+
+

पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलमा उडान अवतरण बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १२:३६
विराटनगर विमानस्थलको फाइल तस्वीर ।

१२ असार, विराटनगर । पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ ।

विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो ।

विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुन: सुरु हुनेछ ।

‘बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ’, उनले भने, ‘पानी रोकियो भने विमानस्थल खुल्छ ।’

उनका अनुसार बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो ।

२०७८ साल कात्तिकमा केसलिया खोलाको बाढी बास्ता खोला हुँदै विराटनगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।

३६ परिवार विस्थापित

निरन्तरको वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका ३६ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर महानगरपालिका-८ मा १० परिवार विस्थापित भएका छन् । प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।

विराटनगर महानगरपालिका-१९ सरदकार टोलमा पनि १० परिवार विस्थापित भएका छन् । वर्षाको पानीले निकास नपाउँदा उनीहरुका घर डुवानमा परेका थिए । उनीहरुलाई पनि स्थानीय शिवजी आधारभूत विद्यालयमा राखिएको छ ।

बुढीगंगा गाउँपालिका-१ शान्ति चोक र गैरीटोलका गरी १६ परिवार पनि विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा सरेको प्रहरीले बताएको छ ।

केसलिया खोला बस्तीमा पसेका कारण विराटनगर महानगरपालिका-१२ बखरीबाट विस्थापित भएकाहरुको उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रभावितको विवरण आइसकेको छैन ।

वर्षाका कारण परेको पानी निकास नहुँदा विराटनगर महानगरपालिका-३ मा रहेको प्रहरी चौकी बरगाछीको भाडाको घरमा पानी पसेको छ ।

विराटनगर-८ मा वडा प्रहरी कार्यालय हाटखोलाको ब्यारेक र खाना पकाउने ठाउँमा वर्षाको पानी पसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?