७९ असार ६ गते एन्फा अध्यक्ष निर्वाचित भएका नेम्वाङले सबै पक्षलाई मिलाएर अघि बढ्ने बताए पनि त्यसको दुई वर्ष बित्दा एन्फामा झन् धेरै विवादहरु देखिएको छ ।

नेम्वाङको नेतृत्वले जुन काम गर्ने वाचा गरेको थियो त्यो भन्दा ठीक उल्टो गतिमा एन्फा अघि बढिरहेको छ । पूर्वखेलाडीहरु, क्लबका पदाधिकारीहरु र वर्तमान खेलाडीहरु भेला भएको अवसरमा अध्यक्ष नेम्वाङले आफ्नो गल्ती स्वीकार गर्दै अब नेपाली फुटबलको विकासका लागि सबै जना एकजुट भएर अघि बढ्नुपर्ने भएका छन् ।

‘मैले जहिले पनि भन्ने गरेको छु एकतामै बल हुन्छ र एकतामै विकास हुन्छ । त्यसैले म आजको यो मौकामा नेपाली फुटबलका सुन्दर इतिहास लेख्न सफल अग्रज प्रशिक्षक, खेलाडी र वर्तमान खेलाडीहरुको साक्षी राखेर के भन्न चाहन्छु भने फुटबलसँग प्रत्यक्ष रुपमा जोडिएका क्लब जिल्ला सबै जना मिलौँ । हामीले चाहँदा नेपाली फुटबलको विकास गर्न हामी सक्षम छौँ,’ नेम्वाङले भने ।

अध्यक्ष नेम्वाङले नेपाल अहिलेसम्म फिफा वरियतामा सबैभन्दा माथि १२४ औं स्थानमा रहँदाका खेलाडीहरु पनि यही उपस्थित भएको भन्दै कुनै समय नेपाल २००औं स्थान छेउछाउ पुगेको बताए । अहिले नेपाल वरियतामा १७५ औं स्थानमा छ ।

पछिल्लो समय नेपालको पुरुष टिमको प्रदर्शनमा धेरै कमजोर भएको छ । महिला फुटबल टिमाले भने घरेलु प्रतियोगिता नहुँदा समेत अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्दै आएको छ ।

अध्यक्ष नेम्वाङले सबैले एकजुट भएर चाहने हो भने नेपाली फुटबल साफ मात्र नभएर एसियाली स्तरमै राम्रो गर्न सक्ने बताए । ‘हामीले चाह्यौं भने साफ र एसियालीस्तरमा मात्र नभएर महिला फुटबलमा त चाँडै विश्वकप खेल्ने टिम तयार गर्न सक्छौँ । त्यसैले हामी फुटेर होइन जुटेर अघि बढौँ’, उनको भनाइ छ ।

अध्यक्ष नेम्वाङले फुटबल विकासको निम्ति आफू दुई कदम पछि हट्न समेत तयार रहेको बताए । ‘नेपाली फुटबलको विकासको निम्ती मैले दुई कदम पछाडि हट्नुपर्छ भने पनि तयार छु । तपाईहरु पनि आउनुस एक कदम पछि हट्नुस्’, नेम्वाङले भने, ‘अब नेपाली फुटबल विकासमा एकजुट हुन तपाईँ हामीले ढिला नगरौँ । हामीसँग समय छैन ।’

यस्तै अध्यक्ष नेम्वाङले नेपाली फुटबलका हस्तीका माझ आफू सधैँ फुटबलको विकासको पक्षमा लागिरहेको र भविष्यमा पनि त्यही गर्ने बताए । ‘म आज के प्रतिवद्धता गर्न चाहन्छु भने हिजो पनि नेपाली फुटबलको पक्षमा लागिरहेँ, आज अध्यक्ष पदमा बस्दा पनि नेपाली फुटबलकै पक्षमा लागिरहेको छु । भविष्यमा पनि लागिरहने छु भन्ने म यहाँ प्रतिवद्धता गर्न चाहन्छु ।’

२०७९ असार ६ मा अध्यक्ष निर्वाचित भएपछि नेम्वाङले निर्वाचनमा पराजित भएकालाई समेट्ने र बिग्रेको सम्बन्ध सुधार्ने प्रतिक्रिया दिएका थिए ।

यस्तै मैदानमा साफ च्याम्पियनसिप जित्ने, आर्थिक पक्षलाई व्यवस्थापत गर्ने लगायत वाचा गरेका थिए । तर साफ च्यम्पियनसिपमा नेपालको पुरुष टिम समूह चरणबाटै बाहिरियो । निर्वाचनमा पराजित भएकालाई मात्र होइन आप्नै कार्यसमितिमा निर्वाचित भएकाहरुलाई समेत मिलाएर लैजान सकेनन् ।

नयाँ कार्यसमितिको पहिलो बैठकमै महासचिव र कोषाध्यक्ष नियुक्त गरेपछि सुरु भएको आन्तरिक विवाद अझै जारी छ ।

पछिल्लो सिजन ए डिभिजन लिग र बी डिभिजन लिग आयोजना हुन सकेको छैन ।  महिला फुटबलको राष्ट्रिय लिग हुन सकेको छैन ।

नेपाली फुटबलको पिरामिड संरचना नियमित सञ्चालन हुन सकेको छैन । खेलाडीहरु लगातार विदेश पलायन भइरहँदा पनि एन्फाले त्यसलाई रोक्ने कुनै ठोस निर्णय गर्न सकेको छैन ।

एन्फा पंकजबिक्रम नेम्वाङ फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय