+

जब डाक्टर तलबार लिएर मैदानमा उत्रिए …

२०८१ असार  १२ गते ६:२८ २०८१ असार १२ गते ६:२८
जब डाक्टर तलबार लिएर मैदानमा उत्रिए …

१२ असार,काठमाडौं । नेपाल फेन्सिङ संघको आयोजनामा भएको छैटौं राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा नेपाल आर्मी फेन्सिङ टिमका कप्तानको हैसियतले कर्नेल डा. मनिष थापाले टिम च्याम्पियनसको ट्रफी उचाले ।

त्रिपुरेश्वोरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको तीन दिने प्रतियोगितामा आर्मीका तरबारबाजहरू हाबी बने ।

प्रतियोगिताको दौरान तरबार बाज डाक्टरसाबलाई उनका टिमलगायत अरु टिमहरुले पनि हुटिङ गरेर साथ दिएका थिए ।

टिम कप्तानको भूमिकाले गर्दा खेलमा आफ्नो टिमको हारमा खेलाडीलाई सान्तवना र जितमा स्याबासी दिन डाक्टर थापा खेल अवधिभर व्यस्त देखिन्थे ।

डा. मनिष छैटौं राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपको व्यक्तिगत प्रतियोगितामा सेमी फाइनलसम्म पुगेका थिए । जहाँ उनी आफ्नै टिमका खेलाडी रघुबीरसँग पराजित भएका थिए ।

सेबर टिम इभेन्टमा भने  बागमती र एपीफका टिमलाई हराँदै आर्मीकातर्फबाट डा. मनिष थापा, उपेन्द्र शाही, दिपेश कार्की र रघुवीरसहितको बलियो टिमले स्वर्ण पदक जित्न सफल सफल भएको थियो ।

च्याम्पियनसिपमा आर्मीका खेलाडीले ६ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्दै टिम चम्पियन पनि जितेका थिए । यस्तै च्याम्पियनसिपमा आर्मी र अर्को विभागीय टोली एपीएफसँगै गण्डकी, कोशी, सुदूरपश्चिम र लुम्बिनी गरी ६ टिमको सहभागिता थियो ।

पेसाले चिकित्सक ४१ वर्षीय डा. मनिष थापा नेपाली सेना वीरेन्द्र अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट हुन् । उनले २०७९ सालमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ खेलको सेबर टिम विधामा स्वर्ण पदक जित्न सफल भएका थिए ।

जसले गर्दा उनका लागि चिकित्सक पेसा अलावा खेलकुदले पनि एउटा नयाँ परिचय दिएको थियो । फेन्सिङ खेल्न सुरु गरेको ५ वर्षमा नै राष्ट्रिय च्याम्पियन बन्नु नेपाली सेनाका कर्नेल डा. मनिष को लागि एउटा सपना पूरा भएजस्तै रहयो । यो उनको खेल जीवन को कोसे ढुड्‌गो बन्यो ।

२०८० साल चीनमा सम्पन्न एसियन गेम्सका लागि पनि डा. मनिष नेपालको छनोट प्रक्रियामा सहभागी थिए । जहाँ उनले दोस्रो चरणको बन्द शिविरमा आफ्नो स्थान बनाएका थिए ।

उक्त छनोटको दौरानमा उनले सशस्त्र प्रहरीका अनुभवी प्रतिद्वन्द्वीलाई हराउँदै आफ्नो स्थान बलियो बनाएका थिए । तर, चिकित्सकीय पेसा र खेललाई सँगसँगै लैजान कठिन रहेको कारण सो अवसरलाई उनले सफल बनाउन पाएनन् ।

चिकित्सक डा. मनिष थापा तरबार फेन्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय