+
+
विचार :

महाधिवेशनबाट एकीकृत समाजवादीले पहिल्याउनुपर्ने बाटो

संविधानमा लेखिएको अधिकारको सूची र आफ्नो जीवनमा तालमेल नपाउँदा जुनसुकै बेला कम्पन ल्याउन सक्ने गरी समाजको ‘कोर’मा कुण्ठा र क्रोध मडारिएको छ।

ई. उमेश रूपाखेती ई. उमेश रूपाखेती
२०८१ असार १२ गते १४:१२

इतिहास, सङ्घर्ष र सङ्गठन निर्माणको आधार फरक भए पनि नेपालका मुख्य दलले हाल एकै प्रकारको व्यवहार गरिरहेका छन्। देशभर कतै पनि शासकीय शैलीमा खासै अन्तर पाउन सकिएको छैन। समाजवादी कोणबाट मूल्याङ्कन गरेर हेर्दा कुनै पनि दलबाट चुनाव जितेका स्थानीय तहका प्रमुखहरूले उदाहरणीय कार्य प्रदर्शन गर्न सकेका छैनन्। समान व्यवहार भएका पार्टीहरूलाई हामीले फरक नाममा देख्नु र व्यहोर्नु परिरहेको छ।

पार्टीहरूबीच दस्तावेजमा भेद भए पनि संगठन संरचना र कार्यप्रणालीमा फरक छुट्याउन गाह्रो भएकोले नेता, कार्यकर्ता, मतदाता र सर्वसाधारणले सबै जोगी उस्तै हुन् भनेर आलोचना गरिरहेका छन्। गर्वपूर्ण इतिहास भएका र तुलनात्मक रूपमा नैतिकवान् जीवन बाँचेका नेताहरूले आह्वान गर्दा समेत पार्टीहरूको संगठनप्रति जनताको ठूलो पंक्तिलाई आकर्षित गर्न सकिएको छैन।

नेपालका कम्युनिस्ट घटकले समाजवाद र साम्यवादी सपनाको प्रचारप्रसार सहित सङ्गठनको बीउ रोपेका हुन्। तिनैमध्येको नेकपा माले र नेकपा मार्क्सवादी मिलेर नेकपा एमाले बनेपछि नेपाली समाजमा कम्युनिस्टहरूको जनमतमा गुणात्मक वृद्धि भयो।

एमालेले २०४८ सालको चुनावमा हस्तक्षेपकारी विजय हासिल गर्‍यो र २०५१ को अल्पमतको सरकारका केही लोकप्रिय कार्य मार्फत सङ्गठन विस्तारमा छलाङ मार्न सफल भयो। त्यसैको जगमा २०७४ सालसम्म विभिन्न चुनावमा प्रभावशाली उपस्थिति देखाउन सफल भइरह्यो। तर प्रत्यक्ष/अप्रत्यक्ष रूपमा करिब तीन दशकदेखि सत्तामा रहेको, प्रगतिशील एजेन्डाहरूको जगमा बनेको त्यो पार्टीले मुख्यतः चुनावकेन्द्रित सङ्गठन संरचना बनाएको कारण घोषित एजेन्डाभन्दा फरक कार्य गरेर समाजमा थप विरोधाभास र जटिलता सिर्जना गराएको छ।

शक्तिशाली नेकपाकै नेतृत्व गर्न पाउँदा समेत एमालेले मुलुकलाई प्रगतिशील एजेण्डामा निर्णायक रूपले अगाडि बढाउन सकेन। एमालेले आफ्नो आन्तरिक जीवनमा आएको दक्षिणपन्थी अवसरवादको प्रभाव र चुनौतीलाई सही रूपमा पहिचान गर्न सकेको देखिंदैन। आजको एमालेको शैलीले आन्तरिक संगठन परिचालित हुने तर अपेक्षित परिणाम दिन नसकेर अन्तरविरोधमा फस्ने पुरानै रोगलाई मलजल गर्ने सम्भावना देखिएको छ।

‘जनयुद्ध’को जगमा देशव्यापी सङ्गठन विस्तार गरेको नेकपा (माओवादी केन्द्र)को सङ्गठन संरचना विघटन र पुनः गठन भएर आजको दिनमा आइपुग्दा पनि घोषित लक्ष्य प्राप्तितर्फ जाने सम्भावना देखिंदैन। गणतन्त्र घोषणाको समयमा देशव्यापी रूपमा प्रतिबद्ध कार्यकर्ता भएको माओवादी सङ्गठन गणतन्त्रपछिको १६ वर्ष (२०८१) मा आइपुग्दा एमालेको फोटोकपी संरचना बनाउन सङ्घर्ष गर्दैछ र सत्ताको केन्द्रमा रहनको लागि जुनसुकै प्रकारको सम्झौता गर्दै आइरहेको छ।

सामान्यतः दलहरूमा नेतृत्व विकासको स्वचालित र विश्वसनीय प्रक्रिया नभएको तथ्यले देखाउँछ। आवधिक निर्वाचनहरूमा उम्मेद्वार हुनका लागि केही सीमित गुटका मुख्य नेताको खल्तीमा भएको नाम भएको हुनुपर्छ। दलहरूले संस्थागत छलफलको सट्टा मुख्य नेताको इच्छा अनुसार निर्णय गर्छन्, व्यापारी र चन्दादाता प्राथमिकतामा छन्।

राज्य सञ्चालनको अवसर पाएका अधिकांशको जीवन अपारदर्शी छ। हरेक पार्टीभित्रै अस्वस्थ प्रतिस्पर्धा छ। अधिकांश राजनीतिक नियुक्तिमा नेताको वरिपरि घुम्ने गणेश प्रवृत्तिका मानिस, व्यापारी र नेताका नातेदारले अवसर पाउँछन्।

समाजको अधिकांश संरचनामा दलीय पहिचानको भद्दा उपस्थिति छ। अधिकांश युवाहरूलाई कमिसनमा लिप्त हुने भ्रष्ट–योद्धा बनाइएको छ। पार्टीका विभागहरू भक्तहरू तयार गर्ने मञ्चको रूपमा विकास गरिएको छ। पार्टीहरूले न अन्तरपार्टी समस्याको अध्ययन गर्छन् न त देशकै समस्याको अध्ययन गरेर वास्तविक समाधान खोज्छन्। मूलतः पार्टीहरूको संगठन संरचना र कार्यप्रणालीले भरोसायोग्य परिणाम दिनसकेको छैन।

नेपालमा पार्टीहरूको आन्तरिक संरचना र कार्यप्रणालीमै समस्या भएकोले अनेकौं जटिलता सृजना भएको देखिन्छ। पार्टीहरू आन्तरिक रूपमा समस्याग्रस्त हुने, समस्याग्रस्त पार्टीले सत्ता सञ्चालन गर्ने र जनमुखी परिणाम प्राप्त नहुने अवस्थामा समाजमा थप नैराश्यता उत्पन्न हुँदै जान्छ र यसले राष्ट्रिय क्षमतालाई समेत कमजोर बनाउँदै लैजान्छ। उपरोक्त समस्याबाट मुक्त हुने प्रतिबद्धता सहित पुनर्गठन भएको नेकपा एकीकृत समाजवादीले स्थापनाको ३३ महिनासम्म आइपुग्दा समेत पुराना विरोधाभासहरू बोकिरहेकोले महाधिवेशन मार्फत नयाँ बाटो पहिल्याउनु सान्दर्भिक हुन्छ।

 प्रस्थानविन्दु

१०औं महाधिवेशनमा प्रस्तुत गर्ने प्रयोजन तथा बहसको लागि सार्वजनिक गरिएको एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र नेपाली विशेषता सहितको समाजवादी कार्यक्रमको ‘मस्यौदा दस्तावेज’ आद्योपान्त अध्ययन गर्दा पार्टीको वर्तमान सचिवालय अझै पनि होशमा आउन बाँकी रहेको अनुमान गर्न सकिन्छ।

मस्यौदा दस्तावेजको व्याकरणीय शुद्धता र अन्य सम्पादकीय पक्ष अत्यन्त कमजोर रहेको छ। उदाहरणको लागि नेपालको भौगोलिक क्षेत्रफल समेत गलत लेखिएको सन्दर्भ लिन सकिन्छ। मस्यौदाको कुनै पनि खण्डमा सूचनाप्रविधिको विकासको कारण विकसित भएको पूँजीवादी शोषणको नयाँ स्वरूप र कृत्रिम बौद्धिकता प्रयोगको कारण समाजमा आइरहेको आधारभूत परिवर्तनलाई यथेष्ट स्थान दिइएको छैन।

राजनीतिक प्रतिवेदनले पहिल्याएको वैचारिक, राजनीतिक र संगठनात्मक कार्यभार, सांगठनिक प्रस्ताव अन्तर्गत केलाइएका आन्तरिक समस्या, चुनौती एवं समाधानको उपायहरू तथा नेपाली विशेषताको समाजवादी कार्यक्रमभित्र स्पष्ट पारिएको नेपाली क्रान्तिको बाटो एवं क्रान्तिको कार्यदिशा तथा तीन प्रमुख सम्बलहरू यस दस्तावेजको महत्वपूर्ण निष्कर्षहरू हुन्।

यसभित्र जनताको बहुदलीय जनवादी कार्यक्रमको राजनीतिक लक्ष्य प्राप्त भएको तर आर्थिक तथा सांस्कृतिक लक्ष्यमा काम गर्न बाँकी रहेकोले समाजवादी कार्यक्रममा दुईवटा लक्ष्यको निरन्तरता रहनेछ भनिएको छ। तर दस्तावेजले नेपाली समाजको चरित्रलाई सही रूपमा ठम्याएको भए पनि समाजवादी क्रान्तिको लागि आवश्यक पर्ने पत्यारिलो कार्यक्रम दिनसकेको देखिंदैन।

शीर्ष नेतृत्व, विशेषगरी सम्मानित नेता झलनाथ खनालबाट नेपाली विशेषताको समाजवादी कार्यक्रमको प्राधिकार आफूमा रहेको दाबी तथा महासचिव घनश्याम भुसालबाट नयाँ विचारको नेतृत्व गरिरहेको दाबीको बीच अध्यक्ष माधवकुमार नेपालबाट पछिल्लो दिनमा मस्यौदा दस्तावेजको महिमामण्डन गर्ने शैलीमा आएको अभिव्यक्तिले कार्यकर्ताहरूलाई रिंगटा लाग्ने अवस्था सृजना भएको छ। मस्यौदा दस्तावेज यति भद्दा छ कि यसका कतिपय हरफहरू सम्पादन गरेर हटाइदिए हुन्छ।

अघिल्लो बुँदाको सम्बन्ध पछिल्लो बुँदासँग नभएको र शीर्षक/उपशीर्षकभित्र संगति नभएका विषयमा हरफहरू लेखिएका अनेकौं उदाहरण छन्। नेपाली विशेषताको समाजवादी कार्यक्रमको ठोस रूप पूरा पढिसकेपछि एकीकृत समाजवादीकै नेतृत्वमा समाजवादी क्रान्तितर्फ अगाडि बढिएला त भनेर प्रश्न उठाउन सकिने प्रशस्त ठाउँ छ।

दस्तावेजमा समाजवादी राज्यव्यवस्थाको परिकल्पना गर्दै उद्योग, कृषि तथा पशुपालन, सिंचाइ सुविधा, वैज्ञानिक नापी र भूमिको विकास, शिक्षा, स्वास्थ्य, जलस्रोत र ऊर्जा, यातायात, हवाई, जलमार्ग, पर्यटन, सूचना तथा संचार, खेलकुद, जेल सुधार, राष्ट्रिय वन तथा वातावरण, खानेपानी, पारवहन, हिमालय संरक्षण, प्रकोप व्यवस्थापन, वैज्ञानिक अन्वेषण र अन्तरिक्ष विकास, सुशासन, शहर, सेना, न्यायप्रणाली, सामाजिक सुरक्ष, धार्मिक स्वतन्त्रता, छुवाछूत, जाति र भाषा, समाजवादी संस्कृति र विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा ‘गरिनेछ’ वाला बुँदाहरू राखिएको छ।

उपरोक्त खण्डहरू अध्ययन गर्दा समाजवादी कार्यक्रमको ठोस रूपहरू पढिरहेको होइन कि नेपाल सरकारले वार्षिक रूपमा प्रस्तुत गर्दै आएको नीति तथा कार्यक्रम र केही वामपन्थी भनिएका पार्टीहरूको घोषणापत्रको सारसंग्रह पढिरहेको महसुस हुन्छ।

समाजवादी कार्यक्रमको ठोस रूप भनेर दावी गरिएको खण्डमा नेपालको भौतिक पूर्वाधार विकासका विभिन्न पक्षहरू र त्यसको बहुआयामिक अन्तरसम्बन्धलाई नजरअन्दाज गरिएको छ। यातायातको विकास खण्डमा प्रस्तुत गरिएका बुँदाहरू नै खारेजयोग्य प्रकृतिका छन्।

जलस्रोत र ऊर्जा खण्डमा ग्याँस, पेट्रोल, युरेनियम जस्ता प्राकृतिक स्रोतले स्थान पाएका छैनन् जबकि देशमा पेट्रोल र ग्याँसको उत्खनन् र अन्वेषण भइरहको छ र देशभित्र रहेको युरेनियममा विदेशी चासो रहेको विषय सार्वजनिक भइरहेको छ। नेपालको भौतिक पूर्वाधार विकासको ढाँचामा अलमल गरेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उद्घोष गर्दा कसैले पत्याउँदैन।

मस्यौदा दस्तावेजको संगठनात्मक प्रस्ताव अन्तर्गत एकातर्फ पार्टी नेतृत्वमा पुग्ने तेस्रो बाटोको कल्पना गरिएको छ भने अर्कोतिर विधानमा विभिन्न तगारोहरू खडा गर्दै पार्टीको संगठित सदस्यता प्राप्त गरेको करिब ३५ वर्षपछि मात्र पार्टीको मूल नेतृत्वमा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएको छ। प्रस्तावित विधान अनुसार २५ वर्ष पुगेको कुनै युवा संगठित सदस्यले सरासर हरेक माथिल्लो कमिटीमा स्थान बनाउँदै जाँदा पनि ६० वर्षको उमेरमा बल्ल पार्टी नेतृत्वमा प्रतिस्पर्धा गर्न पाउँछ।

महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय सदस्यको उम्मेदवार हुनको लागि कडा शर्त तोकिनु, एक कार्यकालको केन्द्रीय सदस्यलाई पार्टीको पदाधिकारीमा प्रतिस्पर्धा गर्न वञ्चित गराइनु जस्ता प्रावधानहरू ‘तेस्रो बाटो’को कल्पना विरुद्ध छ।

दस्तावेजमा स्पष्ट पारिए झैं माथिल्लो तहबाट हेर्दा नेपालमा पूँजीवादी जनवादी क्रन्ति सम्पन्न भएको र नेपाली समाजको प्रधान अन्तरविरोध दलाल पूँजीवादसँग रहेको व्याख्यामा सहमत हुन सकिन्छ। तर तल्लो तहमा हेर्दा अहिलेको नेपाली समाज अकल्पनीय निराशा र असन्तुष्टिले ग्रस्त भएको देखिन्छ। आजको मोबाइल चलाउने आम जनसमूहले इन्टरनेटमा भेटिने सूचना र अफवाहलाई मूल्यांकन नै नगरी दुई मिनेटको भिडियो वा तीन वाक्यको निष्कर्षको पछि लागेर निर्णय गर्छ। यो यथार्थलाई आत्मसात् गरेर नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई पढ्न र बुझ्न सजिलो हुने गरी, सिलासिलाबद्ध बनाएर, सबै पक्षको अन्तरसम्बन्ध प्रष्ट हुने गरी खँदिलो बनाई परिमार्जन गरिनुपर्दछ।

कोअर्डिनेशन केन्द्र स्थापित भएको २०३० को दशकमा जन्मिएको पुस्ता अहिले ५० वर्ष टेक्दैछ। त्यो र त्यसपछिको पुस्ताले नेपालमा पञ्चायत, बहुदल, युद्ध र आन्दोलन देखे/भोगेको छ। संविधानमा लेखिएको अधिकारको सूची र आफ्नो जीवनमा तालमेल नपाउँदा जुनसुकै बेला कम्पन ल्याउन सक्ने गरी समाजको ‘कोर’मा कुण्ठा र क्रोध मडारिएको छ।

हामीले सरकारमा रहँदा जनतालाई आलोचनात्मक चेत सृजना हुने पर्याप्त शिक्षा दिएनौं, सही र गलत छुट्याउने ज्ञान दिएनौं र त्यस प्रकारको प्रणालीलाई संस्थागत गरेनौं। त्यसैले समाजको चेतनास्तर र चिन्तनप्रणालीलाई मध्यनजर गर्दै दस्तावेजहरू परिमार्जन गर्नु, आगामी रणनीतिहरू तयार गर्नु र सोही अनुसारको संगठन संरचना र कार्यप्रणाली कार्यान्वयन गर्नु नै महाधिवेशनको सँघारमा रहेको वामपन्थी पार्टीको प्रस्थानविन्दु हो।

१०औं महाधिवेशनको सँघारमा रहेको एकीकृत समाजवादीसँग सैद्धान्तिक स्पष्टता, समाजवादी कार्यक्रम, नयाँ संगठन संरचना र कार्यप्रणाली सहित समाजवादी आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त छ। नेपालको आम निर्वाचन २०७९ मा सहभागी भएका दलहरूले पाएको मत र सिट संख्यालाई आधार मान्ने हो भने समाजमा केही नयाँ प्रकारको वस्तुगत तथा मनोगत परिस्थिति निर्माण हुँदै गएको आभास गर्न सकिन्छ।

कस्ता दल बलियो हुँदै गएका छन् ? कस्ता दल क्षयीकरणको प्रक्रियामा छन् ? कस्ता दलले राज्यसंरचनामै बदलाव ल्याउन सफल भए ? कस्ता दलहरूले कुन खालको शासकीय क्षमता प्रदर्शन गर्न सफल भएका छन् ? विभिन्न कालखण्डको आफ्नै सक्रियताको सिंहावलोकन गर्दै यस्ता प्रश्नहरूको उत्तर खोज्नु सान्दर्भिक हुन्छ।

संघर्षबाट स्थापित भएका र विभिन्न कालखण्डमा सत्तामा रहेका दलहरूको पक्षमा जनसमर्थन घटिरहेको यथार्थलाई आत्मसात् गर्दै आगामी बाटो तय गर्नु एकीकृत समाजवादीको महत्वपूर्ण वैचारिक, सांगठनिक र राजनीतिक कार्यभार हो।

जनताले बुझ्ने र महसुस गर्न सक्ने समाजवादी कार्यक्रम सहित आगामी दिनमा आफ्ना आन्तरिक समस्याहरूलाई हल गर्न सक्ने संगठन संरचना र कार्यप्रणाली अपनाएर मात्रै नेकपा (एकीकृत समाजवादी) लाई देशव्यापी विस्तार गर्न र लक्ष्यअनुरूप काम गर्न सक्ने बनाउन सकिन्छ। यसको लागि शक्तिशाली स्थानीय कमिटी बनाउने र जनसम्बन्ध बढाउन कार्य गर्नुपर्छ। प्रतिस्पर्धीबाट रचनात्मक सहयोग हुने संरचनात्मक व्यवस्था गर्ने, पारदर्शिता र आर्थिक अनुशासन निश्चित गर्नुपर्छ। आगामी दिनमा पार्टीमत सर्वेक्षण गर्ने, पार्टी सदस्यता नभएका सक्षम, योग्यहरूलाई राष्ट्रको लागि योगदान गर्ने अवसर दिनुपर्दछ।

विगतको अभ्यासको समीक्षा गर्दै राष्ट्रिय निर्वाचनमा उम्मेद्वारी छनोट मापदण्ड र दोहोरो कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था गर्नुपर्दछ। अब पार्टीले समाजवादी नमूना स्थानीय तह बनाउने तयारी थाल्नुपर्दछ। पार्टीका विभागहरूको पुनर्संरचना गरी विषय विज्ञतालाई प्रोत्साहन गर्ने प्रणाली बनाउनुपर्दछ।

पार्टीलाई जीवन्त बनाउन नेतृत्व विकासको नियन्त्रित र स्वचालित प्रक्रिया अपनाएर पार्टी संरचनामा सक्षम, योग्य र प्रतिस्पर्धी युवाहरूलाई अवसर दिने, अग्रजहरूको भूमिका कायम राख्ने निश्चितता गर्नुपर्छ। यसको साथसाथै सङ्गठन निर्माण अभियान सञ्चालनका लागि प्रतिनिधित्वको विषयगत क्षेत्र निर्धारण गरेर अगाडि बढ्नुपर्दछ। यस प्रकारका विषयहरू समेटेर प्रस्तावित मस्यौदा विधानमा संशोधन गरी महाधिवेशन मार्फत पारित गराइनुपर्दछ।

१०औं महाधिवेशनको सँघारमा रहेको एकीकृत समाजवादीले यसरी प्रस्थान गर्दा समाजका आधारभूत कर्ताहरूको यथार्थ विश्लेषण सहित वर्ग संघर्षको रूपलाई प्रष्ट गर्नु जरूरी छ। आगामी दिनमा उत्पादक उद्यमी (वस्तु), व्यापार उद्यमी (वस्तु तथा सेवा), निर्माण व्यवसायी, सामाजिक समूह तथा संस्थाहरू, अवकाशप्राप्त खेलाडी/खेलप्रशिक्षक/उद्यमीहरू, मजदुर र निजी क्षेत्रको रोजगारी, स्नातक/स्नातकोत्तर/विद्यावारिधि समूहका विद्यार्थी, विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थामा आवद्ध अध्यापकहरू, अवकाश प्राप्त राष्ट्रसेवक/योद्धा/शहीद परिवार, पूर्व जनप्रतिनिधि/पार्टी कमिटीका पूर्वपदाधिकारीहरू, विषयगत क्षेत्रको विज्ञ, विदेशमा कार्यरत नेपालीहरू जस्ता कर्ताहरूको पहिचान गरी पार्टीको आधारभूत कमिटी (वडा तह) ले आफ्नो अभिलेख व्यवस्थापन गर्नुपर्छ।

सो कर्ताहरूलाई नै वडा तहमा आधारभूत रूपले प्रतिनिधित्व गराउनुपर्छ। पार्टीले समाजको कर्ताहरू, उमेर र सामुदायिक जनघनत्वको विविधताको आधारमा आफ्नो संरचनामा आरक्षणको व्यवस्था गर्नु उपयुक्त हुन्छ। ठूला र धेरै कमिटीहरू बनाएर नेता–कार्यकर्तालाई बाँध्ने प्रयत्न गर्नुको साटो कमिटीहरूमा तत्कालै सूचनाको सञ्चार हुने र चलायमान हुने प्रकारको बनाउनुपर्छ। यसको लागि विभिन्न कमिटीको अधिवेशन प्रक्रिया, निर्वाचक मण्डल र प्रतिनिधि छनोटको विद्यमान व्यवस्थामा परिमार्जन गर्नु आवश्यक हुन्छ।

महाधिवेशनपश्चात् एकीकृत समाजवादीले तत्कालै समसामयिक राष्ट्रिय मुद्दा, वर्गीय उत्पीडन र जनसरोकारको विषयहरूमा जनपक्षीय सक्रियता निश्चित गर्ने गरी चेतनामूलक, प्रचारमूलक र परिणाममुखी गतिविधि गर्नुपर्छ। अहिले पनि नेपाली जनजीवनको आधारभूत सामाजिक मुद्दाहरू असरल्ल छन्।

जनता आफ्नो आवाज बोल्ने र र परिणाम दिने भरोसायोग्य राजनीतिक शक्तिको खोजीमा छन्। किसान, विद्यार्थी र शहरिया मध्यमवर्गले भाषण, मार्क्सवादी साहित्य र दस्तावेज मात्र हैन प्रमाण र परिणाम खोजेका छन् भन्ने विषय सम्पूर्ण पार्टी पंक्तिले मनन् गर्नुपर्छ।

पार्टीले आफ्नो पार्टीको तर्फबाट जनताको पक्षमा खेलिने भूमिकाहरूलाई सूत्रबद्ध बनाई प्रस्तुत गर्न सक्नुपर्दछ। आगामी दिनमा पार्टी प्रतिपक्षमा रहँदा, मन्त्री सहित गठबन्धन सरकारमा रहँदा, आफ्नै नेतृत्वको गठबन्धनमा रहँदा, एकल बहुमत र दुईतिहाइ बहुमतमा रहँदाको कार्यनीति र विभिन्न लक्ष्यहरूलाई विशिष्टीकृत गरेर व्याख्या गर्दै सोही अनुरूप व्यवहार गर्नुपर्दछ।

पार्टीले संगठन परिचालनको लागि प्रविधिको अधिकतम प्रयोग गर्ने प्रयत्न गर्दै आफ्नो संगठन संरचनालाई पनि सोही अनुरूप बदल्दै लैजानुर्छ। पार्टीको महाधिवेशन मार्फत र त्यसपछिका दिनमा संगठन परिचालनको लागि गर्नुपर्ने कार्यलाई निम्नानुसार सूत्रबद्ध गर्न सकिन्छ:

१. मस्यौदा दस्तावेजलाई पुनर्लेखन गरी संशोधन सहित पारित गर्ने तथा मूल दस्तावेज र पार्टीको विधानलाई १०० पेजमा समेटिने गरी सरल, छरितो र स्पष्ट बनाई प्रकाशन र प्रचार गर्ने।

२. मापनयोग्य तथ्यांकमा आधारित भएर समाजको चेतनास्तर र चिन्तनप्रणालीको यथार्थपरक विश्लेषण गरी आवश्यक रणनीति र कार्यनीतिहरू तयार गर्ने।

३. नयाँ/पुरानो मतदाताको अनुपातलाई विश्लेषण गरेर, संसारभर फैलिएको नेपाली समाजको मनोविज्ञान, हुर्कँदै गएको शहरिया मध्यमवर्ग, उत्तरआधुनिक जीवनशैली समेतलाई मध्यनजर गर्दै योजना बनाउने।

४. पार्टीले नयाँ संगठनात्मक संरचना र कार्यप्रणालीको अभ्यास गर्ने प्रत्याभूत गर्दै विधान संशोधन गर्ने र मातहतका कमिटीहरूको नयाँ विधान अनुसार पुनर्गठन र सम्मेलन गर्दै अधिवेशन आयोजना गर्ने।

५. समसामयिक राष्ट्रिय मुद्दा, वर्गीय उत्पीडन र जनसरोकारको विषयहरूमा जनपक्षीय सक्रियता निश्चित गर्ने, नेतृत्व गर्ने र सोही आधारमा जनसमुदायलाई पार्टीप्रति आकर्षित गर्ने, प्रचार सामग्री बनाई प्रसार गर्ने।

६. पार्टी सदस्यता प्राप्तिको फारम परिमार्जन गरी विषयगत क्षेत्रको प्रतिनिधित्व खुलाउने, अनलाइन माध्यमबाट समेत पार्टी सदस्यता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने।

७. पार्टीले प्रविधिको प्रयोग गर्ने गरी एप बनाउने, प्रशिक्षण सामग्री बनाउने र प्रशिक्षक प्रशिक्षण गर्दै जाने।

८. वडा कमिटिले सबै जनसंख्याको तथ्यांक संकलन गरी विषयगत क्षेत्रको आधारमा सूची बनाएर पार्टीले तोकेको विवरण सहित डिजिटल अभिलेख तयार गर्ने।

९. वडा कमिटीबाट प्राप्त सूचनाहरूलाई पार्टीको विज्ञान तथा प्रविधि विभागले प्रविधिको प्रयोग गरी एकीकृत र विशिष्टीकृत बनाएर विश्लेषण गर्दै पार्टीको कमिटी मार्फत विभागहरूलाई उपलब्ध गराउने।

१०. विभागहरूले तथ्यांकको आधारमा अनुसन्धानमूलक कार्य गर्दै पार्टीको जग बलियो बनाउन नीति र योजनाहरू प्रस्तुत गर्ने। भूगोल/विषयगत क्षेत्रको आधारमा विशेष प्रकारको नीति/प्रचार सामग्री तयार गर्ने।

११. आफूले जितेको स्थानीय तहमा समाजवादी मोडलका कार्य गर्न नेतृत्व गर्दै उदाहरण प्रस्तुत गर्ने, संसद्/सरकारमा जनपक्षीय भूमिका खेल्ने।

खड्गप्रसाद शर्मा ओलीको अधिनायकवादी आकांक्षा र दक्षिणपन्थी यात्रामा ब्रेक लगाउन तथा असंवैधानिक कदम रोक्नको लागि एमालेसँगको तत्कालीन सम्बन्धविच्छेद सही थियो भन्ने पुष्टि भइसकेको छ। तर अन्य मोर्चाहरूमा पूर्णतः असफल भएको बारेमा वस्तुनिष्ठ समीक्षा गर्दै अगाडि बढेमा आगामी दिनमा सैद्धान्तिक स्पष्टता, नयाँ संगठन संरचना र कार्यप्रणालीको आधारमा समाजवादी आन्दोलनको नेतृत्व गर्न सक्ने सम्भावना भएकोले नेकपा एकीकृत समाजवादीले १०औं महाधिवेशन मार्फत नेपाली समाजको प्रगतिशील रूपान्तरणको लागि ऐतिहासिक भूमिका खेल्नुपर्दछ।

लेखक नेकपा एकीकृत समाजवादीका महाधिवेशन प्रतिनिधि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?