+
+

प्रतिकूल मौसमका कारण बुद्ध एयरको जहाज भैरहवा अवतरण गर्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १४:१६

१२ असार, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज प्रतिकूल मौसमका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ ।

योजना आयोगका अनुसार जहाजमा आयोग टोली थियो । बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन ।

जहाज अवतरण गर्न नसकी काठमाडौं फर्किंदा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले उल्लेख गरेको छ ।

आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल जाँदै थियो । यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो ।

जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो ।

‘प्रतिकूल मौसमका कारण जहाज डाइभर्ट गर्नुपरेको हो,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने, ‘उक्त उडानलाई मध्याह्न १२ बजे पुनः भैरहवा अवतरण गराइसकिएको छ ।’

आजै प्रतिकूल मौसमका कारण यती एयरलाइन्सको जहाज समेत भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता भएको थियो ।

के भएको थियो जहाजमा, किन भयो रुवाबासी ?

जहाजमा सवार यात्रु योजना आयोगका सदस्य फुयाँलका अनसार आज सामान्य दिनको तुलनामा जहाज बढी नै हल्लिएको अनुभव भएको थियो । यसो हुनुमा बाहिर बाक्लो बादल थियो । सोहीकारण यात्रु सुरुबाटै डराएका थिए । जहाज भैरहवामा अवतरणको अन्तिम तयारीमा ओभरसुट गरिएको थियो । यतिसम्म कि जहाजका पांग्रा समेत खोलिसकेको अवस्थामा अत्यधिक वर्षातका कारण जहाज अवतरण गर्न नसकेको जानकारी गराइएको थियो । जब जहाज ओभरसुट भयो, त्यसपछि जहाजभित्र रुवाबासी चलेको थियो ।

‘जब जहाजले हाइट लियो, त्यसपछि मात्र काठमाडौं जान लागेको जानकारी दिइयो, उनले अनलाइनखबरसँग भने, ‘त्यसबेला कतिपय यात्रु निकै डराएका र रोइरहेको देखिन्थ्यो ।’

नियमित सूचना नआएको र जहाज कालो बादलभित्र निरन्तर उडिरहेका कारण महिला, बच्चाहरू धेरै डराएको उनले जानकारी दिए । जहाज सवा ९ बजे काठमाडौं अवतरण गरेको थियो । फर्किँदा समेत कालो बादल हुँदै आएका कारण यात्रु निरन्तर डराएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?